विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रादेशिक व्यापार रणनीतिबारे महासंघका वस्तुगत संघहरूसँग छलफल गरेको छ । नेपाल अलैंची व्यवसायी महासंघ र चिया उत्पादक संघको सहकार्यमा झापाको बिर्तामोडमा आयोजित अन्तरक्रियात्मक छलफलमा कोशी प्रदेशबाट उत्पादन हुने कृषि उपजहरूले नेपालको निर्यातमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष कुमारमणि पोखरेलले कृषि उपजहरूले नेपालले निर्यात प्रवर्द्धनमा योगदान गरेको भन्दै सरकारले थप सम्भावनायुक्त कृषि उपजहरूको पहिचानका लागि रणनीति निर्माण गर्नुपर्ने बताए । त्यसले मात्रै प्रदेशको आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।
नेपाल सरकारका पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले छलफलमा प्रस्तुत गरेको व्यापार रणनीतिसम्बन्धी खाकामाथि छलफल गर्दै नेपाल अलैंची व्यवसायी महासंघका अनिल ढुंगानाले अलैंची निर्यात समिति र अलैंची अनुसन्धानको लागि सूचना केन्द्रको आवश्यक रहेको बताए ।
अलैची व्यवसायी पार्वता खरेलले कृषि व्यापार रणनीतिले किसानहरूको समस्यालाई सम्बोधन गर्नुपर्ने बताइन् । उनले वेयरहाउस रिसिप्टको आवश्यकतामा जोड दिइन् ।
चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले कोशी प्रदेशका प्रमुख निर्यात वस्तुहरूमा चिया र अलैंची नै रहेको बताए । उनले महासंघले यी वस्तुको उत्पादनदेखि बजार प्रवर्द्धनमा समेत सहयोग पुर्याउन सक्ने बताए । पराजुलीले अहिले स्वदेशी उद्योगहरू नै घरायसी बनिरहेको अवस्थामा महासंघले यसलाई जोगाउन भूमिका खेल्नुपर्ने सुझाव समेत दिए ।
चिया व्यवसायी ओम कृष्ण ज्ञवालीले खुला नाकाबाट हुने चोरी तस्करी तथा खुला आयातलाई रोक्नुपर्ने बताए । कृषि व्यापार प्रवर्द्धनका लागि नीति निर्माणमा सरकारले अझ बलियो भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।
अर्का चिया व्यवसायी गोपाल दाहालले विश्व बजारमा अर्गानिक चियाको राम्रो बजार रहेको बताउँदै अर्गानिक प्रमाणीकरण प्रक्रियामा सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकालले कृषि व्यापार प्रवर्द्धनका लागि राज्यसँग सहजीकरण गरिरहेको बताए । व्यवसायीहरूले भोगिरहेका अप्ठ्याराहरूलाई सहजीकरण गर्न प्राप्त भएका सुझावहरू संकलन गरी सरकारलाई नीतिगत रुपमा सम्बोधन गर्ने वातावरण बनाउने बताए ।
महासंघकै आयोजनामा नेपाल डेरी एसोसिएसन कोशीसँग दमकमा भएको अर्को अन्तरक्रियामा सूर्योदय मिल्कका मनोज कुमार यादवले दुग्ध क्षेत्रको रणनीति निर्माण गर्दा उत्पादक, प्रशोधनकर्ता र उपभोक्ताको भूमिकालाई आधार मान्नुपर्ने बताए ।
नेपाल डेरी एसोसिएसन कोशी प्रदेश अध्यक्ष गंगा खड्काले दूध र दुग्ध उत्पादनहरूको गुणस्तरलाई विश्वस्तरमा पुर्याउन पशुपालन क्षेत्रमा खोरेत रोगमुक्त बनाउनुपर्ने, पशुलाई दिने दानाको गुणस्तर अनुगमन गर्ने र छुर्पी लगायतको ‘पेटेन्ट राइट्स’ लिन ढिला गर्न नहुने बताए ।
छलफलमा डेरी उद्यमीहरू योगानन्द खतिवडा, हेमचन्द्र खनाल, सुजन श्रेष्ठ र गुरुप्रसाद दाहालले धारणा राखेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कार्यकारी निर्देशक राधारमण भण्डारीले कृषि व्यापार प्रवर्द्धनबारे महासंघ कोशीले सञ्चालन गर्दै आएका कार्यक्रमहरूबारे जानकारी गराएका थिए ।
View : 173
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved