Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

एक महिना बान्तावा भाषा सिकाइने

उद्‌घोष संवाददाता
१२ वैशाख २०८३, शनिवार

विराटनगर । राई बान्तवा भाषाको एक महिने प्रशिक्षण र राई समुदायको स्मारिका प्रकाशनको लागि एक समारोहको आयोजना गरी कार्यक्रमको उद्घाटन गरिएको छ । 

किरात राई यायोक्खा (किराया) महानगरसमिति विराटनगरले बान्तवा भाषा सिकाउन र विराटनगर महानगरपालिकाभित्रका राई समुदायको तथ्यांक संकलन गरी स्मारिका प्रकाशन गर्ने कार्यको शनिबार सो कार्यक्रमको उद्घाटन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर– ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले बोलीचाली र चलनचल्तीमा आ–आफ्ना भाषा, संस्कार, संस्कृतिलाई व्यवहारिक नबनाइए इतिहासको अभिलेख मात्र थपिंदै जाने उल्लेख गरे । 

राई समुदायको ३२ वटा भाषामध्ये घटेर २६ वटामा आइपुगेको जानकारी सुनेर न्यौपानेले अबका दिनमा त्यसरी भाषा घट्न नदिन के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ त्यसमा सबैले ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी किरायाकी केन्द्रीय महासचिव रिता राराहाङले सबै अभिभावकले आ–आफ्ना नानीहरुलाई अनिवार्य रुपमा हाम्रा संसकार संस्कृति सिकाउन कमजोरी नगर्न आग्रह गरिन् । 

यदि त्यसो नगर्ने हो भने हामीले जस्तोसुकै प्रशिक्षण कार्यक्रम सञ्चालन गरे पनि भाषा सिकाउन कठिन हुने धारणा ब्यक्त गरिन् ।

त्यस्तै किरायाका संस्थापक मेजर मानबहादुर राईले धरतीमा सबैको आ–आफ्नो भाषा हुन्छ । यदि त्यसलाई बचाउन सकिएन भने अस्तित्व मेटिंदै जाने चेतावनी दिए ।

बान्तवाकी उपाध्यक्ष हाङ्को युमा, किरातेश्वर माङ्खिमका अध्यक्ष धर्मराज लिम्बू, किरायाका केन्द्रीय सदस्य नारायण याक्सो, जातीय संस्थाका पदाधिकारी लगायतले शुभकामना दिएका थिए ।

किरायाकी अध्यक्ष विष्णुकुमारी राईले बान्तवा भाषा सिक्नका लागि ३५ जनाले रुचि देखाएको र सिकाउनका लागि दुई जना प्रशिक्षक तयारी गरिएको बताइन् । 

भाषा सिक्ने एक महिनाको समयावधि रहेको र बिहान १० बजेदेखि ३ बजेसम्म कक्षा सञ्चालन गरिने जानकारी गराइन् । 

सोही अवधिमा राई समुदायको स्मारिका प्रकाशन गर्ने गरी त्यसको जिम्मेवारी दिइसकेको जानकरी गराइन् ।

View : 113

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved