जेनजी प्रदर्शनको आठौं दिनमा देखिए मुख्यमन्त्री कार्की
विराटनगर । जेनजी आन्दोलनको आठौं दिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पार्टीको कार्यक्रममार्फत सार्वजनिक भए । नेकपा एमाले मोरङको अगुवा कार्यकर्ता भेलामा मंगलबार पहिलो पटक देखिएका मुख्यमन्त्री कार्कीले त्यसपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको तोडफोड र आगजनीबाट भएको क्षतिबारे स्थलगत अनुगमन गरेका छन् ।
भदौ २४ मा प्रदर्शन चर्किएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कोशी प्रोजेक्टस्थित निजी निवासमा समेत भौतिक आक्रमण हुने भयले मुख्यमन्त्री कार्की कोशी प्रदेश प्रहरी कार्यालयमा सुरक्षित भएर बसेका थिए ।
कोशी प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरूसहित मुख्यमन्त्री कार्कीले कार्यालयको अनुगमन गर्दै प्रदेशमा ठूलो क्षति पुगेको बताए । उनले क्षति भएपनि कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दशैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन निर्देशन दिए ।
देशमा विषम् परिस्थिति आइपरेको भन्दै मुख्यमन्त्री कार्कीले सवै परिस्थितिको सामना गरेर काम गर्नका लागि आग्रह गरे ।
‘विभिन्न राजनीतिक आन्दोलन र विरोधका कार्यक्रमहरू भए, तर यति ठूलो र सर्वाधिक क्षति कहिल्यै भएको थिएन’ मुख्यमन्त्री कार्कीले भने, ‘यो घटनाले प्रदेशलाई ठूलो नोक्सान भएको छ, हामीलाई २० वर्ष पछाडि धकेलेको छ ।’
मुख्यमन्त्री कार्यालयको स्थलगत अवलोकनपछि उनले आजै (मंगलबार) देखि प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गरे । उनले बिहीबार प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक बसेर सरकारले महत्वपूर्ण निर्णयहरू गर्ने जानकारी दिए ।
मुख्यमन्त्रीसँगको छलफलमा प्रदेशका मन्त्रालयका सचिवहरूले केही दिनभित्रै कार्यालयको कामलाई क्रमशः सुचारु गर्ने बताएका छन् ।
कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कोशी प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयहरुमा भएको क्षतिको प्रारम्भिक विवरण प्रदेश सरकारले संकलन गरिरहेको बताइन् ।
उनले प्रदेशमा भवन र सवारी साधनतर्फ राज्यको सम्पत्तिमा ठूलो नोक्सानी भएको जानकारी दिइन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अहिले क्षतिको विवरण संकलन गरिरहेको जनाइएको छ ।
कोशीमा कति भयो क्षति ?
प्रारम्भिक जानकारी अनुसार प्रदेश सरकार मातहत रहेका प्रदेशभरका ४२ वटा भवन तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेका छन् । जसमध्ये १८ वटा भवन पूर्ण क्षतिग्रस्त भएको र २४ वटा भवनमा तोडफोड भई आंशिक क्षति पुगेको जनाइएको छ ।
प्रदर्शनकारीले प्रदेश सरकारको २३७ वटा सवारी साधनमा क्षति पुर्याएका छन् ।
७५ वटा चारपाङग्रे सवारी साधनमा क्षति पुगेकोमध्ये ६४ वटा पूर्णरुपमा क्षति पुगेको जनाइएको छ । ११ वटामा आंशिक क्षति भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रदेश सरकार अन्तरगत विभिन्न कार्यालयका १६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ । तीमध्ये तोडफोड र आगजनीबाट १४४ वटा मोटरसाइकल पूर्ण रुपमा क्षति पुगेका छन् । १७ वटामा भने आंशिक क्षति पुगेकोले मर्मत गरेर चलाउन सकिने जनाइएको छ ।
मोरङका १५५ भवन संरचनामा क्षति
तोडफोड र आगजनीबाट मोरङमा १५५ वटा भवन तथा सरकारी संरचनामा क्षति पुगेको छ ।
कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा रहेका दर्जनौं सरकारी कार्यालय र भवनमा तोडफोड र आगजनी भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मंगलबार जिल्लाभित्र भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै सुरक्षा निकायका पोष्ट तथा कार्यालयमा समेत क्षति पुगेको उल्लेख गरेका छन् । उनले १०३ वटा सरकारी कार्यालयसहित १५५ वटा भवन संरचनामा क्षति पुगेको जानकारी दिए ।
मोरङमा ७३ वटा संघीय कार्यालय रहेकामा २१ वटा क्षति पुगेको प्रजिअ यादवले बताए । प्रदेश सरकार अन्तरगतका ३९ वटा कार्यालयमध्ये १४ वटामा क्षति पुगेको छ । त्यस्तै स्थानीय सरकारतर्फ १७ वटा पालिका भवनमध्ये १० मा क्षति पुगेको छ । ७३ संघीय कार्यालयमध्ये २१ मा क्षति पुगेको छ ।
त्यसैगरी प्रदेशतर्फ रहेका ३९ मध्ये १४ कार्यालयमा क्षति भएको छ । १७ पालिकामध्ये १० र कूल १५९ वटा वडामध्ये ५८ वडा कार्यालयमा क्षति भएको छ ।
त्यसैगरी निजी घरहरु १५, पार्टी कार्यालयहरू आठ, संघसंस्थाहरू चार, व्यापारिक भवन तीन र एउटा संस्थामा क्षति भएको जनाइएको छ ।
मोरङमा सुरक्षा निकायतर्फ नेपाल प्रहरीको १७ वटा पोष्ट तथा कार्यालयमा क्षति पुगेको छ । सशस्त्र प्रहरीका चारवटा पोष्टमा क्षति भएको जनाइएको छ ।
भौतिक संरचनामा भएको क्षतिको विवरण आएपनि यसको मूल्यांकन गरी क्षतिको मूल्य निकाल्ने कार्य भने भइरहेको प्रजिअ यादवले बताए । त्यसका लागि केही दिन लाग्ने उनले जानकारी दिए ।
झापामा ३७ वटा निजी घरमा क्षति
यसैबीच प्राप्त जानकारी अनुसार झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जेनजी प्रदर्शनका क्रममा झापामा स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा संघीय कार्यालय र तीनवटा प्रादेशिक कार्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट एउटा सार्वजनिक भवन, ३७ वटा निजी आवास, दुईवटा व्यावसायिक भवन, प्रहरीको नौवटा इलाकासहित २० वटा भवनमा क्षति पुगेको छ । एउटा विद्यालय भवनमा समेत क्षति पुगेको जनाइएको छ ।
दमकस्थित दमक भ्यूटावर र राजनीतिक दलका आठवटा कार्यालय भवनसहित १५२ वटा भवन संरचनामा आगजनी र तोडफोड भएको प्रजिअ अधिकारीले बताए । उनले क्षति पुगेका भवन संरचनाको मुचुल्का तयार भइरहेको जानकारी दिए ।
View : 332
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved