विराटनगर । पछिल्लो समय नेपालका हाइड्रोपावर कम्पनीहरू ऋण भुक्तानी तथा नयाँ आयोजना विस्तारको उद्देश्यले तीव्र रूपमा हकप्रद शेयर निष्काशनमा जुटिरहेका छन् ।
कतिपय कम्पनीहरूले पहिल्यै निष्काशन गरिएका हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद घोषणा गर्न थालेका छन् भने केहीले वर्षेनी जस्तै हकप्रद शेयर ल्याउने प्रवृत्ति देखाएका छन् ।
गत आर्थिक वर्षको साधारणसभाका लागि नेप्सेमा सूचीकृत ९७ वटा हाइड्रोपावर कम्पनीमध्ये पुस मसान्तसम्म ७८ वटा कम्पनीले साधारणसभा गर्ने सूचना प्रकाशित गरेका छन् । बाँकी १९ वटा कम्पनीले भने अझैसम्म साधारणसभाको सूचना सार्वजनिक गरेका छैनन् ।
कम्पनी ऐनअनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।
साधारणसभाको घोषणा गरेका ७८ कम्पनीमध्ये जम्मा १८ वटा कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्ने अधिकांश कम्पनीहरूले नगदभन्दा बोनस शेयरलाई प्राथमिकता दिएका छन् । धेरै कम्पनीले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि मात्र न्यून नगद लाभांश घोषणा गरेका छन् ।
गत आवको नाफाबाट नगद लाभांशसहित लाभांश दिने कम्पनीमा भगवती हाइड्रोपावर र चिलिमे हाइड्रोपावर मात्रै रहेका छन् । चिलिमे हाइड्रोपावर हरेक वर्ष बोनस र नगद मिश्रित लाभांश दिने कम्पनीका रूपमा चिनिन्छ ।
अधिकांश हाइड्रोपावर कम्पनीले लाभांश नदिएको अवस्थामा, लाभांश दिने कम्पनीहरूले पनि अधिकतम २२ प्रतिशतसम्म मात्र लाभांश दिएका छन् ।
गत वर्ष २० प्रतिशत भन्दाबढी लाभांश दिने तीन कम्पनी रहेका छन् । साहस ऊर्जाले २२.१० प्रतिशत, माउन्टेन इनर्जी नेपालले २१.०५ प्रतिशत र भगवती हाइड्रोपावरले २० प्रतिशत लाभांश वितरण गरेका छन् ।
रुरु, सिक्लेस, अप्पर हेवा खोला र मिड सोलु हाइड्रोपावरले करिब १५ प्रतिशत लाभांश दिएका छन् भने कुथेली बुखारी, सिनर्जी पावर डेभलपमेन्ट, युनिभर्सल पावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, अरुण भ्याली हाइड्रोपावर र कालिका पावरले ७ देखि १० प्रतिशतसम्म लाभांश दिएका छन् ।
अपी पावर, विन्द्यवासिनी हाइड्रोपावर, युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर तथा बरुण हाइड्रोपावरले भने करिब ५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
साधारणसभा गर्ने कम्पनीहरूमध्ये २४ वटा हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश गरेका छन् ।
यी कम्पनीहरूले न्यूनतम चुक्ता पुँजीको ३० प्रतिशतदेखि अधिकतम १५० प्रतिशतसम्म हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेका छन् ।
केही कम्पनीले पुराना ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्न लागेका छन् भने केहीले नयाँ जलविद्युत आयोजनामा लगानी गर्न हकप्रदबाट रकम संकलन गर्ने बताएका छन् । लाभांशसमेत वितरण गर्दै हकप्रद निष्काशन गर्ने कम्पनीको संख्या सात पुगेको छ ।
अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनीले १ बराबर १.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको छ ।
साहस ऊर्जा, सिक्लेस हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रोपावर, युनिभर्सल पावर, विन्द्यवासिनी हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, मेन्छियम हाइड्रोपावर, मायाखोला हाइड्रोपावर र माइखोला हाइड्रोपावरले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेका छन् ।
त्यसैगरी अपी पावरले ३० प्रतिशत, अरुण काबेली र सुपर मादी हाइड्रोपावरले ५० प्रतिशत, मैलुङ खोला जलविद्युत कम्पनीले ७० प्रतिशत, सयपत्री हाइड्रोपावरले ७४ प्रतिशत तथा रुरु जलविद्युतले ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेका छन् ।
गत आवमा सबै भन्दाबढी लाभांश वितरण गरेको साहस ऊर्जाले अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्न १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्ध–जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।
रुरु जलविद्युतले १० प्रतिशत बोनस शेयर वितरण गरेर पुँजी वृद्धि गरेपछि पुनः ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीका अनुसार उक्त रकम सुम्निमा हाइड्रोपावर अन्तर्गतका अपर पिखुवा र पिखुवा पशुपति जलविद्युत आयोजनामा लगानी गरिनेछ, जसमा रुरुले सुम्निमाको ५१ प्रतिशत स्वामित्व लिनेछ ।
सिक्लेस हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि पुनः १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेका छन् । हकप्रदबाट उठेको रकम अन्य आयोजनामा लगानी गर्ने कम्पनीहरूको भनाइ छ ।
युनिभर्सल पावरले ९ प्रतिशत बोनस शेयर वितरण गर्दै १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशनमार्फत थप रकम संकलन गरिरहेको छ । कम्पनीले उक्त रकम ७०.४४ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।
अपी पावरले ५ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ भने विन्दवासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनससंगै शतप्रतिशत हकप्रद शेयर निष्काशन गरी संकलित रकम ऋण भुक्तानी तथा अन्य आयोजनामा लगानी गर्ने जनाएको छ ।
View : 77
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved