विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा वैदेशिक रोजगारसम्बन्धी सरोकारवालाहरूलाई लक्षित दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
पिपुल्स फोरमको आयोजनामा गाउँपालिकाको सभाहलमा सोमबारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय निकायका कर्मचारी, कानुन व्यवसायी, महिला प्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
समापन सत्रलाई सम्बोधन गर्दै बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले वैदेशिक रोजगारीमा जानुअघि प्रत्येक युवाले आवश्यक जानकारीसहित तयारी गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘विदेश जानुअघि स्वदेशी एयरपोर्टको प्रयोग गर्नुपर्छ, जसले धेरै समस्याबाट जोगाउँछ । साथै सिपमूलक तालिम लिएर जाने युवाले मात्र सुरक्षित र दीर्घकालीन रोजगारी पाउने सम्भावना बढी हुन्छ ।’
अध्यक्ष थापाले गाउँपालिकाले विभिन्न सिपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिदै वैदेशिक रोजगारमा जाने युवाले त्यस्ता तालिमको लाभ लिनुपर्ने उल्लेख गरे । साथै कानुनी जानकारीबिना विदेशिएका धेरै युवाले समस्यामा पर्नु परेकाले कानूनसम्बन्धी सचेतना पनि अनिवार्य रहेको बताए ।
यसैगरी पिपुल्स फोरमका सल्लाहकार तथा अधिवक्ता सोमराज लुइटेलले वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूलाई निःशुल्क कानुनी परामर्श र सहयोग गर्दै आएको जानकारी दिए ।
उनले भने, ‘विदेशमा ठगिएका वा पीडित बनेका नेपालीहरूको पक्षमा पिपुल्स फोरमले कानुनी सहायता र पैरवी गर्दै आएको छ । यसलाई अझ संस्थागत गर्दै लैजाने हाम्रो योजना छ ।’
कार्यक्रममा पिपुल्स फोरमका अर्का सल्लाहकार अधिवक्ता कृष्णप्रसाद न्यौपानेले तालिम सहजीकरण गर्दै वैदेशिक रोजगारसँग सम्बन्धित कानुनी ढाँचा, जोखिम न्यूनीकरणका उपाय तथा अधिकार–कर्तव्यबारे जानकारी दिएका थिए ।
उनका अनुसार वैदेशिक रोजगारीमा जाने युवाले सम्झौता, भिसा प्रक्रिया, बीमा र श्रम करारबारे प्रष्ट बुझ्न आवश्यक छ ।
समापन कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि चिरञ्जीवी लुइटेलले मन्त्रालयले वैदेशिक रोजगार सुरक्षित बनाउन विभिन्न नीति तथा कार्यक्रम ल्याएको बताए ।
उनले गाउँपालिका स्तरमै यस्ता सचेतनामूलक तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।
View : 358
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved