Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर महानगरले उठायो ६१ करोड राजस्व

उद्घोष सम्वाददाता
२ साउन २०८१, बुधवार

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ६१ करोड १ लाख १६ हजार राजस्व संकलन गरेको छ । महानगरपालिकाका १९ वटा वडा र महानगरपालिकाले आन्तरिक रूपबाट त्यति राजस्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ६४ करोड राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा ३ करोड राजस्व घटेको हो ।

गत आर्थिक वर्षमा महानगरपालिकाले ९ करोड ४७ लाख ९३ हजार राजस्व संकलन गरेको थियो । बाँकी वडाहरूबाट संकलन भएको हो । वडाहरूबाट संकलित राजस्वमा सबभन्दा बढी वडा नं. ७ को छ । ७ नम्बर बडाले ७ करोड ९५ लाख २३ हजार राजस्व संकलन गरेको छ भने वडा नं. ९ ले ६ करोड ९३ लाख रूपैयाँ संकलन गरेको छ ।

सबैभन्दा कम राजस्व संकलन गर्ने वडाहरूमा वडा नं. १७ ले २३ लाख ५६ हजार मात्र संकलन गरेका छ । त्यस्तै वडा नं. १६ ले ३६ लाख, वडा नं. १८ ले ४१ लाख र वडा नं. १९ ले ६६ लाख ८३ हजार राजस्व संकलन गरेको छ । वडा नं. १६, १७, १८ र १९ महानगरका सबैभन्दा पछि परेका वडाहरू हुन् ।

महानगरले ३१ वटा शीर्षकमा कर उठाउने गर्दछ । सबैभन्दा बढी सम्पत्ति करबापत १८ करोड ६५ लाख ४३ हजार संकलन भएको छ । घर वहाल करबाट १३ करोड ५ लाख ९० हजार संकलन भएको छ । पूर्वाधार सेवाको उपयोगमा लाग्ने करवापत २ करोड ५९ लाख ८८ हजार संकलन भएको छ भने नक्सा पास दस्तुरवापत ४ करोड १५ लाख ६३ हजार संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा सो शीर्षकमा ९ करोड संकलन भएको थियो । 

महानगरपालिकाले उठाउने विभिन्न करहरूमध्ये व्यवसाय करवापत ७ करोड ३७ लाख १९ हजार संकलन भएको छ । भूमि तथा मालपोत वापत १ करोड ३५ लाख ६६ हजार अन्य करवापत १ करोड ८२ लाख, अन्य सेवा शुल्क तथा बिक्रीबाट ८२ लाख, पार्किङ शुल्कबाट १ करोड १ लाख संकलन  भएको छ । अन्य राजस्वबाट ५९ लाख, आखेटोपहारवापत लाग्ने दस्तुरबाट ३० लाख ५३ हजार रूपैयाँ संकलन भएको छ ।

महानगरको राजस्व महाशाखाका प्रमुख सरोज गौतमका अनुसार घर नक्सा पास दस्तुरबाट हुने आम्दानी घटेको छ भने अरू सबै शीर्षकमा आम्दानी बढेको छ । ठूला करदाताले कर नतिर्ने गरेकाले अपेक्षाअनुसार महानगरको आम्दानी बढ्न सकेको छैन ।

विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा ३ अर्ब ३६ करोड १७ लाखको बजेट ल्याएको थियो । त्यसमा आन्तरिकबाट ६१ करोड आम्दानी गर्न सफल भएको हो । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रूपैयाँको अनुमानित बजेट ल्याएको छ ।

View : 118

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved