Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

आज विराटनगरमा गगन थापासँग मञ्च साझेदारी गर्लान् डा शेखरले ?

सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने उक्त भेलामा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहने छ । तर, त्यही दिन मोरङ–६ मा डा. कोइराला उम्मेदवार रहेको क्षेत्रमा प्रशिक्षण कार्यक्रम राखिएपछि ‘शेखरले गगनलाई चुनौती दिन खोजेका हुन् कि’ भन्ने प्रश्न पनि उठेको छ ।
उद्‌घोष संवाददाता
२६ माघ २०८२, सोमवार

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टी नेतृत्व सम्हालेपछि पहिलो पटक सोमबार विराटनगर आउँदैछन् । यही कार्यक्रममा उनी कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग पहिलो पटक एउटै मञ्चमा देखिने कार्यक्रम छ । 

१४ औं महाधिवेशनमा एकै टिमबाट सभापति र महामन्त्री लडेका यी दुई नेताबीच विशेष महाधिवेशनसँगै विकसित राजनीतिक दूरीका बीच हुन लागेको मञ्च साझेदारीले सुरुमा गगन नेतृत्वलाई अवैध भन्ने कोइरालाले औपचारिक रुपमा उनको नेतृत्व स्वीकार गरेको देखिनेछ । 

त्यसो त आफैले अवैध भनेकै सभापति थापाको हस्ताक्षरसहितको टिकटबाट कोइराला चुनाव लडिरहेका छन् । 

सोमबार नै कोइरालाको निर्वाचन क्षेत्र मोरङ–६ मा क्षेत्रीय समितिले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेपछि कांग्रेसभित्र अनेक अडकलबाजी सुरु भएको छ । 

कोशी प्रदेशस्तरीय चुनावी भेलामा सभापति थापा सहभागी हुने तय हुँदा पनि कोइरालाको उपस्थितिलाई लिएर एकथरीले  संशय प्रकट गरिरहेका छन् । 

कोशी प्रदेश कांग्रेस समितिले सोमबार विराटनगरको बरगाछीस्थित कन्चनजंघा व्यांकेटमा निर्वाचन लक्षित प्रदेशस्तरीय भेला आयोजना गरेको छ । 

सभापति थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने उक्त भेलामा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहने छ । 

तर, त्यही दिन मोरङ–६ मा डा.कोइराला उम्मेदवार रहेको क्षेत्रमा प्रशिक्षण कार्यक्रम राखिएपछि ‘शेखरले गगनलाई चुनौती दिन खोजेका हुन् कि’ भन्ने प्रश्न पनि उठेको छ । क्षेत्रीय समितिले बुढीगंगास्थित टंकिसिनवारीमा प्रशिक्षण कार्यक्रम राखेको छ । 

यस विषयमा मोरङ–६ का क्षेत्रीय सभापति देवराज तामाङले भने कार्यक्रम जुधाउनु कुनै राजनीतिक उद्देश्य नरहेको बताएका छन्  । 

‘यो कार्यक्रम पहिल्यै तय भएको हो,’ उनले भने, ‘प्रदेश समितिले पछि निर्णय गर्दा मिति एकै दिन परेछ । दुबै कार्यक्रममा हाम्रो सहभागिता हुन्छ ।’ उनले  डा. कोइराला सभापति थापा आउने प्रदेशको कार्यक्रममा सहभागी हुने बताए । 

कोशी प्रदेश समितिका एक पदाधिकारीले दिएको जानकारीअनुसार कोइरालासहित कोशीबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका सबैलाई जानकारी गराएर निम्ता गरिएको छ ।  

‘शेखर दाइसहितका सिनियर नेतालाई सभापति उद्वव थापा आफैले निम्ता गरेर बोलाउनुभएको छ,’ ती पदाधिकारीले भने, ‘उहाँ र अरु नेताहरू सहभागी बन्नुहुन्छ ।’ केन्द्रीय सभापति आउने कार्यक्रममा विराटनगरमै भएका नेता सहभागी नहुने प्रश्नै नहुने ती पदाधिकारी बताउँछन् । 

गगन थापा र डा.शेखर कोइराला १४ औं महाधिवेशनमा एकै धारमा उभिएका नेताहरू हुन् । त्यसबेला सभापतिमा देउवासँग पराजित भएपछि शेखर संस्थापनइतर समूहका अगुवा बने । 

महाधिवेशनपछि नेतृत्व परिवर्तन र समयमै महाधिवेशनको माग गर्दै आएका कोइरालाले पछि विशेष महाधिवेशनको पक्षमा सबैभन्दा प्रखर आवाज उठाए । 

तर, विशेष महाधिवेशन हुन लाग्दा भने देउवालाई साथ दिए । विशेष महाधिवेशन सम्पन्न हुँदै गर्दा त्यसलाई अवैध भन्दै शेखर पनि देउवा टिमसँगै निर्वाचन आयोग गएका थिए । 

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्ष अदालत पुगेको बेला शेखर पक्ष भने अन्योलमा परेको थियो । त्यसपछि मध्यमार्ग रोज्दै शेखरले नयाँ नेतृत्व स्वीकार गरे । यही स्वीकारोक्तिको संकेत माघ ६ मा देखियो, जब उनले सभापति थापाकै हस्ताक्षर भएको टिकट लिएर मोरङ–६ बाट उम्मेदवारी दर्ता गरे । 

तर, पछिल्ला गतिविधिले पुनः प्रश्न उब्जाएका छन् । अघिल्लो आइतबार डा.कोइरालाको सचिवालयले सञ्चालन गर्ने आधिकारिक फेसबुक पेजबाट पोस्ट गरिएको चुनावी प्रचार सामग्रीमा ‘मेरो नेतृत्वमा स्थिर सरकार, युवा अवसर र जनताको विश्वास फिर्ता ल्याउँछु’ भन्ने नारा सार्वजनिक भयो । 

तस्वीरसहितको उक्त पोस्टरले कोइरालालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो । 

यो नारा कांग्रेस केन्द्रीय समितिको माघ ९ को निर्णयलाई चुनौती दिने गरी सार्वजनिक भएपछि विवाद पनि भयो ।  

उक्त बैठकले सभापति गगन थापालाई पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । 

पार्टीले भावी प्रधानमन्त्री तोकिसकेको अवस्थामा कोइरालाको ‘मेरो नेतृत्वमा स्थिर सरकार’ भन्ने घोषणाले संस्थापन पक्षलाई चकित पारेको थियो । विवाद भएपछि सचिवालयले त्यो फेसबुक पोस्ट हटाएको थियो । 

त्यसो त शेखर कोइरालाले आफनो चुनाव प्रचारमा ‘बदलियो  कांग्रेस,  बदल्छौं  देश’ भन्ने पार्टीको साझा नारा प्रयोग गरेका छैनन् । जबकि बहुसंख्यक कांग्रेस उम्मेदवारले यही नारा प्रयोग गरिरहेका छन् । यो मौन असहमतिको संकेत हो कि फरक राजनीतिक रणनीति, त्यसबारे कोइरालाले खुलेर केही भनेका छैनन् ।

मोरङ–६ मा यस  पटक  कोइरालालाई एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्र राय र रास्वपाकी रूविना आचार्यसहितका उम्मेदवारले चुनौती दिइरहेका छन् । 

कांग्रेसभित्र बदलिदो शक्ति सन्तुलन, कोइराला परिवारको राजनीतिक विरासत जोगाउने दबाब र नयाँ पुस्ताको उदयसँगै कोइराला स्वयं चुनौतीले घेरिएका छन् । यस्तो पृष्ठभूमिमा गगन थापा र शेखर कोइराला एउटै मञ्चमा देखिनु कांग्रेसको आन्तरिक राजनीतिका लागि प्रतीकात्मक क्षण बन्नेछ । 

मञ्च साझा भए पनि दूरी घटेको हो कि असहजता झन् सतहमा आउने हो, त्यसको संकेत विराटनगरबाटै देखिनेछ ।

View : 235

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved