काठमाडौँ, २५ भदौ । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ ।
देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता गरिइएको हो ।
आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रबीच उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन केन्द्रले आफ्नै स्रोतबाट गर्नेछ ।
उक्त सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ ।
सो अवसरमा मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रमका लागि अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, युवा तथा खेलकुदमन्त्री चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको जनाउँदै यसबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका सात सय ५७ खेलाडी लाभान्वित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवद्र्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको सुरूआत गरिएको थियो । रासस
View : 375
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved