Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराट ट्रेड एक्स्पो आजदेखि, सुस्त अर्थतन्त्रलाई गति दिने प्रयास

उद्‌घोष संवाददाता
९ पुष २०८२, बुधवार

विराटनगर । जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक अन्योलले निम्त्याएको सुस्त आर्थिक गतिविधिलाई चलायमान बनाउने  र मुलुकको अर्थतन्त्रलाई नयाँ गति दिने लक्ष्यसहित ‘विराट ट्रेड एक्स्पो–२०२५’ बुधबार विराटनगरमा सुरू हुँदैछ ।

यसपटकको एक्स्पो मुलुकको सुस्त आर्थिक गतिविधिलाई ‘इनर्जाइज’ गर्ने अवसर बन्ने अपेक्षा आयोजक  मोरङ उद्योग व्यापार संघको छ । 

विराटनगर–१,स्थित शान्ति चोकमा बुधबार अर्थमन्त्री रामेश्वर खनालले औपचारिक उद्घाटन गर्ने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए । 

मंगलबार एक्स्पोस्थलमै पत्रकार सम्मेलन आयोजना गरेर मोरङ उद्योग व्यापार संघले एक्स्पो विराटनगरका लागि गौरवको विषय भएको उल्लेख गर्दै सक्रिय सहभागिताका लागि विराटनगरवासीमा आह्वान पनि गरेको छ । 

निजी क्षेत्रका संघसंस्थाहरूमध्ये मुलुककै जेठो मानिने मोरङ उद्योग व्यापार संघले उद्योग संगठन मोरङसँग सहकार्य गर्दै हरेक वर्ष एक्स्पो गर्दै आएको छ । एक वर्ष संघले अनि अर्को वर्ष संगठनले एक्स्पो गर्दै आएका छन् । 

संघले पहिलो पटक कोशी महोत्सव २०५३ मार्फत औद्योगिक तथा व्यापारिक मेलाको प्रवद्र्धन सुरू गरेको थियो । 

त्यसपछि पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट ट्रेड एक्स्पो २०७५, विराट ट्रेड एक्स्पो २०७८, मोरङ व्यापार संघ एक्स्पो–२०८० पनि आयोजना गरी भव्यताका साथ सम्पन्न गरिसकेको छ ।

बुधबार (आज) सुरू भएर पुस १९ गतेसम्म चल्ने यसपटकको एक्स्पो कोशी प्रदेशकै बृहद अन्तर्राष्ट्रिय स्तरको  कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी बन्ने अपेक्षा आयोजकको छ । 

‘एक्स्पोले कोशी प्रदेशसहित मुलुकभरीका औद्योगिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा लगायत विभिन्न क्षेत्रका उत्पादन र सेवाहरूको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने छ,’ अध्यक्ष राठीले भने ‘त्यस्तै, नवप्रवर्तन, महिला, युवासहित सबै वर्गका उद्यमीहरूलाई स्वदेशी एवं विदेशी लगानीकर्ताहरूसंग व्यवसायिक सम्बन्ध स्थापना गर्न र विस्तार गर्न साझा थलो प्रदान गर्नेछ ।’ 

एक्स्पोका संयोजक अमितकुमार शारदाले एक्स्पोले कोशी पर्यटन वर्ष २०८२ लाई प्रवद्र्धन गर्दै कोशी प्रदेशको संस्कृति र पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्ने जानकारी पनि दिए । 

उनले विराटनगरसहित कोशी प्रदेशबासीलाई एक्स्पोमा सहभागी बनेर उत्सवी माहोलको आनन्द लिन पनि आह्वान गरेका छन् । 

‘हामी विराटनगरवासी र कोशी प्रदेशवासीहरूलाई एक्स्पोमा उत्साहप्रद सहभागिताका लागि आह्वान गर्दछौं,’ उनले भने । 

एक्स्पोमा निर्मित ३ वटा ह्याङ्गर र दुई सयभन्दा बढी स्टलहरूबाट कृषिजन्य र औद्योगिक उत्पादन, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका सेवाका  साथै छिमेकी राष्ट्र भारत बंगलादेश, पाकिस्तानलगायत  विभिन्न मुलुकका उत्पादनहरूको पनि प्रदर्शनी हुँदैछ । 

११ दिने एक्स्पोमा लगातार आठ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई, सूचना प्रविधिलगायत विभिन्न विषयहरूमा थिमेटिक सेसन र सेमिनारहरू पनि सञ्चालन हुँदैछन् । यसका लागि स्वीस कन्ट्राक्ट, आईडिया स्टुडियोजस्ता पेशागत संस्थाहरूले मोरङ उद्योग व्यापार संघसँग सहकार्य गरेका छन् ।

कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले प्रवर्द्धन गरेको  एक्स्पोलाई रमपम तयारी चाउचाउ र मारूती सिमेन्टले मुख्य प्रायोजन गरेको छ । त्यस्तै खुकुरी रम, सेञ्चुरी मसला र ग्रिन टायर्स एक्स्पोका गोल्ड स्पोन्सरका रूपमा छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ, विराट व्यापार संघ, मोरङ अटोमोवाइल डिलर्स एशोसिएशन र मोरङ इलेक्ट्रिक संघ एक्स्पोको सहयोगी संस्थाको भूमिकामा छन् । 

एक्स्पोको सिल्भर स्पोन्सरको रूपमा रिजालको  सीपीभीसी पाइप्स, हिमगिरी हाइजिन, म्याजिक फुटवेयर, हेलो तेल, हाइटेक्स कार्पेट, पायोनियर केवल, युनाइटेड फुड, एनजी इलोक्ट्रो, राइनो प्लाष्टिक र प्याडलक्स कम्पनीहरू छन् । 

नलेज पार्टनरको भूमिकामा पूर्वाञ्चल विश्वविद्यालय, हाइड्रेसन पार्टनरको रूपमा हुलास पानी, बैंकिङ पार्टनरको रूपमा माछापुच्छ्रे बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरको रूपमा शिखर इन्स्योरेन्स, हेल्थ पार्टनरको रूपमा प्राइम हस्पिटल, सीसीटीभी पार्टनरको रूपमा हिक भिजन, सोलार पार्टनरको रूपमा प्राइम रिन्यूवल्स्, हस्पिटालिटी पार्टनरको रूपमा सिटी प्यालेस, इनर्जी पार्टनरको रूपमा एक्स्ट्रीम इनर्जी ड्रिंक, सेक्युरिटी पार्टनरको रूपमा सुदर्शन सेक्युरिटी, एजुकेशन पार्टनरको रूपमा श्रीश्री रवि शंकर विद्या मन्दिर आवद्ध भएको आयोजकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

यसपटकको एक्स्पोमा विशेष आकर्षणका रूपमा जलपरीहरूको प्रदर्शनी, ओपेरा हाउसको ३० फिटे आकृतिसहित स्टार सेल्फी जोन, बाल उद्यानलगायत छन् । एस्क्पोमा विराट भ्वाइस प्रतियोगिता सञ्चालन गरिने र आयोजकले एक लाख रूपैयाँ पुरस्कार जित्ने आयोजकको भनाइ छ ।

एक्स्पोमा नेपाली कला–संस्कृति झल्कने प्रवेशद्वार निर्माण गरिएको छ भने  मनोरञ्जनका लागि अहिलेका चर्चित गायक कुमार सागर, रक हेड्स, इलिमेन्टस, कुटुम्व, स्वप्न सुमन, उज्जेन शाक्य लगायतका विभिन्न व्याण्डहरूको हरेक दिन प्रस्तुति रहने आयोजकको भनाइ छ ।

‘विगतको भन्दा अझ ठूलो भू–भागमा आयोजित एक्स्पोमा करिब दुई लाख दर्शकको आगमन हुने अनुमान गरेका छौं,’ संघका निवर्तमान अध्यक्ष नवीन रिजालले भने ।

View : 167

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved