कोशीमा प्रदेश अधिवेशनको तयारी
विराटनगर । कांग्रेसकै नाममा देउवा पक्षधरको गतिविधि बढ्दै गएपछि सभापति गगन थापाले कारवाहीको चेतावनी दिए पनि नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले कोशी प्रदेश अधिवेशनको तयारीलाई तीब्र पारेको छ ।
नियमित महाधिवेशन पक्षधरले शनिबार कोशीको प्रदेश अधिवेशनको तयारी पूरा भइसकेको पत्रकार सम्मेलन गरेर जनाएको छ ।
सभापति थापाले कारवाहीको चेतावनी दिइसकेको अवस्थामा प्रदेश अधिवेशनकै तयारी भइसकेको र उद्घाटनका लागि शेरबहादुर देउवालाई बोलाइएको कोशी प्रदेश अधिवेशन तयारी समितिका संयोजक एवं कांग्रेसको वर्तमान कोशी प्रदेश महामन्त्री भुपेन्द्र राईले बताए ।
उनले सभापति गगन थापाप्रति कटाक्ष गर्दै आफूहरूले कांग्रेस नछाडेको र सक्ने भए कारवाही गरेर देखाउन चुनौती दिए ।
आफूहरू कांग्रेसको निर्वाचन चिन्ह रुख र चारतारे झण्डामुनि बसेर निर्वाचित भएको दाबी गर्दै निर्वाचनमा हारेकाहरूले कारवाहीको कुरा गर्न नसुहाउने बताए ।
‘उहाँ (गगन) को कुरामा स्पष्ट नै छ, हामी रुखबाट निर्वाचित भएर आएका जनप्रतिनिधि छौं, हामीलाई हारेकाहरूले हटाउने भन्ने त हुँदैहुँदैन नि’ राईले भने, ‘कांग्रेस पार्टी छोड्ने भन्ने पनि हुँदैन, कसैले छाडेको पनि छैन, हिजो त को को छोड्न तयार थिए भन्ने थाहा भइसकेकै छ नि ।’ उनले आफूहरू नै असली कांग्रेस भएको जिकिर गरे ।
नियमित महाधिवेशन पक्षधरले मंसिर १७ र १८ गते विराटनगरको होटल मनास्लु इनमा अधिवेशन गर्ने तयारी गरेको छ । त्यसको तयारीका लागि विभिन्न उपसमिति बनेको र ती उपसमितिहरूले आफ्नो काम पनि गरिरहेको राईले जानकारी दिए ।
प्रदेश अधिवेशनमा करीव दुई हजार पाँचसय जना प्रतिनिधि सहभागी हुने र देउवासहितका नेताहरूले उपस्थिति हुने जनाइएको छ ।
View : 27
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved