Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

महाकुम्भ

मोक्षको मार्ग कि पर्यटनको केन्द्र!

भारतको उत्तर प्रदेशमा यातायातका साथै होटललगायत विभिन्न क्षेत्रमा लाखौ व्यक्तिका लागि रोजगारी सिर्जना भएको छ । केहीले त केवल दत्तिवन बेचेर पाँच दिनमा चालीस हजार रकम कमाएको पाइएको छ ।
प्रभाषचन्द्र झा
२५ माघ २०८१, शुक्रवार

यत्र तत्र सर्वत्र प्रयागराजस्थित गङ्गानदीको तटमा आयोजित महाकुम्भको चर्चा छाएको छ । माघे सङ्क्रान्तिदेखि शुरू भई महाशिवरात्रिसम्म अर्थात पैतालीस दिन जारी रहने महाकुम्भमा भारत र नेपालका कतिपय हिन्दु श्रद्धालुका साथै पश्चिमी मुलुकका श्रद्धालु पनि ठूलो सङ्ख्यामा पुगेर गङ्गामा डुबुल्की लगाएका छन् । 

मकर सङ्क्रान्ति, मौंनी औंशी र श्रीपञ्चमीमा अखडाको शाही स्नान हुन्छ । अव, सोको नाम अमृत स्नान राखिएको छ । सो अवसरमा अखडाका साधु र नागाको समूहसहित निस्केको शोभायात्रा हेर्न हजारौं मानिसको घुइँचो लागेको हुन्छ । उक्त शोभायात्रामा साधुसन्त र नागाहरू आफ्ना त्रिशुल, तरवारलगायत हतियार चलाउने कलाको प्रदर्शन गर्दै नाच्दै त्रिवेणी सङ्ममा पुग्छन् ।

उनीहरूले धर्म रक्षाका लागि युद्ध गर्न तयार रहेको भनेर सन्देश दिन खोजिएको स्पष्ट हुन्छ ।  कुम्भको अवसरमा सवैभन्दा पहिलो स्नान अखडाकै हुन्छ ।  यस लेखको माध्यमबाट कुम्भ, महाकुम्भ, अखडा, महामण्डलेश्वरलगायत धार्मिक शाखाका महत्वका साथै साधुसन्त एवम् नागा बन्ने विषयमा संक्षिप्तमा जानकारी गराउन खोजिएको छ । 

कुम्भ र महाकुम्भ
सनातनीको कुम्भमेला सवैभन्दा पवित्र एवम् प्राचीन परम्परामध्ये पर्दछ । यो मेलाको आयोजना पौंराणिक, धार्मिक र खगोलीय ग्रह गोचरको आधारमा हुन्छ । आकाशमार्गमा नौवटै ग्रह हरेक क्षण आफ्नो गतिअनुसार एक राशिबाट अर्को राशिमा भ्रमण गरिरहन्छन् । जसलाई ज्योतिषमा राशि परिवर्तन भनिन्छ । जव बृहस्पति आफ्नो भ्रमणको चक्र पूरा गरी बाह्र बर्षमा विशेष राशिमा प्रवेश गर्छ । त्यो वेलामा बृहस्पति वृष राशिमा,  सूर्य मकर राशिमा र औंशीमा मकर राशिमा चन्द्रमाको सूर्यसँग मिलन हुन्छ ।

प्रत्येक बाह्र बर्षमा बृहस्पति वृष राशिमा प्रवेश गर्छ । सो तिथिमा कुम्भको आयोजना हुन्छ । यो प्रक्रिया १२ पटक पुगेपछि १४४ वर्षमा महाकमुम्भको संयोग बन्छ ।  प्रयागराजमा गङ्गा, यमुना र अदृश्य सरस्वती नदीको सङ्गम हुन्छ । त्यसलाई त्रिवेणी सङ्गम भन्ने गरिन्छ ।  कुम्भको अवसरमा सो स्थलमा नुहाएपछि पापको नाश, आत्मशुद्धि र मोक्ष प्राप्ति हुने धार्मिक मान्यता छ ।  कुम्भ साधुसन्त, आचार्य र श्रद्धालुहरूको मिलन केन्द्र हो । नयाँ साधु र नागाहरूलाई कुम्भकै अवसरमा दीक्षा प्रदान गरिन्छ ।  

कुम्भमेलाको सम्बन्ध क्षीरसागर अर्थात् समुद्रको मन्थनसँग जोडिएको छ । धार्मिकग्रन्थको आधारमा देउता र असुरहरू मिलेर समुद्र मन्थन गर्दा अमृत कलशसहित भगवान धनवन्तरी अवतरित भएका थिए । असुरलाई सो अमृत नदिने मनसाय राखेर इन्द्रका छोरा जयन्त अमृत कलश लिएर भागेका थिए । भाग्ने क्रममा सो कलशबाट अमृतका केही थोपा प्रयागराजस्थित गङ्गामा, हरिद्वारको ब्रह्मकुण्डमा, उज्जैनको शिप्रा नदीमा र नासिकको गोदावरी नदीमा झरेको  थियो ।

विशेष तिथिमा बृहस्पति, सूर्य र चन्द्रमाको आकाशमा सामिप्य हुन्छ । त्यो बेलामा गङ्गाको सो क्षेत्रमा विशेष उर्जा जागृत हुन्छ र कुम्भको संयोग बन्छ । तसर्थ सो उर्जा आपूmमा समाहित गराउन श्रद्धालुहरू गङ्गानदीमा नुहाउने गर्छन् ।

अखडा के हो ? 
साधुसन्तको सङ्गठनको रूपमा रहेका अखडा (अखाडा) को मुख्य उद्देश्य सनातन धर्मको रक्षा र आध्यात्मिक परम्पराको निर्वाह गर्नु हो । अखडा शब्दलाई दुई किसिमले अर्थायाउन सकिन्छ । पहिलो व्यायामशाला, जहाँ कुस्ती सिकाइन्छ । अर्को, अखडा साधुहरूको त्यो दल हो, जसले शास्त्रविद्यासँगै शस्त्रविद्यामा निपुण हुन युवा साधुलाई कुस्ती, व्यायाम र योगका साथै त्रिशुल, तरवारलगायत हतियार चलाउने प्रशिक्षण दिइन्छ । 

भारतमा  चौंधवटा अखडा छन् । ती सवै अखडा मिलाएर एक जना अध्यक्षको लागि चुनाव हुन्छ । त्यो चुनाव जटिल प्रक्रियाको अधीनमा हुन्छ । अखडालाई मुख्य तीन भागमा विभाजित गरिएको छ । सो मध्ये शैव सम्प्रदायको सात, किन्नर (तेस्रो लिङ्गी) को तीन र उदासिनको चार अखडा पर्छ । अखडा गुरु शिष्यको परम्परामा आधारित हुन्छ । प्रत्येक अखाडामा आचार्य (गुरु) हुन्छन् । उनको नेतृत्वमा शिष्यलाई तप, साधना र योगको प्रशिक्षण दिइन्छ । अखडाका साधुसन्तलाई सांसारिक जीवन त्याग गरी आध्यात्मिक साधनमा लीन हुनुपर्छ । यिनीहरू तपस्वी, योगी र सन्यासी हुन् । 

नागा साधु : नागा साधु हिमालयमा बस्दा पनि निवस्त्र नै रहन्छन् र शरीरमा भष्म दलेका हुन्छन् । नागासाधुको परम्पराको शुभारम्भ आदिगुरू शङ्कराचार्यले पच्चीस सय वर्षपूर्व सनातनधर्मको रक्षाका लागि शास्त्रसँगै शस्त्रको पनि आवश्यकता सम्झेर चार मठका साथै अखडाहरू निर्माण गरेका थिए । नागासाधु तीन प्रकारको हुन्छन् । मातापिताबाट भिक्षा लिएपछि नागा बन्ने प्रक्रियाको शुभारम्भ हुन्छ ।

सवै जटिल प्रक्रियामा सफल भएपछि अन्तिममा मातापिता र सम्पूर्ण नातेदारसहित आफ्नाे पनि पिण्डदान गर्नुपर्छ । आफ्नाे पिण्डदान गर्नुको अर्थ, एक किसिमले आफूलाई मृत घोषित गरी अव, उप्रान्त सनातन धर्मको रक्षाका लागि आफूलाई उत्सर्ग गरेको रूपमा बुझ्नुपर्दछ । यसका साथै दण्डी संस्कार हुन्छ ।  कामुकताको  समूल नष्ट गर्न लिङ्गको सम्भोग नशा पनि भाँचिन्छ (चुडाइन्छ ।) नागाहरूले कठोर अनुशासनको पालना गर्छन् । यिनीहरू प्रायः एकान्तमा बस्न रूचाउँछन् । यसलाई शिव सेना पनि भनिएको हो

नागाको धर्मयुद्ध 
हिन्दु मन्दिरको रक्षा गर्न नागाहरूले भारतमा अनेकौं पटक मुश्लिम शासक र विदेशी आक्रमणकारीसँग युद्ध लडेका छन् । मुगल शासक अकबरका सेनाहरूले साधुसन्तमाथि आक्रमण गर्ने, मन्दिर भत्काउने र हिन्दुमाथि अत्याचार नरोकेपछि  बङ्गालका आचार्य मधुसुदन सरस्वतीको नेतृत्वमा नागाहरूले अकबरको सेनामाथि आक्रमण गरेर धेरै ठूलो क्षति पुर्याएका थिए । त्यसपछि आतङ्क बन्द भएको इतिहास छ ।

सन् १६६४ मा मुगल शासक औंरङ्गवेजले काशीमा विश्वनाथ मन्दिरमाथि आक्रमण गरी तोड्न आदेश दिएका थिए । तर, नागा साधुहरूका कारण औरङ्गवेजको सेनालाई पछाडि हट्न बाध्य पार्यो । त्यसपछि, १६६९मा पुनः औंरङ्गवेजको विशाल सेना सो मन्दिर ध्वस्त गर्न पुग्यो । त्यो बेला नागा साधुसँग भीषण युद्ध भयो । नागासँग त्रिशुल र तरवारबाहेक अन्य हतियार थिएन । तापनि अन्तिम समयसँग लड्दै रहे । त्यो युद्धमा ४० हजार नागा साधु मारिएका थिए । दिनभरको युद्धमा मुगल सेनाको धेरै क्षति भएपछि बेलुकाको समयमा युद्ध क्षेत्रबाट उनीहरू पलायन भएका थिए । तर, मन्दिरलाई पूर्ण रुपमा बचाउन सकिएन । 

भारतीय इतिहासकार, यदुनाथ सरकारले आफ्नो पुस्तक ‘ए हिस्ट्री अफ दसनामी नागा सन्यासी’ मा ती घटनाहरू उल्लेख गर्दै सन् १७५१ प्रयागराजमा आयोजित कुम्भ मेलामा उपस्थित नागासाधुहरूले अवधको सो क्षेत्रमा अफगानी मुसलमानहरूले उत्पात मच्चाइरहेको थाहा पाए । सो पश्चात् महन्थ राजेन्द्रनाथ गिरीको नेतृत्वमा ती अफगानीमाथि आक्रमण गरी धपाएका थिए । सो घटनापछि अफगानी लुटेरा अहमद शाह अब्दालीले नागा साधुसँग प्रतिशोध साध्न सन् १७५६मा मथुरामा आक्रमण गरे । त्यो बेलामा मात्र चार हजार नागा साधुका एक जत्थाले पचास हजारको सङ्ख्यामा रहेका अफगानी लडाकुलाई युद्ध क्षेत्रबाट भाग्न विवश पार्यो । सो युद्धमा आठ हजार अफगानी मारिएका थिए । 

त्यसपछि सन् १७६१ मा अफगानी र मराठीबीच पानीपतमा युद्ध भयो । सो युद्धको अन्तिम समयमा मराठीहरू पराजित अवस्थामा पुग्न थालेका थिए । अकस्मात, महन्थ पुष्पेन्द्र गिरीको नेतृत्व १० हजार नागाहरू युद्धमा सहभागी भएपछि अफगानी लडाकुले पछाडि हट्न बाध्य हुनु परेको थियो । यसबाहेक, अनेकौंपटक धर्म रक्षाका लागि उनीहरूले बलिदान दिएका छन् ।

नागा साधु र अघोरीमा फरक 
नागासाधु र अघोरी दुवै अराध्यदेव महादेवको भक्त हुन् । तर, दुवैको जीवन र साधनामा धेरै फरक हुन्छ । नागासाधु वैदिक परम्पराको अनुयायी हुन् । जवकि अघोरी तान्त्रिक परम्परासँग सम्बन्ध राख्छ । नागासाधुले शिवको वैरागी स्वरूपको र अघोरीले शिवको भैरव स्वरूपको पूजा गर्छन् । नागासाधु शाकाहारी हुन्छ, जवकि अघोरी सवै किसिमका भोजन गर्छन् । नागासाधु नाङ्गो रहन्छन् र अघोरीले कालोवस्त्र धारण गर्छन् । 

नागासाधु योग र ध्यान गर्छन् भने अघोरी तन्त्र, मन्त्र र अँध्यारो शक्तिसँग जोडिएका हुन्छन् । नागासाधु हिमालय, जङ्गल र धार्मिक मेलामा रहन्छन् भने अघोरीले श्मशान घाटलाई नै आफ्नो वासस्थल बनाउँछन् । नागा साधु बन्नका लागि अखडामा दीक्षा लिनुपर्छ भने अघोरी हुन श्मशानघाटमै बसेर सिद्धि प्राप्त गर्छन् ।  नागा र अघोरी दुवैले कठोर तपस्या गर्छन् र मोक्षलाई आफ्ना अन्तिम लक्ष्य मान्ने गर्छन् । महिला नागा साधुले भगवा वस्त्र धारण गर्छन् ।

महामण्डलेश्वर
धार्मिक ज्ञान, तपस्या, नेतृत्व क्षमता र समाज सेवामा उत्कृष्ट भूमिका निर्वाह गर्ने कार्यमा महामण्डलेश्वरले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो सनातन धर्मको विशेष उपाधि हो । शङ्कराचार्यपछि महामण्डलेश्वर पद सवैभन्दा उच्च मानिन्छ । यो उपाधि अखडा प्रणालीमा उच्चतम स्तरका सन्तलाई प्रदान गरिन्छ । भारतमा १४ अखडा छन् । सोभित्र महामण्डलेश्वर उपाधि प्रदान गरिन्छ ।

हिन्दुधर्ममा विशेष स्थान पाएका महामण्डलेश्वरको दीक्षा दिएपछि उनीसँग पुरानो नाम र पहिचानको त्याग गर्नुपर्छ । महामण्डलेश्वर बन्ने प्रक्रिया प्रत्येक अखडाको आफ्नै नियम हुन्छ । महामण्डलेश्वर बन्न पाँच प्रकारका परीक्षण हुन्छ । आफ्नो नाम, ठेगाना, शैक्षिक योग्यता, नातेदारको जानकारी र रोजगारको विषयमा जानकारी गराउनुपर्छ । सवै किसिमका जाँचपछि योग्यताको आधारमा अखाडाको विभिन्न पद दिने गरिन्छ । महामण्डलेश्वर बनेपछि चाँदीको सिंहासनमा बस्ने अधिकार प्राप्त गर्छन् । त्यसपछि उनको छत्र र चवँरको साथ सवारी निकालिन्छ ।

एकताका भारतीय चलचित्रकी प्रसिद्ध नायिका रहेकी ममता कुलकर्णीले किन्नर अखडाको महामण्डलेश्वरको उपाधि पाएकी छन् । ५३ वर्षीया ममतालाई किन्नरका आचार्य महामण्डलेश्वरले लक्ष्मीनारायण त्रिपाठीले पट्टाभिषेक गरेपछि अव ममताले नयाँ नाम यमाई माता नन्द गिरी पाएकी छन् । उनी महामण्डलेश्वर बनेपछि कतिपयले आपत्ति पनि प्रकट गरेका छन् । उनले सन् २००२ मा पूर्ण रुपमा चलचित्र क्षेत्र छाडेको र सन् २०१३ पछि पूर्ण रुपमा आध्यात्मिक जीवन रोजेको पाइन्छ ।

कुम्भमा व्यापार
धार्मिक आस्था आफ्नो ठाउँमा छ । तर, भारतको उत्तर प्रदेशमा यातायातका साथै होटललगायत विभिन्न क्षेत्रमा लाखौं व्यक्तिका लागि रोजगारी सिर्जना भएको छ । केहीले त केवल दत्तीवन बेचेर पाँच दिनमा चालीस हजार रकम कमाएको पाइएको छ । भारत सरकारले मेला व्यवस्थापनमा  ७० अर्ब  (एक खर्ब बाह्र अर्ब नेपाली रुपैयाँ) बराबर खर्च गरिसकेको जनाएको छ । 

अर्कोतर्फ, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले कुम्भमेलाका कारण कम्तिमा २० खर्ब राजस्व सङ्कलन हुने अनुमान गरेका छन् । सामान्य रूपमा उत्तर प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा दुई अङ्कले बृद्धि हुने प्रक्षेपण गरिएको छ । महाकुम्भमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिव दस लाख मानिसले रोजगारी पाएका छन् ।  अर्कोतर्फ, नेपालमा सयौं प्रमुख तीर्थस्थलहरू छन् । पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिरका साथै पहाडमा अवस्थित प्रसिद्ध मन्दिरमा धार्मिक पर्यटकलाई आकर्षित गर्नका लागि सुगम यातायातको सुविधा चाहिन्छ ।

व्यापक रूपमा प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई तान्नका लागि गुरुयोजना बनाउनुपर्छ । तर, सत्ताकै लागि मरिमेट्ने नेतृत्वकर्ताहरूले मुलुकको लागि कहिले सोच्ने हुन् ? भारतीय पर्यटकसँग प्रहरीका साथै स्थानीयको पनि मित्रवत् व्यवहार आवश्यक छ । राम्रो सत्कार गर्याे भने उनीहरू नै आफ्ना गाउँघरमा व्यक्तिलाई नेपाल जानका लागि अभिप्रेरित गर्नेछन् । भारतबाट मात्रै दुई प्रतिशत  अर्थात डेढ करोड व्यक्ति धार्मिक एवम ्पर्यटकीय क्षेत्रको अवलोकनका लागि नेपाल आए भने सरकारको राजस्वमा बृद्धिका साथै स्थानीयको व्यापार फस्टाउने थियो ।

विगत केही बर्षदेखि विस्तारै महाशिवरात्रिमा पनि भारतीय तीर्थयात्री र साधुहरूका उपस्थिति तुलनात्मक रूपमा घट्दै गइरहेको अवस्था छ । यो चिन्ताको विषय हो । जे भए पनि, सुनसरीको चतरामा गत बर्ष आयोजित कुम्भ मेलाले भारतीयहरूलाई तान्न सफल भएको थियो । यस्ता, धार्मिक आयोजनातर्फ केन्द्रित हुनुपर्छ । 

View : 308

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved