Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

उच्च अदालतद्वारा ६० र मोरङ अदालतद्वारा ७० प्रतिशत मुद्दा फर्छ्यौट

उच्च अदालतमा आर्थिक वर्ष २०८०–८१ बाट ४ हजार १८३ वटा मुद्दाको जिम्मेवारी सरेर आएको र ४ हजार २ सय ५८ वटा नयाँ मुद्दा गरी ८ हजार ४४१ वटा मुद्दाको लगत बनेको थियो । जसमध्ये ५ हजार ७९ वटा फछर्यौट भएको रजिष्ट्रार भट्टले बताए ।
उद्‌घोष संवाददाता
१ साउन २०८२, बिहिवार

प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत विराटनगरका मुख्य न्यायधीस राजनप्रसाद भट्टराईलगायत न्यायधीसहरु ।

विराटनगर । आर्थिक वर्ष २०८१–८२ मा उच्च अदालत विराटनगर ६० दशमलव १७ प्रतिशत र मोरङ जिल्ला अदालतले ७० प्रतिशत मुद्दा फर्छ्यौट गरेका छन् ।

गत आवको मुद्दाको लगतबाट उच्च अदालत विराटनगरले ६० दशमलव १७ प्रतिशत र लक्ष्यको तुलनामा ८९ दशमलव ६० प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । 

आव २०८१–०८२ मा ५ हजार ६६८ वटा मुद्दा फछ्र्यौट  गर्ने लक्ष्य राखेकोमा ५ हजार ७९ वटा मात्रै मुद्दाको फर्छ्यौट गरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टले बताए ।

उच्च अदालतमा आर्थिक वर्ष २०८०–८१ बाट ४ हजार १८३ वटा मुद्दाको जिम्मेवारी सरेर आएको र ४ हजार २ सय ५८ वटा नयाँ मुद्दा गरी ८ हजार ४४१ वटा मुद्दाको लगत बनेको थियो । जसमध्ये ५ हजार ७९ वटा फछर्यौट भएको रजिष्ट्रार भट्टले बताए । 

फछर्यौट भएका मध्ये २०८२ असार मसान्तसम्म २ वर्ष पुग्ने ७१९ मुद्दा थिए । उक्त मुद्दा मध्ये ७१३ वटा फछ्र्योट  हुँदा ६ वटा मात्रै लगतमा कायम भएको छ । १८ महिना पुग्ने १ हजार ४५९ वटा मुद्दा मध्ये १ हजार ४२६ वटा फछर्यौट भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०–८१ बाट जिम्मेवारी सरेर आएका ४ हजार १८३ वटा मुद्दा मध्ये ३ हजार ६०५ वटा मुद्दा किनारा लागिसकेको जनाइएको छ । 

यसैबीच, सरुवा भएर कार्यभार सम्हालेका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले २२ दिनमै १०६ वटा मुद्दा फछर्यौट गरेका छन् । उनी असार ५ मा उच्चमा हाजिर भएका थिए । 

उच्चका न्यायाधीश केशवप्रसाद बास्तोलाले सवैभन्दा धेरै १ हजार २५७ वटा मुद्दाको फैसला गरेका छन् । 

न्यायाधीशहरू विमल सुवेदीले १ हजार १८२, ध्रुवराज नन्दले १ हजार ७७, सूर्यनाथप्रकाश अधिकारीले ९६५, कृपासुर कार्कीले ९१८,ममता खनालले ८८८, विष्णुप्रसाद अर्यालले ८१५, नरेशकुमार चौधरी ७९७, श्रीधराकुमारी पुडासैनीले ७३६, राजेन्द्र अधिकारीले ६६२ र राज्यलक्ष्मी बज्राचार्यले ४६७ वटा मुद्दा फर्छ्यौट गरेको जनाइएको छ ।

मोरङ अदालतबाट लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

बिहीबार नै मोरङ जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । 

बिहीबार अदालतले आर्थिक वर्ष २०८१–८२ को मुद्दा फछर्यौटको प्रगति सार्वजनिक गर्दै फछर्यौट दर ७० प्रतिशत रहेको दाबी गरेको छ ।

अघिल्लो आवबाट जिम्मेवारी सरेका र २०८१–८२ मा नयाँ दर्ता भएका गरी १० हजार २२० मुद्दाहरू मध्ये ७ हजार १३५ मुद्दा फर्छ्यौट भएको अदालतका स्रेस्तेदार मणिराम पोखरेलले बताए । 

मोरङ अदालतमा ३ हजार ७९५ वटा मुद्दाको जिम्मेवार सरेर आएको र २०८१–८२ मा ६ हजार ४२५ वटा नयाँ मुद्दा दर्ता भएका थिए । 

१० हजारभन्दा बढी मुद्दा दर्ता भएका अदालतहरू मध्ये मोरङ जिल्ला अदालत सबैभन्दा धेरै मुद्दा फछर्यौट गर्ने अदालतका रुपमा शीर्ष स्थानमा रहेको उनले दाबी गरे । 

अदालतले ६ हजार ९०० मुद्दा फछर्यौटको लक्ष्य राखेर न्याय सम्पादनको काम गरेकोमा ७ हजार १३५ वटा मुद्दा फछर्यौट गरेको जनाइएको छ । लगतको तुलनामा भने ६९ दशमल ८१ प्रतिशत मुद्दा मात्रै फछर्यौट भएको हो ।

मोरङ जिल्ला अदालतमा १३ जना जिल्ला न्यायाधीशको दरबन्दी रहे पनि अहिले ११ न्यायाधीश मात्रै कार्यरत छन् ।

View : 409

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved