Biratnagar, Morang, Nepal
१० साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले भोजपुरद्वारा उपमेयर शेर्पासहित केही नेता–कार्यकर्तामाथि कारबाही

उद्‌घोष संवाददाता
१० साउन २०८३, आइतवार

Advertisement

भोजपुर । नेकपा (एमाले) भोजपुर जिल्ला कमिटीले पार्टीको नीति, सिद्धान्त, विधान तथा संगठनात्मक अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोपमा भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पासहित केही नेता–कार्यकर्तामाथि कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ ।

जिल्ला अध्यक्ष मक्करबहादुर खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उपमेयर शेर्पाले पार्टीको निर्देशन, नीति तथा विधानविपरीत सार्वजनिक अभिव्यक्ति दिएको, जनप्रतिनिधिको पदको दुरुपयोग गर्दै पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको तथा नेता–कार्यकर्तालाई अन्य राजनीतिक दलमा प्रवेश गराउन सक्रिय भूमिका खेलेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न तथा उपमेयर पदबाट समेत मुक्त गर्न आवश्यक प्रक्रिया अघि बढाउन एमाले कोशी प्रदेश कमिटीसमक्ष सिफारिस गरिएको उल्लेख छ ।

त्यसैगरी, एमाले भोजपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाइएको छ ।

साथै, वडाध्यक्ष पदबाट समेत मुक्त गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, पार्टीका विभिन्न जिम्मेवारीमा रहेका विमल रणपहेली, सुमन प्रधान, रेनुका भुजेल, कोपिला राई, बाबुराम तामाङ र दिपेन दर्नाललाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले भोजपुरले जनाएको छ । 

एमाले भोजपुरले सम्पूर्ण नेता–कार्यकर्तालाई अवसरवादी प्रवृत्ति तथा व्यक्तिकेन्द्रित राजनीतिबाट विचलित नहुन, पार्टीको हित, संगठन सुदृढीकरण र जनताको सेवामा एकताबद्ध भएर सक्रिय रहन आग्रह गरेको छ ।

View : 22

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved