Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
वातावरण

विराटेश्वर मन्दिरमा फूल्यो शिवलिङ्ग फूल

उद्घोष सम्वाददाता
२७ जेठ २०८१, आइतवार

Advertisement

विराटनगर । प्रकृतिमा असंख्य वनस्पति छन् । तीमध्ये केही वनस्पतिहरूको आकृति र प्रकृति आश्चर्यजनक छ । वनस्पतिहरूकै श्रृंखलामा रहेको एउटा फूललाई हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको प्रतीकको रुपमा सम्मान गर्छन् । 

वनस्पतिय नाम ‘कैनन बल’ भनिने रुखमा फुल्ने फूल शिवलिङ्ग आकृतिको हुन्छ । कैनन बल ट्री भनिने रुखमा फुल्ने फूलको आकार प्रकारलाई शिवलिङ्ग र शेषनागको आकृतिसँग तुलना गरिन्छ । यस फूलको मध्यभागमा शिवलिङ्ग र त्यसमाथि शेषनागले छत्रछायाँ दिइरहेको जस्तो भान हुन्छ । यस फूलको आकृति प्रकृति दुवै विशेष भएकाले हिन्दू धर्मावलम्बीहरू यसको रुखलाई देववृक्षको रुपमा पूजा र सम्मान गर्छन् । 

नेपाल तथा भारतमा विशेष गरी भगवान शिवको मन्दिरहरूमा यो फूलको रुख लगाउने गरिन्छ । विराटनगरको विराटेश्वर शिव मन्दिरमा यो फूलको एउटा रुख छ । नेपालमा दुर्लभ रहेको यस फूलका विषयमा धेरै व्यक्ति जानकार छैनन् । 

नेपालमा यो फूललाई शिवलिङ्गको फूल भनिन्छ भने भारतमा शिवकमल, नागालिङम, नागलिङ पुष्प, नागमल्ली र मल्लिकार्जुन आदि विभिन्न नामले चिनिन्छ ।  २०५० सालमा तत्कालीन राजा वीरेन्द्र दक्षिण भारत भ्रमणमा गएका बेला त्यहाँका शंकराचार्यले राजा वीरेन्द्रलाई यस फूलको एउटा विरुवा उपहारस्वरुप प्रदान गरेको बताइन्छ । उक्त विरुवा राजा वीरेन्द्रले जनकपुरधामस्थित जानकी मन्दिरको शतवार्षिकी समारोहको अवसरमा विवाह मण्डप परिसरमा रोपेका थिए ।

उक्त विरुवाले हाल विशाल वृक्षको स्वरुप ग्रहण गरेको छ । सोही रुखबाट बिउ संकलन गरी नयाँ बिरुवा उत्पादन गरी आफूहरूले विभिन्न मन्दिर तथा इच्छुकहरूलाई उपलब्ध गराइरहेको जनकपुर वन प्राबिधिक समाजका महासचिव सुरेश शर्माले बताए । 

यो रुखको फल भने फुटबल आकृतिको हुन्छ जुन निकै नै उपयोगी हुन्छ । लोक चिकित्सामा ज्वरोका बिरामीलाई यस फलको गुदीको जुस खुवाउने गरिन्छ । यो रुखको फूल, पात, फल र छाला सर्दी र पेट दुख्ने रोग निवारणका निम्ति प्रयोग गरिन्छ । शिवलिङ्गी रुखको पातले बढी मात्रामा कार्बन डाइअक्साइड सोसेर अक्सिजन उर्त्सजन गर्ने भएकाले पनि यो रुखको विशेष महत्व छ । 

पछिल्लो समय विराटनगरस्थित नेपाल सोनार समाज फाउण्डेशनले जनकपुर वन प्राविधिक समाजसँग समन्वय गरी विभिन्न मन्दिरहरूमा शिवलिङ्ग फूलको वृक्षरोपण गरिरहेको छ । 

View : 342

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved