रंगेली, मोरङ । रंगेली नगरपालिका वडा नं. ४ आमतोला स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित सप्ताहव्यापी योग शिविर भव्यताका साथ शनिबार सम्पन्न भएको छ।
स्थानीय समुदायमा स्वास्थ्य र सकारात्मक जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त शिविरको समापन समारोहमा जनप्रतिनिधि तथा योग अभियन्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै रंगेली नगरपालिकाकी कार्यवाहक मेयर भुमाकुमारी पराजुलीले मानव जीवनमा योगको अपरिहार्यतामाथि जोड दिइन्।
उनले योगलाई केवल केही दिनको अभ्यासमा मात्र सीमित नराखी जीवनको अभिन्न हिस्साका रूपमा निरन्तरता दिनुपर्ने बताइन। साथै, रंगेली नगरपालिकालाई पूर्ण रूपमा 'योगमय' बनाउनका लागि नगरपालिकाको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग र समन्वय गर्न आफू सदैव तत्पर रहेको प्रतिबद्धता समेत उनले व्यक्त गरिन।
महिला पतञ्जली योग समिति मोरङकी अध्यक्ष सुची चौधरीले महिला स्वास्थ्य र मानसिक शान्तिका लागि योगको विशेष महत्त्व रहेको बताइन। त्यस्तै, पतञ्जली योग समिति मोरङका निवर्तमान जिल्ला अध्यक्ष सुरेश अग्रवालले योगले व्यक्तिलाई अनुशासित र ऊर्जावान् बनाउने उल्लेख गर्दै समाज रूपान्तरणमा यसको भूमिकाबारे प्रष्ट पारे।
कार्यक्रमका अध्यक्ष गुरुप्रसाद अधिकारीले रंगेली नगरपालिकामा पहिलो योग साधना केन्द्र स्थापना गर्ने योजना अघि सारिएको जानकारी दिए।
उनले वडा स्तरबाटै अभियान सुरु गरी समग्र नगरपालिकालाई योगको माध्यमबाट स्वस्थ बनाउने लक्ष्य रहेको बताए। सोही अवसरमा आगामी दिनमा करिब ५० जनालाई लक्षित गरी विशेष योग प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको समेत उनले जानकारी दिए।
View : 153
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved