रास्वपा महाधिवेशन :
रौतहट । प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका प्रधानमन्त्री शाह सोमबार परिवार सहित तालिम केन्द्र पुगेका हुन् ।
पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ ।
हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाहले केन्द्रको स्थलगत वस्तुस्थितिबारे चासोपूर्वक जानकारी लिएका थिए ।
निरीक्षणका क्रममा उनले केन्द्रको व्यवस्थापन, हात्तीहरूको स्वास्थ्य अवस्था र सुत्केरी तथा बच्चा हात्ती (छावा) हरूको स्याहार–सुसार कसरी भइरहेको छ भन्नेबारे प्रत्यक्ष अवलोकन गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा सञ्चालन भइरहेको छ ।
महाधिवेशनमा भाग लिन देशभरका नेता तथा कार्यकर्ताहरू चितवनमा केन्द्रित भएका छन् ।
सोही क्रममा चितवन आएका प्रधानमन्त्री शाहले महाधिवेशनका महत्त्वपूर्ण राजनीतिक सत्रहरूका बीच समय निकालेर वन्यजन्तु संरक्षणको क्षेत्रमा चासो देखाउँदै खोरसोर पुग्नुलाई स्थानीय पर्यटन व्यवसायी र संरक्षणकर्मीहरूले उत्साहजनक रूपमा लिएका छन् ।
प्रधानमन्त्रीको यस निरीक्षणले चितवनको पर्या–पर्यटन प्रवर्धन र दुर्लभ वन्यजन्तुको संरक्षणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल न्यूज बैंक
View : 50
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved