Biratnagar, Morang, Nepal
१३ मंसिर २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट एक्स्पो तयारी

लगानी र व्यापारका अवसर जोड्न तीनदिने ‘बिजनेस समिट’

उद्‌घोष संवाददाता
१३ मंसिर २०८३, आइतवार

विराटनगर । उद्योग संगठन मोरङले पुस २ देखि ११ गतेसम्म सञ्चालन गर्ने नवौं विराट एक्स्पोमा उद्योग र उत्पादनको प्रदर्शनीसँगै लगानी, बजार र व्यावसायिक साझेदारीका अवसर खोज्न तीनदिने ‘बिराट बिजनेस समिट’ आयोजना गर्ने तयारी गरिएको छ ।

डिग्री क्याम्पस परिसरमा सञ्चालन हुने एक्स्पोमा सञ्चालन हुने समिटले देशभरका जिल्ला तथा नगरमा छरिएर रहेका आर्थिक सम्भावनालाई लगानीकर्ता, उत्पादक, खरिदकर्ता र व्यावसायिक साझेदारसँग जोड्ने लक्ष्य राखेको छ ।

एक्स्पोमा पुस ५ देखि ७ गतेसम्म हुने उक्त समिटमा जिल्लागत तथा क्षेत्रगत औद्योगिक सम्भावना, लगानीयोग्य परियोजना, स्थानीय उत्पादनको बजार विस्तार र अन्तरप्रदेशीय व्यापारका अवसरबारे छलफल हुनेछ । 
यसमा देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, क्षेत्रगत उद्योग संघ, उद्योगी, व्यवसायी, लगानीकर्ता, वित्तीय संस्था, उत्पादक, खरिदकर्ता तथा वितरकलाई सहभागी गराउने आयोजकले तयारी गरेको छ ।

समिटको उद्देश्य विभिन्न जिल्लामा उपलब्ध आर्थिक स्रोत, उत्पादन क्षमता र व्यावसायिक सम्भावनाको पहिचान गरी तिनलाई लगानीयोग्य परियोजनामा रूपान्तरण गर्नु हो । 

स्थानीय उत्पादन तथा सेवाको बजार पहुँच विस्तार, जिल्लाबीच व्यापारिक सम्बन्धमा विकास र सम्भावित लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने माध्यमका रूपमा समिटलाई अघि सारिएको  उद्योग संगठनका अध्यक्ष नन्दकिशोर राठीले वताए ।

समिटका तीन दिनलाई फरक–फरक विषयमा केन्द्रित गरिएको छ । पहिलो दिन ‘इन्भेस्ट एन्ड बिल्ड’ अर्थात् लगानी र निर्माणको अवधारणामा छलफल हुने छ । त्यस दिन उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, औद्योगिक पूर्वाधार, ऊर्जा, लजिस्टिक्स तथा संयुक्त लगानीका सम्भावनाबारे सोधखोज गरिने छ ।

दोस्रो दिन ‘कनेक्ट एन्ड एक्सपान्ड’ अर्थात् बजारसँग जोडिने र विस्तार गर्ने विषयमा केन्द्रित हुनेछ । 

निर्यात प्रवद्र्धन, खरिदकर्ता र आपूर्तिकर्ताबीच सम्पर्क, वितरण प्रणाली, पर्यटन, लजिस्टिक्स तथा अन्तरप्रदेशीय व्यापार विस्तारका सम्भावनाबारे सामुहिक छलफल गरिने छ । 

त्यसदिन व्यावसायिक साझेदारबीच प्रत्यक्ष सम्पर्क र व्यापारिक सञ्जाल विस्तारलाई प्राथमिकता दिइनेछ ।

तेस्रो दिन ‘इन्फ्लुएन्स एन्ड ग्रो’ अर्थात् नीतिगत प्रभाव र उद्यम विकासका विषयमा छलफल हुने छ । 

त्यसमा औद्योगिक वातावरण, नीतिगत सुधार, डिजिटल रूपान्तरण, स्टार्टअप, सीप विकास, हरित उद्योग र दिगो उद्यमशीलताका विषय समेटिने छन् ।

अवसर देखाउने ‘अपच्र्युनिटी वाल’

समिटको महत्वपूर्ण पक्ष लगानी र उत्पादकले आफनो अवसर देखाउने ‘अपच्र्युनिटी वाल’ को व्यवस्था गरिने छ । यसमा मुलुकका विभिन्न जिल्ला, नगर तथा क्षेत्रगत संस्थाले आफ्ना लगानीका अवसर, प्रमुख उत्पादन, व्यावसायिक प्रस्ताव र बजारको सम्भावनाका वारेमा प्रस्तुत गर्न पाउने छन् ।

अपच्र्युनिटी वालमा लगानी र व्यापारका अवसरलाई दुई भागमा वर्गीकरण गरिने छ । पहिलो ‘अपच्र्युनिटी अफर’ अन्तर्गत लगानी परियोजना, उत्पादन, कृषि, पर्यटन, पूर्वाधार, कच्चा पदार्थ, आपूर्ति तथा संयुक्त लगानीका प्रस्ताव राखिने छन् । दोस्रो ‘अपच्र्युनिटी निड्स’ अन्तर्गत खरिदकर्ता, बजार, आपूर्तिकर्ता, वित्त, प्रविधि, वितरण प्रणाली, सेवा र दक्ष जनशक्तिको आवश्यकता प्रस्तुत गरिने छ ।

यो कार्यक्रमले कुनै जिल्लामा उत्पादन भइरहेको वस्तुको बजार कहाँ छ, कुन उद्योगलाई लगानीकर्ता चाहिएको छ, कसलाई कच्चा पदार्थ वा प्रविधिको आवश्यकता छ र कुन व्यवसायलाई नयाँ खरिदकर्ता चाहिएको छ भन्ने जानकारी एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

आयोजकले प्रत्येक संस्थाका प्रस्तावलाई एकरूप ढाँचामा अपच्र्युनिटी कार्डमार्फत प्रदर्शन गर्ने तयारी गरेको छ । सम्बन्धित संस्थाको सम्पर्क विवरण र क्यूआर कोडसमेत राखिने भएकाले इच्छुक लगानीकर्ता तथा व्यवसायीले सिधै सम्बन्धित पक्षसँग सम्पर्क गर्न सक्ने छन् भने समिट सकिएपछि पनि व्यावसायिक संवाद र साझेदारीलाई निरन्तरता दिन सहज हुने अपेक्षा गरिएको छ ।

देशभरका उद्योग वाणिज्य संघलाई अवसर

समिटमा नेपालभरिका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र क्षेत्रगत उद्योग संघलाई आफ्नो क्षेत्रको आर्थिक तथा औद्योगिक सम्भावना प्रस्तुत गर्ने अवसर दिइने छ । उनीहरूले १५ मिनेटको औपचारिक प्रस्तुतीकरण वा अपच्र्युनिटी वालमा सहभागिता जनाउन पाउने छन् ।

औपचारिक प्रस्तुतीकरणमा सम्बन्धित क्षेत्रका प्रमुख उत्पादन, औद्योगिक क्षमता, लगानीका अवसर, बजार विस्तार, उपलब्ध स्रोत साधन तथा सम्भावित व्यावसायिक साझेदारीका प्रस्ताव समेटिने छ । 

अपच्र्युनिटी वालमा सहभागी हुन चाहने संस्थाले आफ्नो नाम, जिल्ला वा नगर, आर्थिक गतिविधि, प्रमुख उत्पादन तथा सेवा, लगानीका अवसर, आवश्यक साझेदार, प्रविधि, बजार र सम्पर्क विवरणसहितको प्रस्ताव आयोजकले उपलब्ध गराएको ढाँचामा पठाउनु पर्ने छ । उत्पादन तथा परियोजनासँग सम्बन्धित तस्बिर र संस्थाको लोगोसमेत समावेश गर्न सकिने छ ।

संगठनका अनुसार समिटको उद्देश्य औपचारिक छलफल र प्रस्तुतीकरणमा मात्र सीमित रहने छैन । विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र उत्पादकबीच प्रत्यक्ष सम्बन्ध स्थापना गरी सम्भावित लगानी, बजार विस्तार र व्यापारिक साझेदारीलाई व्यवहारमा रूपान्तरण गर्ने प्रयास गरिने छ ।

यसपालीको बिराट एक्स्पोमा उत्पादनको प्रदर्शनी र बिक्रीसँगै देशका विभिन्न भूगोलमा रहेका लगानी तथा व्यापारका सम्भावनालाई एउटै मञ्चमा ल्याउने नयाँ प्रयासका रूपमा बिजनेस समिटलाई अघि सारिएको अध्यक्ष राठीको भनाइ छ ।

View : 9

१३ मंसिर २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved