विराटनगर । बैंक तथा वित्तीय संस्थाहरूले लिने गरेको चर्को ब्याजदरविरुद्धको आन्दोलन गरिसकेका उद्योगी व्यवसायीहरूले बीमा कम्पनीले थोपर्ने अत्यधिक बीमा दरको विरोधमा आवाज उठाएका छन् ।
बिहीबार मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरूसहितको टोलीले बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयसहितका नियमनकारी निकायमा पुगेर नेपालको उद्योग व्यवसाय क्षेत्रमा लागू हुने गरेको अत्यधिक बीमा शुल्क दर तथा अन्यायपूर्ण नीतिहरू सुधारको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
उद्योगीहरूले बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख विनोदकुमार पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा भारतलगायत अन्य मुलुकको तुलनामा नेपालको बीमा दर ५० देखि २०० प्रतिशतसम्म उच्च रहेको, अनावश्यक रुपमा सवै जोखिमहरु अनिवार्य समावेश गर्न बाध्य बनाएको, जोखिमको वर्गीकरण वैज्ञानिक रुपमा नगरिएको, बीमा शुल्क गणना गर्ने कार्यविधि प्रष्ट नरहेको, बीमाकर्ता स्वयंले बीमा शुल्क गणना गर्न सक्ने व्यवस्था नरहेको, बीमा गराउँदाको कमिशन दर न्यून रहेको भन्दै त्यसको सुधारका लागि माग गरिएको छ ।
बीमाको अबैज्ञानिक नीतिका कारण नेपाली उद्योगको उत्पादन र उपभोग्य वस्तुहरुको लागत मूल्यमा बृद्धि हुन पुगी उपभोक्तादेखि अर्थतन्त्रमा अनपेक्षित भार थपिएको उद्योगीहरूले बताए ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले औद्योगिक कच्चा पदार्थमा परनिर्भर रहेको नेपालको ह्रासोन्मूख आर्थिक गतिविधिहरूलाई बीमासम्बन्धि अव्यवहारिक नीतिगत व्यवस्थाले थप संकटतर्फ लगेको दाबी गरे ।
उनले बीमाको प्रिमियम दर भारत तथा अन्य मुलुकको भन्दा न्यून वा समान गरिनु पर्ने माग राखे । साथै अपेक्षित जोखिमपूर्ण अवस्थाहरूको मात्रै ऐच्छिक रुपले बीमा गर्न पाउने गरीको नीति आवश्यक रहेको राठीले बताए ।
अध्यक्ष राठीको नेतृत्वमा रहेको संघको टोलीमा निर्वतमान् अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह लगायतको सहभागीता थियो ।
View : 330
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved