विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११–१३ मा गर्ने भनिएको लगानी सम्मेलन तयारीकै क्रममा विवादमा परेको छ । उक्त सम्मेलनको एकल अधिकार कुनै एक संगठनलाई मात्र दिए सम्मेलनको प्रक्रियाबाट बाहिरिने चेतावनी नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले दिएको छ ।
कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको व्यवस्थापन उद्योग संगठन मोरङलाई एकल रुपमा सुम्पेपछि नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आपत्ति जनाएको छ ।
सम्मेलनको व्यवस्थापन संगठनलाई एकल रुपमा दिएको खण्डमा परिसंघले लगानी सम्मेलनको सम्पूर्ण प्रक्रियाबाट बाहिरिने चेतावनी दिएको हो । परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडाले सोमबार मुख्यमन्त्री कार्कीलाई पत्र बुझाउँदै लगानी सम्मेलनको आयोजनामा काखा र पाखा गरे सम्मेलन भाँडिन सक्ने संकेत गरेका छन् । सारडाले लगानी सम्मेलनको एकल व्यवस्थापनका अधिकार उद्योग संगठन मात्रैलाई दिएमा त्यो आफूहरूलाई मान्य नहुने बताएका छन् ।
माघ ११ देखि १३ गतेसम्म आयोजना गर्ने गरी तयारी अघि बढाएको प्रदेश लगानी सम्मेलनको व्यवस्थापनको विषयलाई लिएर यहाँका उद्योगी व्यवसायीहरूबीच केही दिनदेखि मतभेद सुरु भएको हो ।
प्रदेश सरकारले उक्त लगानी सम्मेलनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिसहित उद्योग व्यवसायी सम्वद्ध संघसंस्थालाई सहसंयोजक राखेर मुल आयोजक समिति भने गठन गरिसकेको छ । तर सरकारले उद्योग संगठन मोरङलाई मात्रै जिम्मेवारी सुम्पिने योजना बनाएको भन्दै त्यसलाई रोक्न नेपाल उद्योग परिसंघले प्रदेश सरकारलाई अपिल गरेको छ ।
परिसंघले विदेशी लगानीकर्तासमेत सहभागी हुने सम्मेलन कुनै मेला वा जात्रामा मिसाएर गर्न हुँदैन भनेको छ । मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेश जाजू लगानी सम्मेलन जस्तो गहन छलफलको कार्यक्रम मेलामा गर्नु हाँस्यास्पद हुने बताउँछन् ।
‘यस्तो सम्मेलन मेलाको हल्लामा होइन कुनै होटल वा सभाहलको शान्तकोठामा गर्नुपर्छ’ उनले भने । लगानी सम्मेलन विवादरहित बनाउन प्रदेश सरकारले नै भूमिका खेल्नुपर्ने उनले बताए ।
प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनसमेत सोही एक्स्पो स्थलमा गर्ने गरी तयारी अघि बढाएपछि परिसंघका अध्यक्ष पवनकुमार सारडाले संगठनका अध्यक्ष राकेश सुरानालाई आइतबार पत्र लेख्दै आपसी समझदारीअनुसार अघि बढ्न आग्रह गरेका थिए ।
तर अध्यक्ष सारडासहित परिसंघका पदाधिकारीहरू त्यतिमै रोकिएका छैनन् । उनीहरूले संगठनले आयोजना गर्ने मेलामा हुने लगानी सम्मेलन रोक्नुपर्ने र त्यसलाई सरकारले स्वायत्त रुपमा सबैको अपनत्व हुनेगरी अलग्गै गर्नुपर्ने कुरामा आफ्नो लबिङ बढाइरहेका छन् ।
त्यसै क्रममा परिसंघले सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई चेतावनीयुक्त पत्र दिएको छ । परिसंघका अध्यक्ष सारडाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘एउटा निजी संस्थाको मेलासँगै मिसाएर सोही स्थानमा लगानी सम्मेलन गर्ने निर्णय गरेको भए यसमा हाम्रो गम्भीर असहमति रहने छ । हाम्रो संलग्नता र सहभागितामा हामी पुनर्विचार गर्न बाध्य हुने छौं ।’
लगानी सम्मेलनका लागि प्रदेश सरकारले सबै निजी क्षेत्रका प्रतिनिधिलाई समानरुपमा सह–संयोजकको रुपमा तयारी समितिमा नै राखिसकेको अवस्थामा अब ढिलो नगरी सबैलाई मान्य हुने वातावरण बनाउन परिसंघले मुख्यमन्त्री कार्कीलाई अपिल गरेको छ ।
‘एउटा निजी संस्थालाई काखा र अरुलाई पाखा लगाउने जस्तो कार्यले सम्मेलन भा“डिने अवस्था नआओस् भन्न्ो हाम्रो भनाइ हो । यो लगानी सम्मेलन सफल बनाउने वातावरण बनाउन सबैबाट पहल हुन जरुरी पनि छ ।
सरकारको आयोजनामा हुने कार्यक्रम सार्वजनिक स्थलमा सबैले अपन्वत्व लिने गरी अन्तराष्ट्रिय इभेण्ट सोही स्तरको होटल वा सावजनिक सभाहलमा आकर्षक र प्रभावकारी रुपमा गर्न प्रदेश सरकारलाई अनुरोध गर्दछौं’ परिसंघको पत्रमा भनिएको छ ।
यता लगानी सम्मेलनको व्यवस्थापकीय जिम्मेवारी पाएको भनिएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले भने परिसंघसँगकै सहमतिमा उक्त समयमा एक्स्पो आयोजना गर्न लागिएको दाबी गरेका छन् ।
उनले प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलन पनि सोही एक्स्पो स्थलमा भव्य रुपमा उद्घाटन गर्नका लागि संगठनले सरकारसँग सहकार्य गरेकोले निजी क्षेत्रका सवै संघसंगठनले सहयोग गर्नुपर्ने बताउँछन् ।
View : 73
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved