विराटनगर । विराटनगर औद्योगिक क्षेत्रको अग्रणी उद्योग हिमगिरी हाइजिन प्रालिले आफ्नो उत्पादनको प्रवर्द्धन र प्रचार प्रसारका लागि महजोडीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । विराटनगरमा शनिबार महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यकै उपस्थितिमा आयोजित सम्झौता हस्ताक्षर तथा आदान प्रदान भएको हो ।
हिमगिरी हाइजिनका अध्यक्ष एवं उद्योगी महेश जाजु र महजोडीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ । यस अवसरमा हिमगिरी हाइजिनले हिमगिरी उत्सव समेत मनाइरहेको छ ।
कम्पनीका अध्यक्ष महेश जाजुले महजोडीले राम्रो कम्पनीहरूको मात्रै प्रवर्द्धनात्मक प्रचार–प्रसार भएका कारण हिमगिरीलाई विश्वास गरेर जोडिएको भन्दै खुसी व्यक्त गरे । उनले हिमगिरीबाट उत्पादित धोनी र एक्स्ट्रा लगायतका लुगा धुने साबुनले नेपाली बजारमा ५० प्रतिशत हिस्सा ओगटेको दाबी गरे ।
कलाकार मदनकृष्ण श्रेष्ठले पहिले पहिले कलाकारहरूले सामाजिक कामको मात्रै प्रचार गर्ने चलन रहेको स्मरण गर्दै त्यसलाई अब बदलेर नेपाली उद्योग व्यवसायको प्रवर्द्धनको काम गर्न थालेको बताए । उनले कलाकारहरूले स्वदेशी उत्पादनको प्रचार प्रसार गरिदिनु कर्तव्य पनि भएको बताए । आफूहरूले गुणस्तरीय वस्तुको मात्रै प्रचार गर्ने दाबी उनले गरे ।
कलाकार हरिवंश आचार्यले नेपालमा उद्योग नै नपुगेको बताए । उनले रोजगारी दिने उद्योगहरूको सङ्ख्या बढ्नुपर्नेमा राजनीतिको उद्योगमात्रै फस्टाएको र हरेकजसो परिवारमा श्रीमानहरू अरब पुगेका कारण सबै नेपाली अरबपति हुन लागेको भन्दै व्यंग गरेका थिए । आचार्यले देशमा रोजगारीको खाँचो रहेको बताए ।
आफूहरूले विराटनगरकै उद्योगी व्यवसायीहरु सम्वद्ध जेजे ज्वेलर्स, मार्बल पाइप र बाबा आयलमा समेत आवद्ध भएर प्रचार प्रसार गरेको सुनाउँदै पूर्वका उद्योगहरूको उत्पादन गुणस्तरमा विश्वसनीय हुने बताए ।
‘अभिताभ बच्चनले समेत स्वदेशी उत्पादनको विज्ञापन गरिदिन्छन्, हामीले पनि स्वदेशमा बनेका चिजको विज्ञापन गरिदिन्छौँ तर उत्पादनको गुणस्तरमा पनि त्यति नै ध्यान दिन्छौं’ उनले भने ।
हिमगिरी हाइजिनका सल्लाहकार बेनिगोपाल मुन्दडाले उद्योगीहरूको सोच अनुसार अझ प्रगति गर्दै जानका लागि शुभकामना दिएका थिए ।
हिमगिरी हाइजिनले १८ वर्षअघि हिमालयन सोप नामको रुग्ण उद्योगलाई खरिद गरेर हिमगिरी सोप एण्ड केमिकल प्रालिका रुपमा सञ्चालन गरेको र उक्त उद्योगले साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोपको लगायतका लोकप्रिय ब्राण्डहरु उत्पादन गर्दै आएको थियो । उक्त उद्योगबाट उत्पादित धोनी लगायतका विभिन्न ब्राण्डका साबुनहरु भारत र भुटानमा पनि निर्यात हुने गरेको जनाइएको छ ।
उक्त कम्पनीले आयात निरुत्साहन गरी उत्पादनमा आत्मानिर्भरता बढाउन कम्पनीको नाम समेत परिवर्तन गरी हाल हिमगिरी हाइजिन प्रालिका संचालनमा रहेको जनाइएको छ ।
हिमगिरीले कोभिड १९ को महामारीको समयमा सेनिटाइजर, माक्स, फेस सिल्ड, पिपिई, ह्याण्ड वास, डिसइन्फेक्टेड र अक्सिजन लगायतको उत्पादन सुरु गरेको थियो । कोभिडकै समयमा कम्पनीले ४२ लाख रुपैयाँ वरावरको मास्क निःशुल्क उपलब्ध गराएको दाबी गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक प्रकाश मुन्दडाले विदेशी उत्पादनभन्दा स्वदेशी उत्पादन नै किन्ने वातावरण बन्दै जानुपर्ने बताए । उनले विषम् अवस्थामा पनि हिमगिरी हाइजिनले रोजगारीको अवसर सिर्जना गरेको बताए । जसका कारण युवा पलायन रोकिन मद्दत पुगेको दाबी गरे ।
एक अर्ब लगानी थप्छौं
हिमगिरीका अध्यक्ष जाजुले विगतको अनुभवलाई समेत हेरेर स्याम्पू, ब्यूटीसोप, डिटरजेन्ट पाउडर लगायतका सामग्रीहरु उत्पादन गर्न कम्पनीले थप एक अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको बताए । उनले कम्पनीलाई अझ उत्पादनमा केन्द्रीत गर्दै लैजान र स्वदेशमै रोजगारी बढाउन लगानी थप्ने तयारी भइरहेको जानकारी दिए ।
‘हाम्रो लोकप्रिय धोनी र घरघरमा हिमगिरीको नारालाई सार्थक बनाउन वरिष्ठ कलाकार महजोडी मधनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई हिमगिरी हाइजिन ब्राण्डको राजदुत अनुबन्धित गरेका छौं’ जाजुले भने, ‘देशलाई आत्मनिर्भर बनाउन अरु १ अर्बभन्दा बढी लगानी थप्दै अरु हजारौंलाई रोजगारी सृजना गर्ने लक्ष्य लिएका छौं ।’
हिमगिरी हाइजिनले आफ्ना चार सयभन्दा बढी वितरकमार्फत धोनी र एक्स्ट्रा साबुन नेपाली उपभोक्तालाई सेवा पुर्याउँदै आएको उनले बताए ।
View : 178
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved