Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योगी व्यवसायीलाई अर्थमन्त्री महतको ढाडस: ‘सामाजिक सञ्जालमा मात्रै नेगेटिभ कमेन्ट भएको हो, अर्थतन्त्रको इन्डिकेटर राम्रो बनिसकेको छ’

उद्घोष सम्वाददाता
१७ पुष २०८०, मङ्गलवार

विराटनगर । मुलुकको अर्थतन्त्र समस्यामा रहेको भन्दै सरकारप्रति आलोचना गर्दै आएका उद्योगी व्यवसायीहरुलाई उनीहरुकै मञ्चबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले सामाजिक सञ्जालमा हुने ‘नेगेटिभ कमेन्ट’को पछि नलाग्न आग्रह गरेका छन् । 

मोरङ व्यापार संघले आयोजना गरेको एक्स्पोको समापन कार्यक्रमका सोमबार अर्थमन्त्री महतले अर्थतन्त्रका अधिकांश इन्डिकेटर (सूचाकाङ्क) हरु राम्रो बनिसकेको ढाडस दिए । उनले मूल्यबृद्धि नियन्त्रणदेखि ६ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य पूरा गर्नसक्ने समेत दाबी गरे । अर्थमन्त्री महतले अहिले शेयर र जग्गा कारोबार बढ्नुका साथै बैंकहरुको ब्याजदर समेत घटिरहेकोले अर्थतन्त्रमा पूँजीको प्रवाह बढेको दाबी गरे ।

कार्यक्रममा अर्थमन्त्री महतलाई निमन्त्रणा गरेका मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, पूर्वअध्यक्ष प्रकाश मुन्दडादेखि सीएनआई कोशी प्रदेशका अध्यक्ष रहेका संघकै अर्का पूर्वअध्यक्ष पवन सारडा समेतले निजी क्षेत्रले अर्थतन्त्र सुधारको अनुभूति गर्न नसकेको बताएका थिए । उनीहरुले सरकारले निजी क्षेत्रलाई नियोजित रुपमा दुख दिने गरेको समेत आरोप लगाएका थिए ।

अर्थमन्त्री महतले भने विगतमा अर्थतन्त्रमा समस्या भए पनि अहिले धेरै सूचकहरुमा सकारात्मक परिणाम देखिइसकेको बताए । उनले ६ प्रतिशतले बढ्ने अनुमान गरिएको मुल्यबृद्धि अहिले ५ प्रतिशतमा सीमित रहेको दाबी गरे ।

‘हिजो समस्या थियो, अझै पनि केही सेक्टरमा बाँकी पनि छन्, तर विश्वास दिलाउँछु कि आउने दिनमा अझ सुचकहरु सकारात्मक बन्ने संकेत देखिनेछ, मुलुकको आर्थिक बृद्धिदर बढेर जानेछ’ अर्थमन्त्री महतले भने, ‘सामाजिक संजालमा नेगेटिभ कुरा धेरै आउने गरेकोले मानिसहरु पनि बढी नेगेटिभ मन पराउने, सोही कारण विश्वास कम भएको हो, अहिले धेरै इण्डिकेटरहरु राम्रो भएर गएको छ ।’

उनले नकारात्मक बिषयको बहसलाई छाडेर सकारात्मक पक्षको प्रवर्द्धन गर्नुपर्ने बताए । नेपालमै बसेर केही गर्न सकिन्छ र यहीं रोजगारी सिर्जना गरेर काम गर्न सकिन्छ भन्ने सन्देश दिनुपर्नेमा मन्त्री महतले जोड दिए ।

‘१८०० को शेयर कारोबार २२०० पुगेको छ, जग्गा कारोबार पनि बढेको छ, बैंकले पनि ब्जाजदर घटाउने क्रम छ, ऋण प्रवाह बृद्धि भएको छ’ अर्थमन्त्री महतले भने, ‘६ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य प्राप्त गर्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ ।’

उनले कोभिडका कारण उद्योगधन्दा बन्द भएको बेला उद्योगीहरु घरमा बसेको बेलामा बैंक तथा वित्तीय क्षेत्रबाट लगानी धेरै भएको र त्यस्तो लगानी उत्पादनमुलक उद्योगमा जान नसकी घरजग्गा र शेयर कारोबारमा गएकोले समस्या बढेको बताए । 

राष्ट्र बैंकको बचाउ गर्दै अर्थमन्त्री डा.महतले राष्ट्रबैंकले तत्कालै नीति ल्याएर अर्थतन्त्रलाई सही बाटोमा ल्याउन खोज्दा ह्वात्तै ब्याजदर बढेको र ऋणीहरुलाई ब्याज तिर्न नसकेको टिप्पणी गरे । 

‘राष्ट्रबैंकले नीति ल्याएर रोक्न खोज्दा ब्याजदर ह्वात्तै बढ्यो, ऋण तिर्न नसकेर हाहाकार भयो, त्यसपछिका नयाँ लगानीकर्ताहरु पनि हच्किए’ मन्त्री महतले भने, ‘ऋण लिनेको मात्रै होइन, दिनेको पनि दोष देखियो, ठेक्कामुखी लगानी धेरै भयो, परिणाम आउने काममा लगानी केन्द्रित नहुँदा अर्थतन्त्रका सूचकहरुमा असर परेको हो ।’

अर्थमन्त्री महतले मोरङ व्यापार संघले आयोजना गरेको एक्स्पोले पूर्वी नेपालको उद्योग व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । एक्स्पोले अर्थतन्त्रलाई आत्मविश्वास थपेको पनि बताए । 

समापन कार्यक्रममा एक्स्पोलाई सफल बनाउन सहयोग गर्ने विभिन्न पेशा र क्षेत्रलाई मोरङ व्यापार संघको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो । पुस ६ गतेदेखि सुरु भएको एक्स्पोमा १० करोड बढिको कारोबार भएको जनाइएको छ । 

View : 153

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved