विराटनगर : कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार गएको भूकम्पबाट प्रभावितहरुलाई जनस्तरबाट सहयोग गर्न आग्रह गरेकी छन् । सोमबार बसेको कोशी प्रदेश सभाको बैठकमा उपसभामुख दनुवारले कोशी प्रदेशभित्रका सवै जनताले आ–आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्ने वातावरण बनाउन आग्रह गरेकी हुन् ।
उनले कोशी प्रदेश सरकारले आफ्नो क्षमता अनुसारको सहयोग गरिसकेको अवस्थामा जनस्तरबाट सहयोग जुट्नु आवश्यक रहेको बताएकी हुन् ।
सोमबारको प्रदेश सभा बैठकले शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु रहेको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु भएका नागरिकहरुको सम्झनामा शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण समेत गरेको हो ।
उपसभामुख दनुवारले प्रदेश सभाको तर्फबाट भूकम्प पीडितहरुका लागि राहत, उद्धार र पुनर्स्थापना कार्यमा सहयोग गर्न संघीय सरकारलाई अनुरोध गरिन् । उनले भूकम्पबाट ठूलो धनजनको क्षति भएको जानकारी दिंदै मृतकहरुप्रति शोक प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
उक्त शोक प्रस्तावलाई प्रदेश सभाका सदस्यहरुले हात उठाएर पारित गरेका हुन् । प्रदेश सभाले भूकम्पमा परी घाइते भएका आम सर्वसाधारण व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । उक्त भूकम्पमा परी हालसम्म १५३ जनाको ज्यान गइसकेको जनाइएको छ ।
यसैबीच प्रदेश सभाको शून्य समयमा बोल्दै सवै सभा सदस्यहरुले भूकम्प पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन संघीय सरकार समक्ष आग्रह गरेका थिए । घाइतेहरुको निशुल्क उपचार गर्न मागसमेत गरेका थिए ।
View : 131
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved