विराटनगर । क्रियाशील सदस्यता अद्यावधिक अभियानको विपक्षमा उभिदै आएका नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङको जिम्मेवारी पार्टी केन्द्रले खोसेको छ ।
सोमबार मात्रै पार्टी केन्द्रीय कार्यालयले उनको जिम्मेवारी खोसेर चुमनारायण तवदारलाई जिम्मेवारी दिएको छ ।
क्रियाशील सदस्यता अद्यावधिक गर्न र गराउन इन्कार गर्दै आएका नेता शेखर कोइरालानिकट क्षेत्रीय सभापति तामाङको जिम्मेवारी खोसेर तबदारलाई दिइएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
मोरङ ६ शेखर कोइरालाको गृह क्षेत्र हो । उनको क्षेत्रमा रहेका उनीनिकट नेताहरूले पार्टी सदस्यता अद्यावधिक नगर्ने अडान राख्दै आएका थिए । क्षेत्रीय सभापति तामाङ आफै पनि यो अभियानका एक जना अगुवा थिए ।
‘उहाँले पार्टी सदस्यता अद्यावधिक गर्नुभएन । अद्यावधिक नगरेपछि उहासँग एनसी आईडी छैन,’ कांग्रेसका ती पदाधिकारीले भने ‘एनसी आईडी नभएपछि उहाँले नयाँ सदस्यको एप्रुभ गर्न मिलेन । त्यसैले एप्रुभ गर्ने जिम्मा चुमनारायण तवदारलाई दिने निर्णय भएको हो । उहाँ क्षेत्रीय सभापति पदमा यथावत हुनुहुन्छ ।’
यसबारे आफूलाई कुनै जानकारी नभएको क्षेत्रीय सभापति तामाङले बताए । उनले पार्टी क्रियाशील सदस्यता अद्यावधिक गरिसकेको दाबीसमेत गरेका छन् । तामाङले भने- ‘मलाई यसबारे केही जानकारी छैन । मैले समयमै पार्टी सदस्यता अद्यावधिक गरेको छु ।’
उनले आफू मोरङको सुन्दरहरैंचा नगरको मेयर बन्ने तयारीका साथ जनताको काममा रहेको तर प्रतिष्पर्धीहरूले गलत हल्ला चलाएको आरोप लगाए ।
‘समय आएपछि पार्टी सदस्यता अद्यावधिक गरेको प्रमाण पनि सार्वजनिक गरौंला,’ उनले भने, ‘केन्द्रमा यसको रेकर्ड होला ।’
View : 46
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved