Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

माछापुच्छ्रे सहकारीको मुद्दा मेलमिलापमा

उद्‌घोष सम्वाददाता
२४ मंसिर २०८१, सोमवार

विराटनगर । विराटनगरको माछापुच्छ्रे सहकारी संस्थाको मुद्दामा वचतकर्ताहरुको रकम फिर्ता गराई मेलमिलाप गराएर टुंग्याउने प्रयास थालिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको पहलमा सो प्रयास थालिएको हो ।

सो सहकारी संस्थाका २६ जना सञ्चालक र कर्जा लिई चुक्ता नगर्ने ऋणीसहित १ सय आठ जना विरुद्धमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएकोमा अध्यक्ष अमलेशकुमार कर्ण पक्राउ परी पुर्पक्षमा जिल्ला कारागारमा छन् । 

सहकारीका सञ्चालकहरुमध्ये सञ्जय थापा (प्रभाकर) ले ८२ लाख ९८ हजार रुपैयाँ जम्मा गरेर आरोप मुक्त भएका छन् ।

अहिले पीडितहरुलाई नै भेला गराएर आरोपितहरुबाट पैसा असुल गरी वचतकर्ताहरुको रकम फिर्ता गराउने पहलमा सञ्जय थापा लागेका छन् । 

उनीमाथि सहकारीको एक्टिभ खातामा जम्मा भएको ११ लाख ६४ हजार, बचतकर्ताहरुको २३ लाख ३५ हजारसमेत हिनामिना गरेको आरोप लागेको थियो । 

उनका अनुसार ४३ लाख ५५ हजार रुपैयाँ अब उनले पाउनु पर्नेमा नपाएको भन्दै मुद्दामा जाने भएका छन् ।

सो सहकारीबाट ५ करोड १७ लाख रुपैयाँ वचतकर्ताहरुको रकम हिनामिना गरेको पाइएको छ । 

सहकारी रजिष्ट्रारको कार्यालय कोशीका अनुसार दायित्व ८ करोड ५० लाख देखिए पनि मुद्दा हाल्ने पीडितहरुको माग दावी भने २ करोड २५ लाख मात्रैको छ । त्यति रकम असुली भएपछि पीडित पक्षसँग मेलमिलाप गराउने र बाँकी रकम असुल गरिने भएको छ ।

समाचार स्रोतका अनुसार सो सहकारीका मुख्य हर्ताकर्ता तत्कालीन व्यवस्थापक अमित कार्की, उपाध्यक्ष सनातन मण्डल, उत्तम ढुंगेल, श्याम कोइराला सम्पर्कमा आएर सहकारीको पैसा तिरेमा मुद्दाको छिनोफानो हुने देखिन्छ । 

उनीहरुमध्ये राधादेवी लिम्बूले भने पैसा तिर्न तयार भएकी हुँदा उनी सम्पर्कमै रहेकी छन् । उनले तिर्नु पर्ने ४८ लाख रुपैयाँ देखिन्छ ।

नौवटा सहकारीलाई मुद्दा

कोशी प्रदेश अन्तर्गत पाँच हजार सहकारी छन् । तीमध्ये १ हजार ८० सहकारी प्रदेश रजिष्ट्रारको कार्यालय अन्तर्गत पर्दछन् । बाँकी सहकारीको अनुगमन स्थानीय पालिकाहरुले गर्दछन् । 

प्रदेशका सहकारीहरुमध्ये नौवटा सहकारी विरुद्ध मुद्दा छ । मुद्दा परेका सहकारीहरुमा मोरङको माछापुछे«, उमागौरी कृषि सहकारी र सुपरफाइन वचत तथा ऋण सहकारी छन् । 

त्यसैगरी सुनसरी (इटहरी) को अम्बेकोशी वचत तथा ऋण सहकारी, झापाको बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था र झापाकै शुभ सँइत वचत तथा ऋण सहकारी संस्था छन् ।

खोटाङको लालुपाते वचत तथा ऋण सहकारी संस्थाको विरुद्धको मुद्दा भने मिलापत्रमा टुंगिएको छ । 

मुद्दा चलेका सहकारीहरुमध्ये केहीको सञ्चालकहरुको बद्मासीले र धेरै त ऋणीले पैसा नदिएर समस्यामा परेका छन् ।

View : 121

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved