Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

मेयर गुरागाई‌द्वारा मुक्तकण्ठले प्रशंसा

विराटचोकमा आधा दर्जन लघु चलचित्रको भव्य प्रदर्शन

प्रदर्शित चलचित्रहरू 'लक्ष्मी', 'लाटी', 'छप्की', 'प्रभात', 'आँगन' र 'बेङटा' ले समाजमा विद्यमान कुरूपता, सामाजिक मुद्दा र जनचेतनाका विषयलाई सशक्त ढङ्गले उठान गरेका छन्।
उद्‌घोष संवाददाता
१७ माघ २०८२, शनिवार

विराटचोक (उस) यात्री फिल्मस्ले निर्माण गरेका आधा दर्जन जनचेतनामूलक बहुभाषिक लघु चलचित्रहरूको शनिबार सुन्दरहरैँचाको विराटचोकस्थित सिनेमा हलमा भव्य प्रदर्शन सम्पन्न भएको छ। सुन्दरहरैँचा नगरपालिकाको सहकार्यमा आयोजित उक्त प्रदर्शनमा नगर प्रमुख केदारप्रसाद गुरागाईँलगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति  थियो।

सामाजिक मुद्दामा केन्द्रित सिर्जना

प्रदर्शित चलचित्रहरू 'लक्ष्मी', 'लाटी', 'छप्की', 'प्रभात', 'आँगन' र 'बेङटा' ले समाजमा विद्यमान कुरूपता, सामाजिक मुद्दा र जनचेतनाका विषयलाई सशक्त ढङ्गले उठान गरेका छन्।

चलचित्र हेरेपछि नगर प्रमुख गुरागाईँले यी सिर्जनाहरूले समाज परिवर्तनमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै मुक्तकण्ठले प्रशंसा गर्नुभयो। उहाँले लेखक एवं निर्देशक इन्द्रबहादुर परियारसहित सम्पूर्ण प्राविधिक र कलाकार टोलीको मेहनतको उच्च कदर गर्नुभयो।

वरिष्ठ कलाकारको सम्मान र स्थानीय कला

विगत पाँच दशकदेखि कला क्षेत्रमा समर्पित वरिष्ठ लेखक तथा निर्देशक इन्द्रबहादुर परियारको लेखन र निर्देशनमा तयार भएका यी चलचित्रहरूको प्रदर्शनका क्रममा गायन क्षेत्रका स्थापित व्यक्तित्व त्रिविक्रम कोइरालालाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा समाजसेवी देवेन्द्र काफ्लेले यस्ता लघु चलचित्रले स्थानीय कला र प्रतिभालाई विश्वस्तरमा चिनाउन सहयोग पुग्ने धारणा राख्नुभयो। समारोहमा उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की र सामाजिक विकास शाखा प्रमुख गुणनिधि दाहालको पनि उपस्थिति थियो।

कलासँगै सामाजिक उत्तरदायित्व

चलचित्र प्रदर्शनसँगै यात्री फिल्मस्ले सामाजिक उत्तरदायित्व समेत निर्वाह गरेको छ। कार्यक्रमको अवसरमा सुकुना माध्यमिक विद्यालयका बहिरा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। कलाकारितालाई सामाजिक सेवासँग जोड्ने यस प्रयासको सहभागीहरूले उच्च सराहना गरेका थिए।

प्राविधिक र कलाकार टोली

यात्री फिल्मस्को ब्यानरमा निर्मित यी चलचित्रहरूमा निरज तिम्सिनाको छायाङ्कन र सम्पादन तथा सुरज तामाङको फोटोग्राफी रहेको छ।

चलचित्रहरूमा लक्ष्मणपुण्य लामिछाने, राजेन्द्र भगत, संगीता यादव, दीपा पोखरेल, स्व. मुकुन्द खतिवडा, स्व. सरु राजवंशी, विनय दाहाल, गंगा कुँबर, पुरनलाल गिरी, दशरथ साह तथा बालकलाकारहरू समीक्षा रसाइली, देविना पाँचकोटी, प्रनिश मोते र प्रिशेस चौधरीको अभिनय रहेको छ। सर्वसाधारणका लागि चलचित्र प्रदर्शन निःशुल्क गरिएको थियो।

View : 469

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved