Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

नेकपा (संयुक्त) र नेकपा (वामपन्थी केन्द्र) बीच औपचारिक एकता

एकताको आधारपत्रमा नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष धनश्याम भुसाल र नेकपा (वामपन्थी केन्द्र) का संयोजक राजकुमार कक्षपतिले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
उद्‌घोष संवाददाता
२९ पुष २०८२, मङ्गलवार

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) र नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र) बीच एकता प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ । मंगलबार नेकपा (संयुक्त) को केन्द्रीय कार्यालय, मैतीदेवीमा आयोजित कार्यक्रममा दुवै पार्टीबीच एकताको आधारपत्रमा हस्ताक्षर गरिएको हो ।

एकताको आधारपत्रमा नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष धनश्याम भुसाल र नेकपा (वामपन्थी केन्द्र) का संयोजक राजकुमार कक्षपतिले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

एकता प्रक्रियामा सहभागी नेताहरू तथा कार्यकर्ताहरूले यसलाई वामपन्थी आन्दोलनको पुनर्संरचनातर्फको महत्त्वपूर्ण कदमका रूपमा लिएका छन् ।

एकताका आधारहरूमा मार्क्सवाद–लेनिनवाद, मानव जातिले प्राप्त गरेका स्वतन्त्रता र मुक्ति मूल्यहरूको मार्गदर्शनमा वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।

आधारपत्रमा विश्व साम्राज्यवाद र वित्तीय पुँजीवादले सिर्जना गरेका असमानता, शोषण, दमन, युद्ध, गरिबी र विभेदविरुद्ध संघर्ष गर्ने उल्लेख छ। साथै राष्ट्रिय स्वाधीनता, समानता, शान्ति र समाजवादको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

एकीकृत पार्टीले दलाल पुँजीवादको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र समाजवादको आधार तयार गर्ने कार्यभारलाई प्राथमिकतामा राखेको जनाएको छ। आगामी राष्ट्रिय सम्मेलनमार्फत समाजवादको ठोस कार्यभार तय गर्दै संगठन विस्तार गरिने पनि आधारपत्रमा उल्लेख छ ।

पार्टी संगठन सञ्चालनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व, पारदर्शिता र आर्थिक शुद्धतामा जोड दिइने जनाइएको छ। फौजदारी मुद्दा लागेको व्यक्तिको सदस्यता स्वतः निलम्बन हुने व्यवस्था गरिएको छ भने सबै निर्णय प्रक्रियामा प्रत्यक्ष लोकतान्त्रिक अभ्यास अपनाइने उल्लेख छ ।

नवगठित पार्टीका मधेश प्रदेश प्रमुख, दस्तावेज लेखन कमिटी सदस्य एवम् केन्द्रीय सचिवालय सदस्य हरि काफ्लेका अनुसार एकताको आधारपत्रमा सहभागी तथा हस्ताक्षरकर्ताको रूपमा विभिन्न जिल्लाका नेताहरूको नाम समावेश गरिएको छ ।

उनीहरूले एकीकृत पार्टीलाई वैकल्पिक वामपन्थी शक्तिको रूपमा निर्माण गर्दै जनतासँग जोडिने अभियान तीव्र पार्ने बताएका छन् ।

View : 206

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved