Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

धरौटी नबुझाएपछि हार्डवेयर व्यवसायी सौरभकुमार वियानी जेल चलान

एउटै फर्मबाट १ अर्ब ३१ करोड बढी भ्याट छली

उद्‌घोष संवाददाता
१८ असार २०८२, बुधवार

विराटनगर । तीन आर्थिक वर्षदेखि नक्कली कारोबारको विल विजकमार्फत १ अर्ब ३१ करोड बढी मूल्य अभिबृद्धि कर (भ्याट) छली गरेको आरोपमा पक्राउ परेका विराटनगर–७ का सौरभकुमार वियानी कारागार चलान भएका छन् ।

सोमबार प्रहरीको सहयोगमा पक्राउ परेका वियानीले छली गरेको रकम बराबरको नगद तथा जेथा जमानी बुझाउन नसकेपछि सोमबार मोरङ कारागारमा थुनामा पठाइएको आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भूपाल शाक्यले जानकारी दिए । 

३२ वर्षीय वियानीले आर्थिक बर्ष २०७९–८०, ०८०–८१ र २०८१–८२ मा नक्कली कर विजक जारी गरेको अनुसन्धानका क्रममा खुलेको जनाइएको छ । अनुसन्धानपछि पक्राउ परेका वियानीले विराटनगर–३ स्थित भट्टाचोकमा ‘न्यू सौरभ ट्रेडिङ, बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ को नामबाट चारवटा सटरमा हार्डवेयर सञ्चालन गर्दै आएका थिए । 

उक्त फर्म स्थापनाको वर्ष वियानीले शून्य रकम कारोबार गरेका थिए । तर त्यसपछि २८ करोड र ७६ करोड रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ ।

उनीमाथि भ्याट छलेको कसुरमा आन्तरिक राजश्व प्रशासनले लामो अनुसन्धान गरेको जनाइएको छ । सोही अनुसन्धानपछि उनको संलग्नता रहेको निश्कर्षमा पुगेर मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसन्धान कारवाही अघि बढाएको हो ।

वियानीले उक्त फर्मको नामबाट कारोबार गर्ने क्रममा कुल १ अर्ब ३१ करोड ६४ लाख १८ हजार ५६४ रुपैयाँ भ्याट छलेको भन्दै सोही रकम बराबरको हुन आउने रकम धरौटी बुझाउन आन्तरिक राजश्व कार्यालय विराटनगरले आदेश दिएको थियो । 

तर उक्त धरौटी बुझाउन नसकेपछि सोमबार थुनुवा पूर्जी दिएर वियानीलाई मोरङ कारागारमा थुनामा राख्न पठाइएको आन्तरिक राजश्व कार्यालय विराटनगरका कर अधिकृत भवानीप्रसाद दाहालले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

प्रमुख कर अधिकृत शाक्यले भ्याट छलिको कसुरमा पक्राउ परेका वियानीलाई अनुसन्धानका लागि आन्तरिक राजश्व विभागसँगको समन्वयमा स्वीकृति लिएर थुनामा पठाइएको बताए । 

कार्यालयले राजश्व छलीका यस्ता घटनामा अहिलेसम्म आरोपीहरू धरौटीमा छुट्दै आएकोमा यसपटक भने भ्याट छलीको कारोबार रकमको संवेदनशिलताका आधारमा थुनामा पठाइएको दाबी गरेको छ । 

तर थुनामा पठाउन दिइएको आदेश पत्रमा भने धरौटी वापत नगद वा जेथा जमानी बुझाउन नसकेपछि कार्यालयले मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २३(घ) बमोजिम अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा राख्न कारागार कार्यालय मोरङलाई पत्राचार गरिएको पाइएको छ ।

अनुसन्धानका क्रममा हार्डवेयर सञ्चालक वियानीले वस्तु विक्री नै नगरी नक्कली कारोबार गरेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । वियानीले भट्टाचोकमा रमेश आचार्यको घर भाडामा लिएर हार्डवेयर सञ्चालन गर्दै थिए ।

प्रमुख कर अधिकृत शाक्यले वियानीको फर्मबाट ठूलो मात्राका मिलेमतो गरेर कारोबार गर्ने र विल विजक तयार पार्ने अन्य व्यक्ति र फर्महरू माथिसमेत अनुसन्धान सुरु भइसकेको बताए ।

View : 1240

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved