Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा मन्त्रालय थप्ने चलखेल

केन्द्रको अंकुशपछि हच्किए प्रदेशका नेता

उद्घोष सम्वाददाता
११ भदौ २०८१, मङ्गलवार

विराटनगर । कोशीमा मन्त्रालय संख्या बढाउने प्रदेश तहका नेताहरूको प्रस्तावलाई सत्तारूढ कांग्रेस–एमालेको केन्द्रीय नेतृत्वले इन्कार गरेको छ । मन्त्रालय संख्या बढाउने प्रस्ताव केन्द्रीय शीर्ष नेतृत्वले सदर नगरेपछि कोशीमा  कांग्रेस यथास्थितिमै सरकारमा जाने तयारीमा लागेको छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रालय संख्या बढाउन इन्कार गरेको कांग्रेसका नेताहरूले बताएका छन् ।  प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा दुवैले कोशीमा  मन्त्रालय संख्या थप्न अस्वीकार गरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेशका दुवै दलका नेताहरूले पनि बोली फेरेका छन् । 

‘प्रदेश तहमा मन्त्रालय संख्या बढाउने सहमति भएको थियो तर त्यसका लागि केन्द्रको निर्देशन लिने भन्ने कुरा भएको थियो’, कोशी प्रदेशसभा सदस्यसमेत रहेका कांग्रेसका एक केन्द्रीय सदस्यले भने ‘तर, केन्द्रका नेताहरूले अहिले मन्त्रालय संख्या थप्दा नराम्रो सन्देश जाने, चौतर्फी आलोचनाको स्वर उठ्ने कुरा गर्नुभयो । अब सायद मन्त्रालय संख्या थपिन्न होला ।’ 

कांग्रेसका ती नेताले भनेजस्तै आन्तरिक बैठकहरूमा मन्त्रालय संख्या थप्ने बताउँदै आएका मुख्यमन्त्री कार्कीले  काठमाडौं पुगेर फर्केपछि मन्त्रालय संख्या नबढ्ने अभिव्यक्ति दिएका छन् । ओली र देउवाले मन्त्रालय संख्या नथप्न निर्देशन दिएकै कारण मुख्यमन्त्रीले यस्तो अभिव्यक्ति दिएको नेताहरूको भनाइ छ । 

यसअघि  साउन २७ मा आफ्नै कार्यालयमा पत्रकारहरूमाझ मुख्यमन्त्रीले मन्त्रालय संख्या बढ्न सक्ने संकेत गरेका थिए । कांग्रेस संसदीय दलका नेता उद्धव थापासँग सहमति गरेरै मुख्यमन्त्रीले त्यसको संकेत गरेका थिए । त्यसका लागि उनले ‘कार्यबोझ बढेमा’ भन्ने शर्त अघि सारेका थिए । मुख्यमन्त्रीले मन्त्रालय संख्या बढ्ने संकेत गरेलगत्तै माओवादी केन्द्रसहितका राजनीतिक दलहरू मात्रै होइन, कांग्रेस एमालेभित्रैबाट पनि त्यसप्रति आलोचना सुरू भएको थियो । जवाफमा मुख्यमन्त्री कार्कीले संख्या नबढ्ने बताउन थालेका थिए ।

‘मन्त्रालय संख्या बढाउनुपर्छ भन्ने सहमति कार्की र थापाबीच मौखिक रूपमै भए पनि भएकै थियो’, मुख्यमन्त्री निकट एमाले सांसदहरूले भनेका थिए ‘तर, माथि सोधेर मात्रै गर्ने, केन्द्रको निर्देशन आएकाले बढाउनु परेको जस्तो बनाउन खोजिएको थियो । माथिबाटै सकारात्मक संकेत आएको बुझिएन ।’ 

सार्वजनिक रूपमा संख्या नबढ्ने बताएपनि कांग्रेससँग प्रदेशमा गरेको सहमति अनुसार मुख्यमन्त्रीले मन्त्रालय संख्या बढाउने तयारी थालेका थिए । मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूले त्यसको प्राविधिक तयारीसमेत गरिसकेका थिए । 

मन्त्रालय संख्या बढ्ने निश्चित भएकै कारण कांग्रेसका तीन समूहले मन्त्रालय संख्या बाँडेर आन्तरिक भागबन्डासमेत टुंग्याएका थिए । सभापति शेरबहादुर देउवा समूहलाई दुईटा, शेखर कोइराला समूहलाई दुईटा र कृष्णप्रसाद सिटौला समूहलाई एउटा गरी पाँच मन्त्रालय कांग्रेसले लिने तयारी गरिएको थियो । 

स्रोतका अनुसार कांग्रेस सभापति देउवा आफै भने प्रदेशमा मन्त्रालय संख्या थप्नुपर्छ भन्ने पक्षमा थिएनन् । तर, संस्थापन इतर पक्षका नेता शेखर कोइराला र उनको कोशी प्रदेशस्थित टिम मन्त्रालय संख्या बढाएर भए पनि आफ्नो समूहले दुई जना मन्त्री पाउनुपर्ने अडानमा थियो । 

विराटगरस्थित कोइराला निवासमै उद्घोषसँगको कुराकानीमा कोइरालाले ‘कोशीभन्दा सानो प्रदेशहरूमा धेरै मन्त्रालय भएको, यहाँ संख्या बढाउनै नहुने बाध्यता के हो’ भन्दै प्रश्नसमेत गरेका थिए । तर, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका बहुसंख्यक नेताहरूले अहिले मन्त्रालय थपिए त्यसको एकल दोष कांग्रेसमाथि आउने भन्दै त्यस्तो अवगाल आउने निर्णय नगर्न सभापति देउवालाई सुझाव दिएका थिए । 

‘मन्त्रालय संख्या बढाउने बारेमा प्रदेशबाट प्रत्यक्ष–अप्रत्यक्ष प्रस्ताव र दबाब आएकै हो’, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने ‘तर, मन्त्रालय संख्या बढाउने विषय अहिलेको प्राथमिकता होइन भन्नेमा हामी प्रष्ट छौं । मन्त्रालय संख्या थप्ने भन्ने कुरा हुन्न ।’ 

मन्त्रालय संख्या  नबढेकै कारण कोशीमा कांग्रेस सरकारमा जान ढिलाइ गरिरहेको हो भन्ने प्रश्नमा महामन्त्री शर्माले भने ‘सभापतिजीले गण्डकी र कोशी प्याकेजमै सहमति गर्ने भन्नुभएको छ । हामी दुई महामन्त्रीले त सभापतिलाई भेटेरै तपाईलाई ज–जसलाई मन्त्री बनाएर पठाउनु छ पठाउनुस् । यसरी अनिर्णयमा नबसौं भनेर एक साता अघि नै भनेका हौं । सभापतिजीले अब निर्णय लिनुहोला ।’ 

कांग्रेसमा मन्त्री बन्ने आकांक्षीहरू धेरै छन् । तीन समूहले कोशीमा भाग मागिरहँदा महामन्त्री शर्माले पनि विनोद वान्तवा वा मानबहादुर लिम्बूमध्ये एक जनालाई अनिवार्य मन्त्री बनाउनुपर्ने माग गरिरहेका छन् । लिम्बूको नाम कोइराला पक्षले समेत अघि सारिरहेको छ ।

उनीहरूबाहेक प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, इन्दिरा थापा, भूपेन्द्र राई, भीम पराजुली, डोल्मा तामाङ , गोविन्द गिरी लगायतका सांसदहरू पनि मन्त्री बन्ने दौडमा छन् । भदौ १२ मा केन्द्रीय समिति बैठक सकिएपछि गण्डकी र कोशीबारे एकैसाथ निर्णय हुने केन्द्रीय सदस्य भीम पराजुलीले जानकारी दिए । कोशी प्रदेशसभाको बैठक भदौ १४ मा सुरू हुँदैछ । उक्त बैठकमा कांग्रेस मन्त्रीसहित उपस्थित हुने दलका नेता थापाले बताएका थिए ।

View : 137

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved