Biratnagar, Morang, Nepal
४ जेठ २०८२, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

इटहरीमा पनि रात्रीकालिन गोल्डकपको तयारी

उद्‌घोष सम्वाददाता
२३ फागुन २०८०, बुधवार

सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण रात्रीकालिन हुने भएको छ ।

आयोजक राष्ट्रिय जागृति क्लबले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी चैत १० गतेदेखि १९ गतेसम्म रात्रीकालिन समयमा गरिने जानकारी गराएको हो ।

रात्रीकालिन गोल्डकप गर्ने तयारीसँगै यसअघिनै इटहरी रंगशालाको पूर्व र पश्चिमतर्फको एक–एक वटा कुनामा फ्लडलाइट जडान गरिसकिएको छ । जसका लागि कोशी प्रदेश खेलकुद बिकास बोर्डले गत आर्थिक बर्षमा ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

चालु आर्थिक बर्षमा बजेट नआएकाले बाँकी लाइट अस्थाई रुपमा जडान गरिने आयोजकले जनाएको छ । एक सातासम्म चल्ने गोल्डकपमा दुई भारतीय र नेपालका ८ गरी १० टोलीको सहभागिता रहनेछ ।

इटहरी रंगशालामा हुने प्रतियोगिताको बिजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ ।

बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।

इटहरी उपमहानगरपालिका संयोजनमा हुने प्रतियोगितामा बिभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चर्ज ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, न्यूरोड टिम एनआरटी, सगरमाथा क्लब मोरङ, कञ्चनजंघा फुटबल क्लब भारत, बिर्तामोड युनाइटेड झापा, मानेभञ्ज्याङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता हुने छन् ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार ७५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

कोशी प्रदेश खेलकुद बिकास बोर्डले १५ लाख र राष्ट्रिय खेलकुद परिषदले १० लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिएको क्लबका अध्यक्ष डुम्जनले जानकारी दिए ।

स्थानीय सहयोगी दाता र टिकट बिक्रीबाट २४ लाख संकलन हुने बताइएको छ । प्रतियोगिताको गत संस्करणमा साढे ३ लाख मुनाफा भएको छ ।

गत संस्करणमा ५९ लाख ६० हजार ४ सय ५० रुपैयाँ आम्दानी र ५५ लाख ९४ हजार रुपैयाँ खर्च हुँदा ३ लाख ६६ हजार ४ सय ५० रुपैयाँ नाफा भएको आयोजकले जनाएको छ ।

View : 227

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved