Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मनमोहनले पहिलो पटक प्राविधिक स्नातक पढाउने

उद्‌घोष संवाददाता
१ पुष २०८२, मङ्गलवार

विराटनगर । नेपालको पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले एसईई उत्तीर्ण गरेर तीन वर्षे डिप्लोमा कोर्ष पूरा गरेका जुनियर सिभिल इन्जिनियर(जुई) हरुका लागि स्वीस सरकारसँगको साझेदारीमा प्राविधिक स्नातक (बीटेक) कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

नेपालमा सिभिल इन्जिनियरिङ क्षेत्रमा पहिलो पटक राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप तह–६ अनुरूपको प्राविधिक स्नातक (बीटेक) कार्यक्रम सञ्चालन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियू) ले स्वीस सरकारसँग औपचारिक सम्झौता पनि गरिसकेको छ ।

सोमवार मनमोहनका स्कुल अफ इन्जिनियरिङ संकायका डिन डा. रेखा श्रेष्ठ र स्विस कन्ट्रयाक्टका कन्ट्री डायरेक्टर सञ्जय कार्कीबीच विटेक कार्यक्रम सञ्चलान गर्न औपचारिक सम्झौता भएकाले चाँडै पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गराउने विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए । 

उपकुलपति पोखरेलका अनुसार नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणाली सुदृढ गर्ने उद्देश्यसहित मनमोहन प्राविधिक विश्वविद्यालय र स्वीस कन्टयाक्टकाबीच नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाअन्तर्गत साझेदारी गरिएको हो । 

विश्वविद्यालयका तर्फबाट डिन डा. रेखा श्रेष्ठ र स्वीस कन्ट्याक्टका तर्फबाट कन्ट्री डिरेक्टर सञ्जय कार्कीले हस्ताक्षर गरेका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालय र स्वीस कन्ट्रयाक्टसँग भएको ससम्झौता अनुसार एमटीयूले तीन वर्षे डिप्लोमा उत्तीर्ण गरेका जुनियर इन्जिनियरहरुका लागि दक्षतामा आधारित पाठ्यक्रम विकास गर्नेछ । 

जसमा कार्य–आधारित सिकाइ, उद्योगसँग सम्बन्धित मोड्युल, पेशागत तथा उद्योग परिषद्हरूसँगको परामर्श र नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रको आवश्यकता अनुरूपका दक्षताका मापदण्डहरु पाठ्यक्रममा  समेटिनेछन् । 

विश्वविद्यालयकी डिन डा.श्रेष्ठले देशका युवालाई आवश्यक उच्चस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न स्वीस कन्ट्रयाक्टसँगको  सहकार्य महत्पूर्ण हुने बताइन्  । 

स्वीस कन्ट्रयाक्टका कन्ट्री डायरेक्टर कार्कीले यस प्राविधिक विश्वविद्यालयसँगको सहकार्य नेपालमा सीप विकास क्षेत्रमा कोशेढुंगा सावित हुने बताए । 

हाल नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत प्रि–डिप्लोमा र डिप्लोमा तहका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । 

तर, एसईईपछि तीनवर्षे डिप्लोमा गरेका जुनियर इन्जिनियरहरुले त्यसभन्दा माथिल्लो तहको अध्ययनका लागि स्पष्ट मार्ग नहुँदा अल्मलमा पर्दै आएका छन् ।

View : 126

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved