Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

राष्ट्रिय सभा निर्वाचन

कांग्रेस–एमाले गठबन्धन र नेकपाबाट उम्मेदवारी दर्ता, अन्यतर्फ कांग्रेसका थापा निर्विरोध

उद्‌घोष संवाददाता
२३ पुष २०८२, बुधवार

विराटनगर । कोशी प्रदेशमा रिक्त रहने राष्ट्रिय सभा सदस्यको तीनवटा सिटका लागि बुधबार नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त गठबन्धन तथा नेपाली कम्यूनिष्ट पार्टीबाट पाँचजनाको उम्मेदवारी परेको छ ।

अन्यतर्फ नेकपाका हेमराज घिमिरेले समयमा उम्मेदवारी दर्ता नगर्दा कांग्रेसका सुनिल बहादुर थापाको एकल उम्मेदवारी कायम भएर सर्वसम्मत भएका छन् । थापाको एकल उम्मेदवारी परेर सर्वसम्मत भएपनि निर्वाचन अधिकृतको कार्यालयले भने सर्वसम्मत निर्वाचित भएको घोषणा गरिसकेको छैन ।

बुधबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । उक्त समयभित्र साविक नेकपा एसको भागबाट अन्यतर्फ टिकट पाएका घिमिरे संखुवासभाबाट विराटनगर आइपुग्न नसक्दा उम्मेदवारी दिनबाट बंचित भएका हुन् ।

कोशी प्रदेशमा रिक्त हुन लागेको अन्यतर्फ १, महिला १ र दलित १ सिटका लागि निर्वाचनको कार्यक्रम अघि बढेको हो । कांग्रेस–एमाले गठबन्धनबीच अन्यतर्फको सिट कांग्रेसको भागमा परेको थियो । 

कोशी प्रदेशमा महिलातर्फ एमालेकी रोशनी मेचे र दलितमा सोम पोर्तेलले उम्मेदवारी दर्ता गरेका छन् । थापा, मेचे र पोर्तेलले अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरेका हुन् । 

कांग्रेसका थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकमा रेगिना भट्टराई रहेका छन् । मेचेको प्रस्तावकमा शोभा चेम्जोङ र समर्थकमा सिर्जना राई रहेका छन् । पोर्तेलको प्रस्तावकमा छवि चुडाल र समर्थकमा एकराज कार्की रहेका छन् ।

निर्धारित समयभित्र अन्य क्लस्टरमा थापाको मात्रै मनोनयन दर्ता भएको कोशी प्रदेश निर्वाचन कार्यालय प्रमुख चोलराज दंगालले जानकारी दिए । मनोनयन दर्ताका लागि तोकिएको अपरान्ह ३ बजेभित्रको समयमा मनोनयन दर्ता नभएको दंगालले बताए । 

‘हामीले अहिले नै निर्विरोध निर्वाचित भएको भन्न मिल्दैन, निर्वाचनको प्रक्रियाहरू बा“की नै छन्’ दंगालले भने, ‘त्यो क्लस्टरमा एकजनाको मात्रै उम्मेदवारी परेको हो, निर्वाचन कार्यक्रम अनुसार अब हामी अरु जानकारी दिन्छौं ।’ 

नेकपाबाट महिलामा नमिता न्यौपाने र दलितमा खेमराज सुन्दासले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरू दुवै यसअघिको नेकपा माओवादीका हुन् ।

View : 115

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved