Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

देशैभरी बज्यो रास्वपाको घण्टी, स्पष्ट दुईतिहाईतर्फ अग्रसर

उद्‌घोष संवाददाता
२३ फागुन २०८२, शनिवार

विराटनगर । पुराना र स्थापित राजनीतिक दलहरूलाई निर्वाचनमा ठूलो धक्का दिंदै राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली दलका रूपमा उदाउने निश्चित भएको छ । 

बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको शुक्रबार बिहानदेखि देशैभरी मतगणना सुरू भएको छ । केही क्षेत्रमा विजेता घोषित भइसकेका छन् । 

पहिलो दिनको मतगणनाको रूझानले रास्वपालाई प्रष्ट दुईतिहाईतिर अग्रसर भएको संकेत देखिएको छ ।

रास्वपाले शनिबार विहान १० बजेसम्म २७ स्थानमा जित हासिल गरिसकेको छ भने ९० स्थानमा अग्रता कायम गर्न सफल देखिएको छ । 

४ स्थानमा जित हात पारेको कांग्रेस जम्मा १० स्थानमा र १ स्थानमा जितेको एमाले १० स्थानमा मात्रै अगाडि छ । त्यस्तै दुई स्थानमा जित हात पारेको नेकपा ११ स्थानमा अग्रता बनाउन सफल छ । 

त्यसो त अहिलेसम्म थोरै मात्रै मतगणना भइरहेकाले अग्रताको संख्या जुनसुकै बेला तलमाथि हुनसक्ने सम्भावना कायम छ । यद्यपि रास्वपाका पक्षमा भने देशैभरी जनलहरको उभार आएको देखिएको छ ।

शुक्रबार रातिसम्मको मत परिणामले रास्वपा अप्रत्याशित रूपमा अघि देखिएको छ । 

प्रत्यक्षतर्फ धेरै क्षेत्रमा अग्रता लिएको रास्वपाले समानुपातिक मतमा पनि उल्लेखनीय समर्थन पाएको प्रारम्भिक संकेतहरू देखिएका छन् । 

यही कारण कतिपय विश्लेषकहरूले यसपटक रास्वपाले सहज दुईतिहाई प्राप्त गर्न सक्ने आकलन गर्न थालेका छन् ।

यस चुनावी परिणामलाई धेरैले २२ र २३ भदौमा भएको जेनजी आन्दोलनसँग जोडेर पनि विश्लेषण गरिरहेका छन् । 

आन्दोलनका क्रममा भएका घटनाबारे राजनीतिक दल र समाजमा फरक–फरक दृष्टिकोण देखिएका थिए । 

त्यसबेला सत्ता नेतृत्व गरिरहेको एमालेले २४ भदौमा भएको आगजनी र तोडफोडलाई मुख्य चुनावी मुद्दाका रूपमा उठाएको थियो भने आन्दोलनसँग निकट देखिएको रास्वपाले २३ भदौमा राज्यले प्रयोग गरेको बल प्रयोगलाई आलोचना गरेको थियो । 

ती घटनाबारे जनमत स्पष्ट रूपमा विभाजित देखिएको थियो । तर अहिलेको चुनावी परिणामले आन्दोलनले उठाएका मुद्दा र भावनाप्रति मतदाताको झुकाव कता छ भन्ने संकेत गरेको विश्लेषण हुन थालेको छ । 

यसपटकको निर्वाचनलाई विगतका चुनावभन्दा फरक बनाउने अर्को पक्ष भनेको नयाँ राजनीतिक शक्ति र पुराना दलबीचको प्रतिस्पर्धा हो । 

यसअघिका चुनावहरूमा गठबन्धन राजनीति प्रमुख विषय बनेको थियो । तर अहिलेको चुनावमा धेरै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । 

निकट विगतमा प्रतिनिधिसभाको पहिलो दल कांग्रेस र दोस्रो दल एमालेले संयुक्त सरकार गठन गरेका थिए । 

प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाएको त्यो अभ्यासले संसदीय व्यवस्थाप्रति नै प्रश्न उठाएको भन्दै आलोचना पनि भएको थियो । त्यसबाट असन्तुष्ट मतदाताले यस पटक विकल्प खोजेको सन्देश मतगणनाले दिएको छ । 

त्यसो त नेपालको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलले स्पष्ट बहुमत ल्याउन कठिन हुने धारणा लामो समयदेखि कायम थियो । 

२०७४ र २०७९ सालका आमनिर्वाचनले पनि यही प्रवृत्ति देखाएका थिए । तर अहिलेको मत परिणामले भने यो धारणालाई धक्का दिएको छ । 

यस चुनावमा रास्वपाले मधेसी पृष्ठभूमिका व्यक्तिलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको विषयले मधेशमा लहर देखिएको छ । त्यसपछि मधेसकेन्द्रित दलहरू सुरूदेखि नै दबाबमा परेका थिए । 

लामो समयदेखि आन्तरिक विभाजन, सत्ता स्वार्थ र क्षेत्रीय राजनीतिमा अल्झिएका ती दलहरूको विश्वसनीयता कमजोर भएको प्रमाण निर्वाचनले दिएको छ । 

जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र पनि नेतृत्व र संगठन सुधारको बहस चर्किएको थियो । 

विशेष महाधिवेशनमार्फत गगनकुमार थापाले पार्टीभित्र परिवर्तनको प्रस्ताव अघि सारेका थिए । तर यसबीच रास्वपाले भने आफ्नो संरचना र नेतृत्व विस्तारमा थप सक्रियता देखाएको थियो ।

सभापति रवि लामिछानेको विवादास्पद छविका कारण पार्टीलाई थप विश्वासयोग्य बनाउन रास्वपाले केही नयाँ अनुहारलाई अगाडि ल्याएको थियो, जुन चुनावका लापगि कारगर सिद्ध भयो ।

जेनजी आन्दोलनका अगुवा सुधन गुरूङदेखि काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह बालेनसम्म विभिन्न व्यक्तिहरूलाई पार्टीमा जोडिएपछि रास्वपामा आकर्षण ह्वात्तै बढेको छ ।

विशेषगरी बालेन्द्र शाहलाई सम्भावित प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको निर्णयले चुनावी माहोलमा ठूलो प्रभाव पारेको देखिएको छ । 

काठमाडौंं महानगरपालिकाको मेयरका रूपमा उनले बनाएको अलग छवि र युवा पुस्तामाझ लोकप्रियताले पनि रास्वपालाई फाइदा पुगेको देखिएको छ । 

चुनावी रणनीतिमा पनि बालेनले फरक शैली अपनाए । धेरै शीर्ष नेताहरू सुरक्षित निर्वाचन क्षेत्र खोजिरहेका बेला उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा–५ बाट चुनाव लड्ने निर्णय गरे । 

यसलाई सुरूमा जोखिमपूर्ण कदम मानिए पनि त्यसले चुनावी बहसलाई राष्ट्रिय स्तरमा तान्यो ।

चुनावी अभियानका क्रममा उनले लामो भाषणभन्दा मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिए । 

विभिन्न क्षेत्रमा स्थानीय शैलीमा प्रस्तुत हुने प्रयासले पनि मतदातासँग नजिकिने वातावरण बनाएको विश्लेषकहरूको भनाइ छ । जनकपुरधामको तिरहुतियागाछीमा मधेसी लवजमा गरिएको उनको भाषणले स्थानीय मतदातामा विशेष प्रभाव पारेको देखिएको छ । 

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका अनुसार देशभर देखिएको बालेनप्रतिको आकर्षणले रास्वपाको मत बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । 

‘पुराना दलहरूको कार्यशैलीप्रति चरम असन्तुष्टि नै अहिलेको चुनावी परिणामको मुख्य कारण हो,’ उनले भने ‘पुराना दलहरूले पाएको अवसर उपयोग नगर्दाको परिणाम पनि हो यो ।’

यस पटकको चुनावले वामपन्थी दलहरूको प्रभाव पनि कमजोर हुँदै गएको देखाएको छ । 

एमाले र नेकपाले प्रत्यक्षतर्फ अपेक्षाअनुसार परिणाम ल्याउन नसकेको देखिन्छ । लामो समयदेखि प्रभाव जमाएका केही क्षेत्रमा समेत मतदाताको धारणा बदलिएको संकेत मिलेको छ । 

राजावादी धारका दलहरूको प्रभाव पनि यस चुनावमा खुम्चिएको देखिन्छ । निर्वाचन आयोगमा दर्ता भएका धेरै दलहरूले उल्लेखनीय मत पाउन सकेका छैनन् । 

केही नयाँ दलहरूले राष्ट्रिय दल बन्न आवश्यक पर्ने तीन प्रतिशत मतको सीमा पार गर्ने सम्भावना पनि कम देखिएको छ ।

View : 43

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved