Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

जापानमा ग्लोबल मिडिया सम्मेलन

प्रवासमा नेपाली बालबालिकाको भाषा समस्या

उद्‌घोष संवाददाता
२० साउन २०८३, बुधवार

ग्लोवन मिडिया सम्मेलनका सहभागी । तस्वीर : उद्घोष

Advertisement

विराटनगर । प्रवासमा हुर्किरहेका नेपाली बालबालिकामा नेपाली भाषा, संस्कृति र संस्कार संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । यसको संरक्षणका लागि संगठित प्रयास आवश्यक रहेको औंल्याइएको छ ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वर्षगाठको अवसरमा टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान–२०२६’ मा सहभागी पत्रकारहरूले प्रवासमा नेपाली भाषा संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । 

अभिभावकको ब्यस्त जीवन र त्यहाँ हुर्कदै गरेका बालबालिकाले त्यही देशको भाषा संस्कारमा रमाउने भएकाले कतिपय देशमा यो चुनौती बन्दै गएको बताइएको छ ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाकी अध्यक्ष बिमला सेनेले नेपाली समुदायले विभिन्न देशमा सांस्कृतिक कार्यक्रम र प्रतियोगितामार्फत बालबालिकालाई नेपाली भाषा र संस्कारसँग जोड्ने प्रयास गरिरहेको जानकारी दिइन् । 

बढी नेपाली समुदायको बसोबास भएका देशमा यसखाले नेपालीपनका गतिबिधि हुने गरेको बताइन् ।

नेपाल पत्रकार महासंघको समन्वय तथा जापान शाखाको आयोजनामा सम्पन्न सम्मेलनले ‘टोकियो घोषणा–२०२६’ जारी गर्दै प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, कृत्रिम बुद्धिमत्ता (एआई) को व्यवस्थापन, वैदेशिक शाखाको संस्थागत अधिकार तथा प्रवासमा आर्जित ज्ञान र सीप नेपालमा हस्तान्तरण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

घोषणापत्रमार्फत संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, डिजिटल सदस्यता प्रणाली विकास, वैदेशिक शाखाका सदस्यलाई ‘चुन्ने र चुनिने’ अधिकार सुनिश्चित गर्ने तथा ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरिएको छ ।

सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले देशमा बदलिदो परिस्थितिका कारण पत्रकारितामा आएको समस्यामा विदेशका पत्रकारले पनि आवाज उठाउँदै आएको बताइन् । 

जापान शाखाका अध्यक्ष रबिन्द्र श्रेष्ठ गोर्खालीले नेपालमा बिरामी भएका पत्रकारको उपचारमा वैदेशिक शाखाहरुले सहयोग गर्दै आएको जानकारी दिदै पत्रकारिता पुरस्कारमार्फत नेपाली सञ्चारकर्मीलाई सहयोग गरिने बताए ।

सम्मेलनमा प्रवासमा रहेर नेपाली भाषामा पत्रकारिता गर्नु पर्दाका चुनौती र प्रवासका नेपालीलाई दिने सही सूचनाका बारेमा बृहत छलफल गरियो । भर्खरै नयाँ देश पुगेका नेपालीलाई त्यहाँको नेपाली पत्रकारिताले सही सूचना दिएर जीवन यापनमा सहज बनाउँदै आएको बताइयो ।

View : 26

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved