विराटनगर । मोरङको रंगेली–७ नयाँटोलको एक घरमा शुक्रबार राति प्रवेश गर्ने चार युवामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ढोका फुटाएर भित्र प्रवेश गरी महिला र बालबालिकालाई हातपात गरेको आरोप छ ।
स्थानीय विपुल भनिने सुशील पोदारको घरमा मध्यरातमा एक समूह प्रवेश गरेको थियो । त्यस बेला पोदार नभएकाले उनकी श्रीमती पुनम र बालबालिकालाई उनीहरुले हातपात गरेको बताइएको छ ।
घटनामा संलग्न सोही वडाको स्कुलटोलका २२ वर्षीय विपीन ठाकुर, २३ वर्षीय निरजकुमार मण्डल र २५ वर्षीय राहुल मण्डललाई प्रहरीले राति नै पक्राउ गरेको हो । आफूलाई मार्ने उद्देश्यले युवाहरु घरमा आएको र नभेटेकाले परिवारका सदस्यलाई अभद्र व्यवहार गरेको पोदारले बताएका छन् ।
उनको घरमा युवाहरु प्रवेश गरेर कुटपिट गर्न थालेपछि स्थानीयले प्रतिकार गरेका थिए । त्यसपछि पुगेको प्रहरीलाई पनि उनीहरुले हातपात गरेको पोदारले दाबी गरे पनि इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक बुद्धिराम चौलागाईले आफूलाई प्रहरीमाथि हातपात भएको थाहा नभएको बताएका छन् ।
प्रहरीका अनुसार घटनामा संलग्न युवकहरुसँग पीडित परिवारको पुरानै रिसइवी थियो । शुक्रबार दिउँसो पनि विवाद भएको र राति दुवै पक्षबीच हात हालाहाल भएको पाइएको निरीक्षक चौलागाई बताउँछन् ।
पोदारले शनिबार पक्राउ परेका तीन र अपरिचित एक गरी चार जनाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएका छन् । चार जनाविरुद्ध मुद्दा चल्ने अवस्था आएपछि दबाब र प्रभावमा पार्न केही स्थानीय व्यक्तिहरु लागेको पोदारको भनाइ छ ।
View : 153
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved