Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

वित्तीय अपराध नियन्त्रणमा दक्ष जनशक्ति आवश्यक : गभर्नर पौडेल

उद्‌घोष संवाददाता
१९ जेठ २०८३, मङ्गलवार

विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशकारी हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रणका लागि अनुसन्धान गर्न दक्ष प्रहरी जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले यस्ता कसुरका अपराधको प्रभावकारी अनुसन्धान र सम्बन्धित निकायबीचको समन्वय समेत अपरिहार्य रहेको बताएका हुन् ।

नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सोमबार विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा सुरु भएको ‘सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान अनुशिक्षण तालिम’ उद्घाटन गर्दै गभर्नर पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन र आर्थिक स्थायित्व कायम गर्न यस्ता अपराधको नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताए । 

उनले वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न अनुसन्धान क्षमता अभिवृद्धि आवश्यक रहेको उल्लेख गरेका हुन् ।

तालिमका अवसरमा बोल्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पनि वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको बताए । 

यस्तो अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तरनिकाय समन्वय अपरिहार्य रहेको बताए । 

नेपाल प्रहरीले हुण्डी कारोबार, संगठित अपराध, मानव बेचबिखन, लागूऔषध ओसारपसार, ठगी तथा आपराधिक लाभसँग सम्बन्धित मुद्दामा प्रमाण संकलन, वित्तीय विश्लेषण र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको महानिरीक्षक कार्कीले बताए ।

प्रहरी महानिरीक्षक कार्कीले सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानीसँग सम्बन्धित अपराध राष्ट्रिय सुरक्षा र आर्थिक सुशासनसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । त्यसैका लागि सहभागी प्रहरी अधिकृतहरूले तालिमपश्चात अनुसन्धान क्षमता थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

महानिरीक्षक कार्कीले कोशी प्रदेश तथा मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिंदैसेवाग्राहीप्रति समान व्यवहार, उच्च व्यावसायिकता र नम्र व्यवहार प्रदर्शन गर्न निर्देशन दिए ।

कार्कीले प्रहरी कर्मचारीलाई दैनिक शारीरिक व्यायाम, योग तथा ध्यानमार्फत शारीरिक र मानसिक रूपमा तयारी अवस्थामा रहन आग्रह गर्दै विपद्, बन्द, द्वन्द्व तथा अन्य चुनौतीपूर्ण परिस्थितिमा प्रभावकारी रूपमा खटिन सक्ने क्षमता विकास गर्नुपर्ने बताए । 

त्यस्तै, खुला सीमाका कारण हुने भन्सार छली तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रणका लागि योजनाबद्ध रूपमा प्रहरी परिचालन भई दोषीलाई कानुनी दायरामा ल्याउनु निर्देशन दिएको जनाइएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक गोविन्द अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी लगायतको उपस्थिति रहेको थियो ।

पाँच दिने तालिममा कोशी प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालय तथा मुद्दा अनुसन्धान गर्ने इकाइमा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृत सहभागी रहेको जनाइएको छ । 

तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी, आमविनाशकारी हातहतियारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिबारे प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।

View : 85

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved