Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशी प्रदेशको बार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरू

उद्घोष सम्वाददाता
२३ जेठ २०८१, बुधवार

विराटनगर । कोशी प्रदेशसभामा सोमबार प्रस्तुत गरिएको आर्थिक बर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरू भएको छ । मंगलबार विहान ११ बजेदेखि बसेको प्रदेश सभाको पाँचौं बैठकमा १४ जना प्रदेश सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका छन् ।

सत्ता पक्षका सांसदहरूले नीति तथा कार्यक्रमको विषयगत छलफलमा भन्दा समर्थनमा बोल्नलाई बढी समय खर्चिए । नीति तथा कार्यक्रममा नेकपा एमालेका तर्फबाट तिलकुमार मेन्याङ्बो, रेवतिरमण भण्डारी, उमाकान्त गौतम, खड्गबहादुर बस्नेत, मीना श्रेष्ठ, गीतादेवी रेग्मी, किशोरचन्द्र दुलाल र होमबहादुर थापा, नेकपा माओवादी केन्द्रका सांसदहरू जीवन आचार्य, गोम्बू शेर्पा र राजन किराँतीले धारणा राखेका छन् ।

प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमराज थाम्सुहाङ र नीमसरी राजवंशीले नीति तथा कार्यक्रमलाई अझ राम्रो बनाउन सकिने सुझाव दिए । नेकपा एकीकृत समाजवादीकी विद्या चाम्लिङ राईले पहुँच पुग्नेको क्षेत्रमा मात्रै बजेट पुग्ने गरी नीति तथा कार्यक्रममा पनि केन्द्रित हुन नहुने सुझाव दिइन् । 

छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट सांसद लखीकुमारी गणेशले बोलिन् । उनले नीति तथा कार्यक्रममा धेरै कुरा समेटिएको र प्रदेशको पाँच बर्षको बजेटले समेत नपुग्ने गरी लक्ष्यहरू निर्धारण गरिएको टिप्पणी गरिन् । 

प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको तर्फबाट तयार भएको बार्षिक नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा पेश गरेका थिए ।

सभामुख अम्बरबहादुर बिष्टले नीति तथा कार्यक्रममाथिको छलफल बुधबारसम्म जारी रहने प्रदेश सभालाई जानकारी दिएका छन् । 

नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्नका लागि उनले बुधबार अपरान्ह १ बजेसम्मको समय दिएका छन् । नीति तथा कार्यक्रममाथि बुधबार अपरान्ह २ बजे तोकिएको प्रदेश सभा बैठकमा थप छलफल हुने जनाइएको छ ।

View : 249

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved