मन्थली । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सुचारु भएको छ ।
मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन सुचारु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।
खुर्कोटको पुल बाढीले बगाएपछि मन्थली–पकरवास–भीरपानी सडकखण्ड सुचारु गर्न जिल्लास्थित सरोकारवालाले पहल थालेका थिए ।
मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन सुचारु भएपछि तराइका जिल्लासँग यातायातको माध्यमबाट सम्पर्क पुनःस्थापित भएको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले खुर्कोटको पुल बगाएसँगै जिल्लामा यातायात सुचारु गराउन वैकल्पिक सडक मन्थली–पकरवास–भिरापनी–सित्खा सडक तत्काल मर्मत गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सडक सुचारु गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीय र गाँउपालिकाको टोली आइतबार साँझ अबेरसम्म खटिएका थिए ।
यसैबीच यातायात सेवा अवरुद्ध भएपछि तारा एयरले आइतबार देखि दैनिक मन्थली–काठमाण्डौ उडान सुरु गरेको छ ।
बाढीपहिराका कारण सदरमुकाम मन्थली लगायतका अधिकांश ठाउँमा विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानी सेवा अझै अवरुद्ध छन् ।
View : 226
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved