विराटनगर, १ कात्तिक : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको भारी मत प्राप्त गरेका छन् । ९३ सदस्यीय प्रदेश सभामा उपस्थित ९१ जना सभा सदस्यहरुमध्ये कार्कीलाई मुख्यमन्त्री बनाउन सनाखत गरेको नेकपा एमालेको ३९ सहित विश्वासको मतको पक्षमा ८६ मत प्राप्त भएको हो ।
मुख्यमन्त्री कार्कीले आफूलाई प्रदेश सभामा विश्वासको मत छ भनी राखेको प्रस्तावमा मत विभाजन हुँदा प्रस्तावको पक्षमा ८६ मत खसेकोले प्रदेश सभाबाट विश्वासको मत प्राप्त भएको घोषणा उपसभामुख सृजना दनुवारले गरिन् ।
सत्ता गठबन्धनको निर्णय अनुसार माओवादी केन्द्रलाई मुख्यमन्त्री भाग लगाएपछि संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्रीका लागि कांग्रेसका सभा सदस्य केदार कार्कीले डा.शेखर कोइराला पक्षका ८ सांसदसहित एमालेको समर्थनमा दाबी पेश गरेका थिए ।
विश्वासको मत लिने बुधबारको अवस्थासम्म आइपुग्दा कांग्रेसले बिद्रोही समूहको नेतृत्व गरेर मुख्यमन्क्री नियुत्त भएका कार्कीलाई केन्द्रीय कार्यसमितिको निर्णय भन्दै विश्वासको मत दिन निर्देशन गरेको थियो । मुख्यमन्त्री कार्कीको पक्षमा कांग्रेस संसदीय सम्वद्ध सबै २९ सभा सदस्यहरुले मत दिएका हुन् । मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ६ र जनता समाजवादीको १ गरी गठबन्धनका सबै दलहरुले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्ति सिटौलाले भने कार्कीको नेतृत्वको गठित सरकार असुरक्षित नभएको र विश्वासको मत नदिंदैमा अस्थिरता नहुने अवस्था बनेकोले प्रतिपक्षमा बस्ने र विश्वासको मत नदिने बताएका थिए । सोही अनुसार कोशी प्रदेश सभामा ६ सिट रहेको राप्रपाका उपस्थित ५ जना सभा सदस्यहरुले कार्कीले मागेको विश्वासको मतको विपक्षमा मत दिएका छन् ।
प्रदेश सभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको विषम परिस्थितिले नयाँ राजनीतिक अवस्था सिर्जना भएकोले आफू मुख्यमन्त्री बन्न सफल भएको बताए । उनले सबै प्रकारका आन्दोलनहरुको भावना अनुसार आफू नेतृत्वको सरकारले आगामी दिनमा काम गर्ने स्पष्ट पारे ।
सबै मिलेर प्रदेशवासीको आकांक्षा पूरा गर्ने बेला आएको भन्दै मुख्यमन्त्री कार्कीले समयमै प्रदेशलाई आवश्यक पर्ने ऐन कानुनहरु संघीय सरकारले निर्माण गर्ने प्रक्रिया अघि बढाउनु पर्नेमा माग गरे ।
‘संविधान प्रदत्त प्रदेशको अधिकार पूर्णरुपमा कार्यान्वयन गर्न आवश्यक कानून निर्माणमा हामी जुट्नुको विकल्प छैन, संघीय सरकारले प्रत्यायोजन गर्न बाँकी रहेका अधिकार प्राप्त गर्न हामी सबै मिलेर लागिपर्ने बेला आएको छ’ मुख्यमन्त्री कार्कीले भने, ‘संघीयताको प्रत्याभूति गराउन प्रदेशवासीको समग्र शान्ति सुरक्षाको ग्यारेण्टीका लागि प्रहरी समायोजन तत्काल गर्नुपर्छ, समयमा ऐन कानुन निर्माण नगरी संघीयताको प्रभावकारी कार्यान्वयनमा बाधक देखिएका संघीय सरकारले अब छुट पाउने छैन ।’
उनले संघीय सरकारबाट अधिकार प्राप्तिको अभियानमा जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए । उनले अधिकार प्रत्यायोजन नगर्ने तर संघकै सांसदहरुले प्रदेशले काम गर्न नसकेको र यसको काम छैन भन्दै प्रश्न उठाउने गर्नु उचित नभएको टिप्पणी गरे ।
उनले प्रदेशमा खल्तीबाट योजना निकालेर प्रदेशलाई कमजोर पार्ने कुराको आफूले अन्त्य गर्ने प्रतिवद्धता जनाए । प्रदेशलाई मध्यावधिमा जाने सम्भावनालाई विश्वासको मत दिन मुख्यमन्त्री कार्कीले राप्रपासँग समेत आग्रह गरेका थिए ।
प्रदेशका सांसदहरुले सरकार र मुख्यमन्त्रीप्रति गर्ने आलोचनालाई आफूले सहज रुपमा स्वीकार गर्ने आश्वास्त पार्न खोजे । आफ्नो कार्यकालमा प्रदेश सभामा सांसदहरुसँग प्रश्नोत्तरको समेत सामना गर्न तयार रहेको बताए ।
नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सरकार सफल हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमाले संसदीय दलले नै निर्णय गरिसकेको जानकारी दिंदै विगतमा प्रदेश सभामा रहेका दलहरुले सभा भित्रको गणित भुलेर सरकार गठन र विघठनको खेलमा लागेको आरोप लगाए ।
‘यो संविधानबाट संघीयता निकाल्यो भने संविधान नै काम लाग्दैन, अहिले संघीयतालाई कमजोर पार्न अनेक प्रकारका हल्ला चलाइएका छन्, त्यसैलाई मलजल गर्न यहीभित्र दलहरुले गल्ती कमजोरीहरु पनि पर्याप्त छन्’ कार्कीले भने, ‘गणित भुलेर सरकार गठन र विघटनको खेल भए, कसैले बहुमत ल्याउन नसक्ने खालको निर्वाचन प्रणाली रहेको अवस्थामा ठूला दलहरुप्रति गलत धारणा फैलाइँदैछ, अब सवै दल मिलेर अघि बढ्नु पर्नेछ ।’
उनले विगतमा संविधानलाई नै मिचेर त्यसको ढाकछोपमा स्वयं दलहरु लागेको आरोप लगाए । गठबन्धनका नाममा विज्ञप्ति निकालेर प्रदेश सभाको अधिकारलाई अवरुद्ध गर्ने र संघीयता माथि ठाडो हस्तक्षेप गर्ने काम भइरहेको बताए । कार्कीले एमालेले एकतावद्ध भएर मध्यावधि निर्वाचन रोक्नका लागि कांग्रेसका कार्कीलाई मुख्यमन्त्री समर्थन गर्नुपरेको पनि स्पष्ट पारे । उनले अब कांग्रेसभित्र समेत कुनै मनमुटाव हुन आवश्यक नरहेको बताए ।
नेपाली कांग्रेसका उद्धव थापाले कोशी प्रदेशको राजनीति अब समाधानको बाटोमा गएको बताए । प्रदेशलाई प्रगतिको बाटोमा अघि बढाउन लाग्नुपर्नेमा जोड दिए । उनले पार्टीको निर्णय विपरीत वर्तमान मुख्यमन्त्री कार्की कांग्रेसकै ८ भाइको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएकोले अब आफूले पनि स्वीकार गरेर गएको बताए ।
‘अब प्रदेश अघि बढेको जस्तो लाग्छ, अब सरकार बनाउने म्यूजिकल चेयर खेलपनि अन्त्य भएको छ’ थापाले भने, ‘हाम्रो दलबाट ८ भाइ माननीयहरुले सरकार निर्माण गर्न मुख्यमन्त्री बन्ने कुरामा दलभित्र झगडा गर्नुभयो, कराउनु भयो, कुण्ठा बोकेर हिंड्नु भयो, संघर्ष गर्नुभयो, अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर आउनु भयो, युद्धै जितेर आएपछि घरमा आउनुभयो, घरमै आएपछि गला लगाउनुभन्दा उपाय भएन ।’
थापाले गला मिलाउने कुरा भने एमालेबाट सिकेको बताए । उनले कार्की नेतृत्वको सरकारले नामाकरणविरुद्धको आन्दोलनको समाधानका लागि वार्ता कमिटी गठन गर्न सुझाव दिए ।
नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य दुर्गाप्रसाद चापागार्इँले सरकार गठनका लागि संविधानका सबै धारा प्रयोगपछि अन्तिम अवस्थामा मुख्यमन्त्री बनेका कार्कीलाई बधाई दिए । विगतमा संविधानका धाराहरुको कतिपय अवस्थामा सहज र कतिपयमा असहज देखिने तथा सम्मानित सर्वोच्च अदालतले पटक–पटक गल्ती सच्याइदिनु पर्ने परिस्थिति बनेको बताए । साथै अदालतले यस्तो अवस्था आएको खण्डमा नजिर समेत कायम भएको दाबी गरे ।
सरकारको अस्थिरताका कारण प्रदेशसभाले गर्नुपर्ने कामहरु गर्न नसकिएको, सहमतिमै गरेको प्रदेशको नामाकरणपछि प्रदेशमा पुनः नामाकरणलाई लिएर आन्दोलन चलिरहेको अवस्थामा सही निकास दिन नसकिएको बताए ।
‘प्रदेश संरचना र यसको स्थायित्वलाई लिएर जवरजस्त प्रश्नहरु उठाउन गर्न खोजिएको छ, हामी सबै मिलेर मात्र जनविश्वासको अभिबृद्धि गर्न र यस्ता गलत प्रवृत्तिलाई परास्त गर्न सक्छौं’ उनले भने, ‘प्रदेशको स्थायी भौतिक संरचनाहरुको निर्माण गर्नेतिर हामिले ध्यान दिएका छैनौं, प्रदेश सभाको ११ महिनासम्म पनि संवैधानिक समितिहरु निर्माण गर्न सकेका छैनौं ।’
उनले प्रदेशमा देखिएको अस्थिरताको अन्त्य र केन्द्रीय गठबन्धनको भावनालाई समेत कायम राख्न गठबन्धन दलहरुको निर्णय अनुसार माओवादी केन्द्रले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताएका थिए ।
राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले भने नयाँ सरकारले पनि तरवारको धारमा टेकेर हिड्नु परेको टिप्पणी गरेका थिए । राजनीतिक स्थिरताका लागि समुन्नत प्रदेश कसरी बनाउने भन्ने विषयमा बृहत छलफल आवश्यक रहेको बताए । कर्मचारी प्रशासनमा देखिएको निरासालाई सरकारले हौसला प्रदान गर्नुपर्ने सुझाव दिए ।
प्रदेश सभाबाट संविधानसम्मत रुपमा गरेको प्रदेश नामाकरणको विषयलाई गुण्डागर्दी शैलिमा बाहिरबाट परिवर्तन गर्न दवाब दिइएको आरोप लगाउँदै असन्तुष्टि पोखे । कोशी प्रदेश नामाकरणमा हस्ताक्षर गरेका दलहरु नै पछि भागेर गैरजिम्मेवारीपन प्रस्तुत गरेको बताए । सिटौलाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले पार्टीका नाममा कागजपत्र मिलाएर ल्याउने र खाने काम बन्द गर्न आवश्यक पहल गर्नुपर्ने सुझाव दिए । उनले राप्रपा प्रतिपक्षमा रहेर सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले सरकारहरुले विश्वासको मत लिनका लागि आफूले छिटोछिटो बोल्नुपर्दा दुखित बनाएको बताए । उनले अस्थिरताको व्यवस्थापनका नाममा सरकार गठनमात्रै गर्ने र नटिक्ने अवस्था उत्पन्न हुनुभन्दा मध्यावधिमा लगेर ताजा जनादेशबाट अघि बढ्नु उचित हुने बताए । राईले एमालेले ३९ सांसद बोकेर ४७ को सरकार ढालेको आरोप लगाए । मुख्यमन्त्री कार्कीप्रति टिप्पणी गर्दै उनले बहादुरी गरेको सोचेर अघि नबढ्नु नै उचित हुने सुझाव दिए ।
‘यो तरिकाले मुख्यमन्त्री हुने भए हामी नै पहिले भैसक्थ्यौं’ राईले भने, ‘तर मध्यावधिलाई जोगाउनु पर्छ, गठबन्धनको मुख्यमन्त्री बन्नुहुन्छ भनेर विश्वासको मत दिन्छौं ।’ उनले गठबन्धनले बनाउनु पर्ने मुख्यमन्त्री एमालेले बनाइदिएको टिप्पणी गरे । मुख्यमन्त्री कार्कीले पहिचानको आन्दोलनलाई सामान्य रुपमा नलिने चेतावनी समेत दिए । ‘मिलेर खाने होइन, चलाएर खाने बन्नुपर्छ, हामी पनि यो सरकारमा सहभागी हुन्छौं’ उनले भने ।
जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले प्रदेश नामाकरणपछिको समस्यालाई समाधान गर्न वार्ता समिति बन्नुपर्ने बताइन् । उनले विगतमा पनि वार्ताको प्रयास नहुँदा धेरै ठूलो क्षति भएको बताइन् ।
बढ्दो राजनीतिक बेथिति र गणितीय दम्भले राजनीतिलाई नै घृणित बनाउँदै लगेको उनले बताइन् । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले नामाङ्कनमा उठेका विषयको समाधान गर्न पहल गर्ने विश्वासका साथ गठबन्धनको तर्फबाट आफ्नो दलले विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएकी थिइन् ।
View : 177
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved