विराटनगर । नेपाली औद्योगिक उत्पादनले उच्च लगानीका कारण विदेशी उत्पादनसामु प्रतिस्पर्धी क्षमता गुमाइरहेको गुनासोका बीच कृषिवस्तुको अवस्था पनि त्यस्तै देखिएको छ । झापाका कागती उत्पादक किसानको पछिल्लो समस्याले यसको पुष्टि गर्दछ ।
स्थानीय बजार भारतबाट भित्रने सस्तो कागतीले लगभग कब्जा गरेपछि स्थानीय उत्पादनले बजार नै नपाउने अवस्था सिर्जना भएको छ । आफ्नो उत्पादनले बजार नपाएर आत्तिएका झापाका कागती किसान खेती मास्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् ।
धानखेती मासेर ६ वर्षयता १४ कट्ठा जमिनमा कागती खेती गर्दै आएका झापा गौरादह–४ का नवीन आचार्य स्थानीय उत्पादनले बजार गुमाइरहेको बताउ“छन् ।
‘कागतीको बोटले मनग्य उत्पादन दिइरहेको छ, तैपनि बजारमा विक्री गर्न मुस्किल हुन थालेको छ’ उनले भने । यस्तो समस्या भोग्ने उनी एक्ला किसान होइनन्, झापामा सयौं किसान कागती खेतीमा छन् ।
अझ हात्तीको आतंक भएको बाहुनडाँगीलगायत क्षेत्रका धेरै किसानले अन्नबाली मासेर कागती खेती गरिरहेका छन् ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार केही समयअघिसम्म झापामा ३१० हेक्टर क्षेत्रफलमा कागती खेती हुँदै आएको थियो । हाल खेतीको क्षेत्रफल घटेर २७० हेक्टरमा खुम्चेको छ ।
‘किसानले मिहेनत अनुसारको प्रतिफल नपाएकै कारण यस्तो अवस्था आएको हो’, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले भने ‘कागतीको बजार उत्साहजनक नहुँदा किसानहरु निराश बन्न थालेका छन् । यो समस्या समाधानको उपाय खोज्ने बेला भइसकेको छ ।’
भारतबाट भित्रिने सस्ता कागतीले बजार कब्जा जमाएको कारण स्वदेशी कागतीले मूल्यमा प्रतिष्पर्धा गर्न नसकेको किसान बताउँछन् ।
‘ठूलो लगानी र मिहेनत गरेर किसानहरुले अग्र्यानिक कागती फलाएका छन्’ गौरादहका किसान आचार्यले सुनाए ‘बजार लग्यो विक्री हुँदैन । भारतबाट भित्रिएका कागतीले बजार पूरै कब्जा गरेको छ ।’
कागतीमा आत्मनिर्भर बन्ने अभियान क्रममा जिल्लाका सहकारी संस्था, कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाले केही वर्षयता किसानहरुलाई कागती खेतीतर्फ प्रोत्साहित गरिरहेका छन् ।
उत्पादन बढेसँगै त्यसको बजार सुनिश्चित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको गुनासो किसानको छ ।
पाकेको कागतीको फल विक्री हुन नसक्दा त्यसको अचार, चुक अमिलो लगायतका सहउत्पादनलाई बढाउनेतर्फ ध्यान जान सके बजारको समस्या समाधान हुने ज्ञान केन्द्रका प्रमुख विष्ट बताउँछन् ।
बिगतमा बोटबाटै टिपेर मनग्य भाउमा कागती किनेर लैजाने व्यापारीहरु अहिले आउन छाडेको किसान बताउँछन् । भारतबाट भित्रिने सस्तो कागतीतिर स्थानीय व्यापारीहरु आकर्षित भएपछि किसानहरु साना सवारी साधनमा गाउँ र सहरका गल्ली चहारेर पोका पोकामा कागती बेच्न प्रयास गरिरहेका छन् ।
झापाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, गौरादह लगायतका पालिकामा किसानले घरैपिच्छे कागतीको खेती गरेका छन् भने ठूलो क्षेत्रफलमा खेती गर्नेहरु पनि बढेका छन् ।
एकातिर किसानले उत्पादन बढाइरहेका बेला बजारको समस्या भने बढिरहँदा चुनौती थपिएको छ ।
View : 389
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved