विराटनगर । मोरङ प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजाको ठूलो परिमाणसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
रतुवामाई नगरपालिका–१ हटियाडाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको ट्रकबाट छ सय ७८ केजी गाँजा बरामद गरिएको हो ।
आइतबार दिउँसो ४ बजेतिर इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले शंका लागी प्र १–०१–००१ ख ३८२५ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो ।
सो जाँचका क्रममा ट्रकको डालाभित्र ‘फल्स डाला’ (नक्कली खण्ड) जोडी लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको थियो ।
प्रहरीले गाँजासहित ट्रकका चालक धनकुटाको सहिदभूमि गाउँपालिका–२ का समेल राई र सोही ट्रकका धनी सहिदभूमि–१ का विक्रम विसुङ्खेलाई नियन्त्रणमा लिएको छ ।
उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय, सिजुवा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
ठूलो परिमाणमा गाँजा बरामद हुनुले सो क्षेत्र लागुऔषधको तस्करीको पारागमन विन्दु बनेको आशङ्का गरिएको छ ।
View : 180
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved