विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराट एक्स्पो २०२५ एक दिन पछि सारिएको छ ।
माघ ११ देखि सुरु हुने भनिएको एक्स्पोलाई भोलिपल्ट अर्थात १२ गते उद्घाटन हुने जनाइएको छ । एक्स्पोको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका छन् ।
विराटनगरस्थित डिग्री क्याम्पसको प्राङ्गणमा हुन लागेको आठौं संस्करणको विराट एक्स्पो माघ २० गतेसम्म हुने जनाइएको छ ।
एक्स्पोलाई पूर्ण डिजिटल तथा अन्तर्राष्ट्रियस्तरको स्वरुपमा आयोजना गर्ने तयारीका लागि आवश्यक प्राविधिक तयारी र व्यवस्थापन अझ बलियो बनाउन एक्स्पोको उद्घाटन एकदिन पछि सार्नुपरेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।
एक्स्पोले युवा उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित हुने जनाइएको छ । साथै डिजिटल प्रविधिलाई प्राथमिकतामा राखिएको छ ।
उद्यम तथा व्यवसायका लागि ‘सेन्टर फर एक्सेलेन्स’, रोजगारका लागि ‘रोजगार कोशी पेभिलियन’, डिजिटल प्रविधिको सोकेश, प्रत्यक्ष प्राविधिक तालिम तथा करिअर काउन्सेलिङ, आइडियालाई उद्यमशीलतामा रुपान्तरण गर्न स्टार्टअप हाकाथन लगायतको व्यवस्था गरिएको जनाइएको छ ।
एक्स्पोमा दैनिक थिमेटिक कन्फेरेन्स, प्रविधि र फेशनलाई झल्काउने थिमेटिक फेशन शो, विद्यार्थीहरूका लागि दैनिक उद्यमशीलता माइन्डसेट सम्बन्धी प्रशिक्षण कार्यशाला समेत राखिएको संगठनका अध्यक्ष राकेश सुरानाले जनाएका छन् ।
View : 502
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved