Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा ज्यान गुमाउनेको संख्या आठ पुग्यो, पाँचथरमा मात्रै ५ जनाको मृत्यु

उद्घोष सम्वाददाता
१२ असोज २०८१, शनिवार

विराटनगर । बाढी र पहिरोमा परेर कोशी प्रदेशमा शनिबार अपरान्हसम्ममा ८ जनाले ज्यान गुमाएका छन् । हालसम्म ८ जना बेपत्ता छन् ।

पहिरोले पुरिएर सबैभन्दा धेरै पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । धनकुटामा पहिरोले २ जनाको ज्यान लिँदा इलाममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । 

पाँचथरको पहिरोमा परेर चार जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । कोशीको यो पूर्वी पहाडी जिल्लामा बिहीबार रातिदेखि लगातार झरी जारी छ । 

लगातारको झरीले फरक–फरक ठाउँमा पहिरो जाँदा पाँचथरमा पाँच जनाको मृत्यु भएको हो । 

फिदिम–१२ घर भएकी फिदिम–४ मा बस्दै आएकी २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षे छोरी डोल्मा शेर्पाको पहिरोमा पुरिएर मृत्यु भएको छ । त्यसैगरी फिदिम–८ भोटेगाउँका ८२ वर्षका पश्चिमा शेर्पा, फिदिम–२ मजिटेकी ३५ वर्षकी रञ्जना राई र फिदिम–१ दुमाका ५० वर्षका गोपी विश्वकर्माको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार उनीहरु आमाछोरा त्यहाँ पाहुना आएका थिए ।

‘उहाँहरुको घर अर्को वडामा रहेछ, फिदिम नगरपालिका–४ चिसापानीस्थित फुर्लु शेर्पाको घरमा पाहुना आउनुभएको रहेछ’, दाहालले भने ‘उहाँहरु आदिवासी जनजाति महासंघको टिनको छानो भएको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा माथिबाट झरेको पहिरोले किचेर दुबैजनाको मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो ।’   

मृतक रञ्जना राईका छोरा बिपिन राई घाइते भएका छन् । जिल्ला अस्पताल पाँचथरमा उनको उपचार भइरहेको छ ।

शनिबार बिहान बिहान पाँचथरको फिदिम नगरपालिका–१ साँगेबोटमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा सो घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम १ का ५० बर्षीय विश्वकर्माको मृत्यु भएको प्रहरीको भनाइ छ ।

पहिरोले  हाईड्रोपावरकै कर्मचारी फिदिम–१ का ५१ बर्षीय कृष्ण दास र उनको श्रीमती ४२ बर्षीय कमला दास, फिदिम–१ का ५५ बर्षीय धन कुमार तुम्वापो र फिदिम–१ की २१ बर्षीय सरस्वती तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन् । 

धनकुटाको पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पाख्रीबास–५ का सन्तोष तामाङको घरमा माथीबाट पहिरो झर्दा किचिएर उनकी ३२ बर्षीया श्रीमती आशा तामाङ र सासुआमा ५० बर्षीया राम कुमारी तामाङको घटना स्थलमा नै मृत्यु भएको छ ।

सोही घरमा रहेकी छिमेकी २४ बर्षीया मिन माया तामाङ उपचार गराइरहेकी छन् ।

यसैगरी छथरजोरपाटी गाउँपालिका–२ का चन्द्र बहादुर मगरको घरमा पहिरो खस्दा  उनकी २० वर्षकी छोरी सृजना मगर घाइते भएकी छन् । 

इलाममा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । 

इलामको माई नगरपालिका–८ सेतेखोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो । बाढीमा परेर झापामा ३ जना र मोरङमा १ जना बेपत्ता भएका छन् ।

View : 94

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved