Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

संगठनले सुरु गर्यो तीन जिल्लामा ‘कोशी कनेक्ट’ मिसन

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

विराटनगर । कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्यलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले शुक्रबारदेखि तीनदिने ‘कोशी कनेक्ट’ व्यवसायिक मिसन सुरु गर्ने भएको छ ।

औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय–व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने मुख्य उद्देश्यले यस्तो मिसन अघि बढाइएको जनाइएको छ ।

मिशन अन्तरगत संगठनको प्रतिनिधि मण्डलले उदयपुर, खोटाङ र भोजपुर जिल्लाको भ्रमण गरी स्थानीय उद्योग व्यवसाय, लगानीका अवसरहरू र आपसी सहकार्यका विषयमा अन्तरक्रिया गर्नेछ । 

प्रतिनिधिमण्डलमा संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोइराला, कोषाध्यक्ष पारस लुनिया लगायत कार्यसमिति सदस्यहरू सौरभ सारडा, वीरेन्द्र राठी, दीपक अग्रवाल, सन्तोष भगत, सिद्धार्थ कावरा, किरण ब्यास, पारस गोल्छा, उकेश अग्रवाल, उद्यमी निर्मल कोचर, महिला उद्यमी प्रतिभा पौडेल निरौला, साबित्रा ढकाल, विमला थापा, मयुषा, युवा उद्यमी रोमन कट्टेल, सागरराज ढुंगाना र संगठनका महानिर्देशक चुडामणि भट्टराईसहितको सहभागिता रहने जनाइएको छ ।

व्यावसायिक मिसनले क्षेत्रीय व्यापारलाई सुदृढ गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, साझा समृद्धिको मार्ग निर्माण गर्ने लक्ष्य प्राप्तिमा टेवा पु¥याउने विश्वास लिएको संगठनका अध्यक्ष्ँ राठीले बताए । 

उनले निजी क्षेत्रको अग्रणी संस्था उद्योग संगठन मोरङले यस अभियानमार्फत पहाड र तराईलाई साझा विकासको यात्रामा अघि बढाई व्यवसाय–व्यवसायबीच सम्बन्ध बिस्तार, ज्ञान र विचार आदान–प्रदान तथा आर्थिक ऐजेन्डामा साझा आवाज निर्माण गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

अध्यक्ष राठीले कोशी प्रदेश सरकारले घोषणा गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ को अभियानलाई समेत समर्थन गर्दै निजी क्षेत्रको प्रवद्र्धनात्मक सहकार्य हुने बताए ।

साथै, लगानी र व्यापारका अवसरको प्रवद्र्धन, मेरो देश मेरै उत्पादन अभियानमार्फत स्वदेशी उत्पादनको बजार प्रवर्द्धन, बीटुबी प्लेटफर्ममार्फत व्यवसायलाई भर्चुअल रूपमा जोड्ने, उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र आर्थिक एजेन्डामा साझा धारणा निर्माण गर्ने जस्ता प्रमुख लक्ष्य तय गरिएको संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए ।

शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघ, शनिबार खोटाङ उद्योग वाणिज्य संघ र आइतबार भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय उद्योगी व्यवसायीहरूका साथ बीटुबी र सहकार्यका विविध क्षेत्रबारे अन्तरक्रिया हुने जनाइएको छ ।

View : 136

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved