Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

भेडेटारको खाना महोत्सव आज सकिदै

उद्घोष सम्वाददाता
१७ पुष २०८०, मङ्गलवार

धनकुटा । धनकुटाको भेडेटारमा आइतबारदेखि शुरु भएको ११ औं फुड फेस्टिभल मंगलबार समापन हुँदैछ । अंग्रेजी नयाँवर्ष २०२४ सुरुवातको अवसर पारेर होटल एसोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिभल अर्थात खाना महोत्सव आयोजना गरेको हो ।

भेडेटार, कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । यहाँ नेपालका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा पर्यटकहरू आउने गरेका छन् ।

चिसो र प्राकृतिक सुन्दरताले भरिपूर्ण भेडेटार आन्तरिक तथा बाहृय पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुर्‍याउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो । फेस्टिभल उद्घाटनका अवसरमा भेडेटारमा विभिन्न जातजातीका झाँकीहरू पनि प्रदर्शन गरिएको थियो ।

फेस्टिभलमा १५ वटा स्टल निर्माण गरिएका छन् । जसमा स्थानीय जातीय खानाका परिकार, अर्गानिक तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखिएको छ ।

३० हजार भन्दा बढी आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने लक्ष्य राखिएको फेस्टिभलमा एक करोड बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको आयोजक होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

फेस्टिभलमा आउने पर्यटकलाई साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङडाँडा, आत्मा बस्ने घर, थुम्की, बौद्धविहार, गुम्बा, अजङ्गको बरको रुख, ध्वजेडाँडा लगायत पर्यटकीय स्थलहरू घुमाउने प्याकेज बनाइएको छ । फेस्टिभलको अवसरमा भेडेटारका होटलहरूले खाना र बस्नमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् ।

View : 75

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved