सुनसरी । तेस्रो संस्करणको अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि इटहरीको विश्वआदर्श कलेजले जितेको छ ।
इटहरीमा शनिबार सम्पन्न फाइनल खेलमा विश्वआदर्शले नमुना कलेजलाई ५१ रनले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताको पहिलो संस्करण जितेको विश्वआदर्श गत संस्करणको फाइनलमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँग पराजित बनेको थियो ।
इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा विश्वआदर्शले प्रस्तुत गरेको १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको नमुना १८ ओभरमा १ सय ७ रनमा समेटियो ।
नमुनाको लागि बिपन शाहले सर्वाधिक ४७ रन बनाए । राजु बिकले १८ र कृष्ण बिष्टले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।
विश्वआदर्शका अनिश कुँवरले महत्वपूर्ण ४ विकेट लिए । रोहन शाह र समीर तिम्सिनाले २–२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विश्वआदर्शले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन जोडेको थियो ।
रोहन शाहले सर्वाधिक ३७ रन बनाउँदा आकाश सर्राफले ३०, समिर तिम्सिनाले २५, आयुष ढुंगेलले १३ र रोशन खत्रीले १२ रनको योगदान दिए ।
नमुनाका सुबित मेहताले ३ र राजु बिकले २ विकेट हात पारे । फाइनल खेलको प्लेयर अफ द म्याच बिश्वआदर्शका अनिष कुँवर घोषित भए । प्रतियोगिताको बिजेता विश्वआदर्शले नगद २५ हजार सहित ट्रफी पाएको छ ।
उपबिजेता नमुनाले नगद १५ हजारमा चित्त बुझाएको छ । सर्वोत्कृष्ट खेलाडी विश्वआदर्शका कप्तान भूपाल लुइटेल घोषित भए ।
अनिष कुँवर बेष्ट बलर घोषित हुँदा रोशन खत्री बेष्ट ब्याटर बने ।
बिजेता तथा उपबिजेतालाई इटहरी ९ का वडाध्यक्ष जितेन्द्र थापा, विश्वआदर्शका प्राचार्य गणेश दुलाल, कोशी प्रिमियर लिग विजेता नमुना ब्लाष्टरका सञ्चालक धर्म न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए ।
इटहरी आदर्श जाइन्ट्सले पुस १९ गतेदेखि आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेजका टिमले प्रतिस्पर्धा गरेका थिए ।
View : 82
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved