Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

राधाकृष्ण रथयात्रा आज, यसपटक गुड्दैछ ठूलो र नयाँ रथ

पहिलोपटक राधाकृष्ण रथयात्रा  विक्रम संवत् १९८८ मा सुरु भएको थियो ।  विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा प्रारम्भमा खटयात्राको स्वरुपमा निस्कने गरेको थियो । त्यसलाई २०२२ सालदेखि बयलगाडामा निकाल्न थालिएको थियो ।
उद्‌घोष संवाददाता
१ भदौ २०८२, आइतवार

विराटनगर । विराटनगरको सांस्कृतिक पहिचान बनिसकेको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५८ औं संस्करण आइतबार आयोजना हुँदैछ । हजारौं श्रद्धालुको लर्कोका बीच यसपटक विराटनगरका सडकमा नयाँ र ठूलो रथ गुड्दैछ ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको राधाकृष्ण रथयात्रामा मोरङ, सुनसरीका मात्रै नभई सीमावर्ती भारतीय राज्य बिहारबाट पनि हजारौं श्रद्धालु सहभागी हुने गरेका छन् । 

रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको मूल समारोह समितिले जानकारी दिएको छ । 

‘रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको छ’, रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले भने ‘हामी समस्त श्रद्धालुहरुलाई सहभागिताका लागि आह्वान गर्दछौं ।’

विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानका रुपमा स्थापित रहेको रथयात्रामा दशौं हजार श्रद्धालु सहभागी बन्दै आएका छन् ।

विराटनगरमा पहिलोपटक राधाकृष्ण रथयात्रा  विक्रम संवत् १९८८ मा सुरु भएको थियो । 

विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा प्रारम्भमा खटयात्राको स्वरुपमा निस्कने गरेको थियो । त्यसलाई २०२२ सालदेखि बयलगाडामा निकाल्न थालिएको थियो । 

२०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि रथयात्राको सुरुवात भएको थियो । कोभिडकालमा भने रथयात्रा निकालिएको थिएन ।

व्यवस्थापन समितिका अनुसार आइतबार निस्कने रथयात्रा सधैंझैं राधाकृष्ण मन्दिरबाट सुरु हुनेछ । दिउँसो ३ बजेबाट सुरु हुने रथले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ । 

राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा  त्यसपछि तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक हुँदै बरगाछी पुगेर  पुनः मन्दिरतिर रथयात्रा अघि बढ्ने छ । रथयात्राले ९ किलोमिटर यात्रा तय गर्नेछ ।

शहर परिक्रमाका क्रममा ४३ स्थानमा रथयात्राले विश्राम लिने अध्यक्ष रेग्मीले जानकारी दिए ।

विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलिमा निर्माण गरिएको छ । यसपटक सबैले देख्नेगरी रथ निर्माण गरिएको छ । यसपटक पहिलेको भन्दा रथको उचाइ, चौडाइ र लम्बाइ बढाइएको छ । 

सबैतिर  काठ प्रयोग गरी विभिन्न भगवानका आकृतिलगायतका धार्मिक आस्था जनाउने बुट्टाहरू कुँदिएको छ । पेगोडा शैलिको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ ।

रथको डोरी छुँदा मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास छ । यो रथयात्रामा सबै जातजाति र भाषाभाषीको सहभागिता रहन्छ । मनोकामना पूरा हुने विश्वासमा रथको डोरी तान्न तँछाडमछाड चल्ने गर्छ । रथयात्रा सुरु हुनुअघि करिब एक किलोमिटरसम्म विभिन्न किसिमका झाँकी, जातजातिका नृत्य, भजन मण्डलीलगायत रहने छन् ।

रथयात्रामा स्वदेश तथा विदेश अर्थात् छिमेकी मुलुक भारतबाट लाखौं भक्तजनहरु आउने हुँदा सुरक्षा संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सबै सुरक्षा निकायले सक्रियताका साथ आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने छन् ।’

उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका साथै नेपाली सेनाबाट रथयात्रा सुरक्षाको प्रबन्ध मिलाइएको छ । 

रथयात्राका दिन स्थानीयबासीले रथयात्रा चल्ने रुटमा हरेक वर्ष चिसो पेय पदार्थ, खानेपानी तथा मिष्ठान्नहरु निःशुल्क वितरण गर्ने गरेका छन् ।

View : 627

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved