विराटनगर । कर्णालीको सुर्खेतमा जारी १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका ८ जना विद्यार्थी खेलाडीले सहभागिता जनाएका छन् ।
कर्णाली प्रदेशमा मंसिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगितामा ३२ विधाका खेलहरु समावेश हुनेछन् ।
ती मध्ये लनटेनिस बाहेकका ३१ विधामा कोशी प्रदेशले सहभागिता जनाएको कोशी प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ । जसमध्ये दुई वटा विधामा मात्रै एभरेष्टका ८ खेलाडी कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी भएका हुन् ।
कोशी प्रदेशबाट सहभागी हुनुपर्ने पौडीमा १२ जना मध्ये ६ जना एभरेष्ट स्कुलका विद्यार्थी खेलाडी छन् । पौडीमा राष्ट्रिय प्रतियोगितामा छनोट भएका खेलाडीहरुमा कक्षा ७ का काब्या कार्की र पुरव तिम्सिना छन् ।
यस्तै कक्षा ६ की आश्ना कटुवाल, कक्षा ९ का रेहान अन्सारी, कक्षा १० का धावा साङ्गे तामाङ र बीआईटीका सम्राट पाठक छन् । यस्तै कोशी प्रदेशका १० खेलाडीको प्रतिनिधित्व गर्दै एभरेष्टबाट कक्षा १२ का प्रणिता गिरी र सुशान्त मेहताले सहभागिता जनाएका छन् ।
प्राचार्य टिकाराम पुरीले आफ्ना ८ जना विद्यार्थी राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै छनोट भएकोमा गौरव महसुस भएको बताए ।
१०औं राष्ट्रिय खेलकुदमा विभिन्न ३२ वटा विधाका खेलकुद प्रतियोगिता भइरहेका छन् । जहाँ कोशी प्रदेशबाट ७७५ जना खेलाडीको सहभागिता रहने छ ।
राष्ट्रिय प्रतियोगितामा सात प्रदेश, तीनवटा विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् ।
View : 6
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved