विराटनगर । रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानले ‘आफ्नो आँखालाई माया गरांै, प्रत्येक व्यक्तिको आँखाको दृष्टि उत्तिकै महत्वपूर्ण छ’ भन्ने नाराका साथ यस वर्षको विश्व दृष्टि दिवस–२०२५ विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाएको छ ।
दृष्टि सम्बन्धी जनचेतना अभिवृद्धि र आँखाको स्वास्थ्य सेवामा समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा आँखा स्वास्थ्यबारे सन्देशमूलक बिभिन्न गतिविधिहरू गरिएका थिए ।
सो अवसरमा अस्पतालले हालैको बाढीपछि देखिन सक्ने सम्भावित आँखाका रोगबारे महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण तालिम प्रदान गरेको थियो । साथै विद्यालयस्तरीय चित्रकला प्रतियोगिता र निःशुल्क आँखा जाँचजस्ता कार्यक्रम पनि सञ्चालन गरिएका थिए ।
अस्पतालका प्रबन्धक नविन राजवंशीले रामलाल गोल्छा आँखा अस्पतालले विगतदेखिनै पूर्वी नेपालमा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको बताए ।
उनले उक्त अस्पतालबाट हरेक वर्ष करिब ८० हजार बिरामीले नियमित सेवा लिने गरेको समेत जानकारी दिए ।
उनका अनुसार अस्पतालले मोतियाबिन्दु, जलबिन्दु, रेटिना, बाल नेत्र रोग, रिफ्रेक्टिभ सर्जरी र लेजर जस्ता सेवा न्यून शुल्कमा मात्र होइन, आवश्यक परे निःशुल्क रूपमा पनि प्रदान गर्दै आएको छ ।
अस्पतालको सेवाको दायरालाई थप बिस्तार गर्दै स्थानीय तहहरुसँग सहकार्यमा नयाँ सामुदायिक आँखा केन्द्रहरु स्थापना गर्ने साथै सब स्पेशालिटी सेवा सुदृढ गर्ने, बाल नेत्रसेवा बिस्तार गर्ने लगायतका योजनाहरुलाई प्राथमिकताका साथ अगाडि बढाइने उनले बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिका स्वास्थ्य शाखा संयोजक दिलिपकुमार यादवले हालैको वर्षा, बाढी र पहिरोका कारण स्वास्थ्य क्षेत्रमा ठूलो असर परेको बताए । उनले स्वास्थ्य स्वयंसेविकाहरू समुदायमा स्वास्थ्य सन्देशका पहिलो वहनकर्ता भएकाले तालिममार्फत उनीहरूलाई सशक्त पार्नु अत्यन्त प्रभावकारी कदम भएको बताए ।
त्यसैगरी नेत्ररोग विशेषज्ञ डा. जितेन्द्र झाले बाढीपछि दुषित पानीका कारण आँखाको रोग फैलिने जोखिम बढेको चेतावनी दिए । उनले फोहोर पानीको प्रयोगले आँखामा संक्रमण, सुन्निने, फुलो आउनेदेखि लिएर रगत जम्नेसम्मका समस्या देखिन सक्ने बताए । स्वच्छ पानी प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन उनले सबैलाई आग्रह गरे ।
विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभर करिब २ अर्ब २ करोड मानिस दृष्टि कमजोर अवस्थामा छन्, जसमा आधाभन्दा बढीलाई समयमै उपचार गरे निको हुन सक्ने देखिएको छ ।
नेपालमा करिब ३० हजार २ सय ४० बालबालिकामा न्यून दृष्टिको समस्या रहेको अनुमान गरिएको छ, जसमा करिब ८० प्रतिशतलाई समयमै उपचार पाए निको हुने सम्भावना छ ।
View : 373
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved