स्मृति आचार्य बनिन् उत्कृष्ट
विराटनगर । पछिल्लो समय विश्वव्यापी चर्चाको विषय बनेको ‘कृत्रिम बुद्धिमत्ता’ ‘एआई’ का विषयमा विराटनगरस्थित प्रतिष्ठित अरनिको कलेजमा वैचारिक मन्थन भएको छ । कलेजद्वारा आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा स्मृति आचार्यले प्रथम स्थान हासिल गरेकी छन् ।
‘कृत्रिम बुद्धिमत्ता ‘एआई’ मानव नियन्त्रणमा रहन्छ कि मानवलाई नियन्त्रण गर्छ ?’ भन्ने समसामयिक एवं पेचिलो विषयमा भएको प्रतिस्पर्धामा डेढ दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै स्मृतिले बाजी मारेकी हुन् ।
विपक्षमा उभिएर आफ्ना तार्किक विचार राखेकी स्मृतिले एआईको शक्ति र मानवीय विवेकको सन्तुलनका बारेमा निर्णायकहरूको मन जितिन् ।
प्रतियोगितामा समीक्षा पौडेल द्वितीय, विञ्जु थापा तृतीय, मनोस साह चौथौ (सान्त्वना) भएका भए ।
विद्यार्थीहरूको तार्किक क्षमताको परीक्षणका लागि निर्णायक मण्डलमा उद्घोष दैनिकका प्रवन्ध सम्पादक विजय खतिवडा र कवि एवं वरिष्ठ पत्रकार मीनकुमार नवोदित रहेका थिए ।
पुरस्कार वितरण समारोहमा बोल्दै निर्णायक खतिवडाले भने, वक्तृत्वकलाले विद्यार्थीकोआत्मविश्वास र बोल्ने कलामा निखार ल्याई व्यवहारिक जीवनलाई सरल बनाउन सकिने बताए । अर्का निर्णायक नवोदितले अरनिको कलेजले विद्यार्थीको रुचिअनुसारको मञ्च प्रदान गरेकोमा प्रशंसा गर्दै व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिए ।
अतिरिक्त क्रियाकलापमा अरनिकोको अब्बलता
कलेजका सञ्चालक भरतराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राचार्य राजेश कार्कीले अरनिको कलेजले प्राज्ञिक क्षेत्रका साथै अतिरिक्त क्रियाकलापमा पनि सधैं जोड दिंदै आएको दाबी गरे ।
कलेजका अतिरिक्त क्रियाकलाप संयोजक विमल भट्टराईका अनुसार कलेजले नियमित रूपमा कविता, वक्तृत्वकला, हाजिरीजवाफ, चित्रकला र गायन जस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । विजयी विद्यार्थीहरूलाई कलेजका पदाधिकारीहरूले ट्रफी, प्रमाणपत्र, अविर र खादा लगाएर सम्मान गरेका थिए ।
View : 377
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved