विराटनगर । नेपालको लघुवित्त क्षेत्रमा हालसम्मकै ठूलो र महत्वपूर्ण मर्जर प्रक्रिया सुरु भएको छ ।
मोरङको कटहरीमा मुख्य कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको कोहलपुरस्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको बनेपास्थित मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकीकृत हुने सहमति भएको हो ।
तीनवटै संस्थाबीच भएको समझदारी पत्रमा जीवन विकासका अध्यक्ष विक्रमराज सुवेदी, युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरी र मानुषी लघुवित्तकी सञ्चालक वीणा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यो सहमति नेपालको लघुवित्त इतिहासमै ‘बिग मर्जर’ का रूपमा लिइएको छ, जसले समग्र वित्तीय क्षेत्रमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ ।
मर्जरपछि संस्थाको नाम जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड नै कायम रहनेछ भने केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मा रहनेछ ।
युनिक नेपाल र मानुषीका केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयका रूपमा रूपान्तरण गरिने सहमति गरिएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलका अनुसार मर्जरको मुख्य उद्देश्य पुँजीगत आधार सुदृढ बनाउँदै प्रविधिमैत्री सेवा विस्तार गर्नु, वित्तीय पहुँच बढाउनु र सर्वसाधारणको विश्वास अभिवृद्धि गर्नु हो ।
एकीकृत भएपछि संस्था अझ बलियो, प्रभावकारी र प्रतिस्पर्धी बन्नेछ, उनले भने ।
हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार रुपैयाँ छ भने युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ । मर्जरपछि समग्र पुँजी संरचना अझ मजबुत हुने अपेक्षा गरिएको छ ।
सेवा विस्तारको दृष्टिले जीवन विकासले १६० शाखामार्फत कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा ३ लाख १५ हजारभन्दा बढी सदस्यलाई सेवा दिंदै आएको छ ।
युनिक नेपालले १० जिल्लामा ८० हजारभन्दा बढी र मानुषीले १४ जिल्लामा ३४ हजार ७ सयभन्दा बढी सेवाग्राहीलाई वित्तीय पहुँच प्रदान गर्दै आएका छन् ।
एकीकृत भएपछि सेवाको दायरा अझ फराकिलो हुने विश्वास गरिएको छ ।
मर्जर प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढाउन ६ सदस्यीय संयुक्त मर्जर समिति गठन गरिएको छ ।
समितिको संयोजकमा प्रकाशकुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यहरूमा अशोक सिटौला, पुरनप्रसाद चौधरी, सन्तराम थारू, नवीना धाख्वा शाक्य र ताराकुमार रिजाल छन् । समितिको सदस्य सचिवमा दामोदर रेग्मी नियुक्त भएका छन् ।
तीनवटै संस्थाबीच कर्मचारी समायोजन गर्ने सहमति समेत भएको छ ।
संस्थाले २०८३ साल असार मसान्तभित्र मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिएको जनाएको छ ।
View : 117
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved